कतार विश्वकप फुटबलमा ४८ टिम सहभागी हुँदै

कतार विश्वकप
लाेकपाटी न्यूज

काठमाडौं, २ चैत । सन् २०२२ मा एशियाली देश कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागी देशको संख्या ४८ पुर्याइने भएको छ ।

अमेरिकाको मायामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट ४८ पुर्याउने निर्णय गरेको हो ।

विश्वकपमा सहभागी देशको संख्या बढाउन फिफाले गरेको अध्ययनअनुसार फिफाको आयोजक देश कतारसँग छलफल अगाडी बढाउने भएको हो । सो अध्ययनले सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह–आयोजक राष्ट्र थप्नुपर्ने बताएपछि अब कुवेत र ओमानमध्ये एक देश थप्ने भएको छ ।

कतारका छिमेकी देश साउदी अरब, बहराइनसँग अहिले राम्रो सम्बन्ध नभएका कारण कुवेत र ओमानमध्ये एकलाई सह–आयोजक बनाउने तयारी फिफाले गरेको हो ।

त्यस्तै सन् २०२६ को अमेरिकामा हुने विश्वकपमा भने यसअघि नै ४८ राष्ट्रले सहभागिता जनाउने तय भइसकेको छ । सो विश्वकप अमेरिका लगायत क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दै छन् ।

अब सहभागी देशको संख्या बढेपछि प्रतियोगिता मिति पनि लम्बिने भएको छ । तर फिफाले फाइनलसम्म पुग्ने देशले अहिलेकै जस्तो ७ भन्दा बढी खेल खेल्नु नपर्ने गरि तयारी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । हरेक समूहमा ३ देश राखेर १६ समूह बनाएर समूह चरण गर्ने र शिर्ष दुई टिमलाई अन्तिम ३२ मा पुर्याउने गरि तयारी भएको बुझिएको छ ।

कतारमा हुने विश्वकप भने नोभेम्बरमा सुरू भएर डिसेम्बरमा सकिनेछ । यसअघि फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएकोमा अब नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेका छ ।

यस बारेमा अन्तिम निर्णय भने आगामी जुनमा हुने फिफा काँग्रेसले गर्ने बताइएको छ ।