काठमाडौं, १० चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई कर्तव्य ज्यान, राजद्रोह र संगठित अपराधमा मुद्दा चलाइने भएको छ । शनिबार बिहान काभ्रेबाट पक्राउ परेका वलीमाथि ललितपुर प्रहरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा रहेको जनाइएको छ ।
गएको फागुन १० गते नख्खुस्थित एनसेल गेटमा बम विस्फोटपछि वलीले घटनाको जिम्मेवारी लिएका थिए । नख्खु विष्फोटमा एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । वलीसहित ९ जनालाई प्रहरीको विशेष ब्यूरो, अपराध महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको हो ।
मुलुकी अपराध संहिता ऐन–२०७४ को दफा ५० को उपदफा १ मा राजद्रोहको मुद्दामा २५ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ । मुलुकी अपराध संहिता ऐन–२०७४ को दफा ५० को उपदफा १ मा भनिएको छ, ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हातहतियार सहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षड्यन्त्र वा उद्योग गर्न वा गराउन दुरुत्साहन दिन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई २५ वर्षसम्म कैद हुनेछ ।’
वलीमाथि ज्यानसम्बन्धी कसुर प्रमाणित भएको अवस्थामा पनि उनले १० वर्षसम्म जेल सजाय पाउन सक्छन् । वलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन् । वली विप्लव नेतृत्वको नेकपाको तेस्रो नम्बरका नेता तथा प्रशिक्षण विभागका प्रमूख हुन् ।
मध्यकमाण्डका इञ्चार्जसमेत रहेका वलीको साथबाट हतियार र विष्फोटक पदार्थ पनि बरामद भएको बताइएको छ । तर, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षेत्रीले हतियार र विष्फोटक पदार्थबारे जानकारी दिन अस्वीकार गरे ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले निगरानी बढाएको हो । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले काभ्रेबाट पक्राउ परेका वलीसहित सबैजनालाई अनुसन्धानपछि कर्तव्य ज्यान, राजद्रोह र संगठित अपराधमा मुद्दा चलाइने भएको बताए । ‘अदालतबाट म्याद थपपछि थप अनुसन्धान हुन्छ । अनुसन्धानपछि थप कुरा खुल्नेछ,’ एसएसपी सुवेदीले भने ।
उनकाअनुसार विप्लव समूहमाथि प्रतिबन्ध लागेपछि ३२ जना पक्राउ परेका छन् । त्यसअघि नै विप्लव समूहका ४ सय नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् ।
प्रहरी स्रोतकाअनुसार आवश्यक अनुसन्धानका लागि नेता वलीलाई लतिलपुर प्रहरीले मुद्दा चलाउनेछ भने अन्य बाँकीलाई काठमाडौं प्रहरी परिसरबाट मुद्दा चलाइनेछ । पछिल्लो समय वलीकै कोर टिममा रहेका १४ जना पक्राउ परेका छन् । यसअघि पक्राउ परेका विप्लव समूहका पोलिट्ब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ विरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा अघि बढाइएको छ ।
महानगरीय अपराध महाशाखाले चैत १ गते राति ललितपुरबाट कार्कीलाई पक्राउ गरेको थियो । प्रतिबन्धपछि पक्राउ परेका वली विप्लव समूहका माथिल्लो तहको पहिलो नेता हुन् ।



लाेकपाटी न्यूज

