काठमाडौं, ४ चैत । राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको छ । पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् ।
राजपाका सांसद अनिल कुमार झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले सरकारलाई गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।
उनले उक्त प्रतिवेदन सार्वजनिक भएमा मधेश आन्दोलन र थरुहट आन्दोलनमा कसले कति गल्ती गरे, कसले कति ज्यादती र्गयो भन्ने विषय सार्वजनिक हुने बताए । सरकारले प्रतिवेदन लुकाएर सत्य लुकाउन खोजेको झाको आरोप छ ।
पटक–पटक सभामुखले आसन ग्रहणका लागि अनुरोध गर्दा पनि राजपाका सांसदहरुले उभिएर विरोध जनाइरहेपछि सभामुखले बैठक दश मिनेटका लागि स्थगित भएको घोषणा गरे । राजपाका सांसदको अवरोधका कारण आइतबारको बैठक पनि प्रभावित भएको थियो ।



लाेकपाटी न्यूज

