काठमाडौं, २६ फागुन । काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित योग होटलबाट नयाँबजार बस्ने २६ वर्षीय आश्विन श्रेष्ठ र सोही स्थान बस्ने २४ वर्षीय सुजन खड्कालाई अवैध लागूऔषधसहित पक्राउ गरिएको छ । उनलाई गाँजा करिब ९ ग्राम, कस्तुरीको बिना २ थान, पाँचऔंले जडिबुटी १ थान र डिजिटल तराजु १ थान सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त होटलमा केही शंकास्पद व्यक्तिहरु रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुमध्ये श्रेष्ठको साथबाट उक्त परिमाणको लागूऔषध तथा खड्काको साथबाट कस्तुरीको बिना, पाँचऔंले जडिबुटी र डिजिटल तराजु बरामद भएको जनाइएको छ ।
त्यस्तै धादिङ, गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित सडकमा ना.५ ख २८१२ नम्बरको बसबाट अबैध लागूऔषध चरेशसहित चालक पर्सा वीरगंज महानगरपालिका पानीटंकी बस्ने ४५ वर्षीय लालबहादुर तामाङ समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय गजुरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको उक्त बसमा जाँच गर्ने क्रममा बसको पछाडी सिटको माथि प्लाष्टिकमा लुकाई छिपाई राखेको करिब १ सय ५ केजी चरेश फेला पारेको हो ।
यसैगरी बर्दिया, मधुवन नगरपालिका–८ वडा नम्बर ५ बस्ने २४ वर्षीय प्रमोद बिक र १६ वर्षीय प्रभात कार्कीलाई करिब ३ सय ५० मिलिग्राम लागूऔषध ब्राउन सुगर, नगद १ हजार ६ सय ८४ नेपाली रुपैयाँ र ३ हजार ३ सय ३० भारतीय रुपैयाँसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले प्रमोद बिकको घरबाट लागूऔषध बिक्री बितरण गरिरहेको अवस्थामा दुबै जनालाई फेला पारी पक्राउ गरेको हो ।
यी घटना सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।



लाेकपाटी न्यूज

