रासायनिक मलको अभाव हुने

Mal
लाेकपाटी न्यूज

काठमाडौं, २१ फागुन । नेपाल र भारत सरकारबीच रासायनिक मल ल्याउने सम्झौता नभए आगामी बर्खे सिजनमा मल अभाव हुने देखिएको छ ।

नेपाल र भारत सरकारबीच ‘जीटुजी’ मल ल्याउने छलफल भए पनि नेपाललाई ५० हजार मेट्रिक टन दिनेबारे भारतसँग सम्झौता हुन सकेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका वरिष्ठ अधिकृत नेत्र भण्डारीले बर्खे बालीका रूपमा रहेको धानका लागि १ लाख ५० हजार मेट्रिक टन मल आवश्यक हुने बताए । तर, सरकारसँग हाल बर्खेबालीका लागि जम्मा ३० हजार मेट्रिक टन मल मात्र मौज्दात रहेको उनको भनाइ छ ।

सरकारसँग जम्मा ३० हजार मेट्रिक टन मात्र भएको हुँदा यस वर्षको बर्खे बालीका लागि १ लाख २० हजार मेट्रिक टन मल अभाव खेखिन्छ । भण्डारीका अनुसार तत्काल टेन्डर र खरिद प्रक्रियामा गए पनि अब समयमा मल ल्याउन सकिँदैन । टेन्डर प्रक्रियामा जाँदा कम्तीमा पनि ६ देखि सात महिनासम्म लाग्छ । टेन्डर र खरिद प्रक्रियामा जाँदा समय लाग्ने भएको हुँदा जीटूजीमार्फत मल नआए धानबालीमा मलका हाहाकार हुने उनको भनाइ छ ।

सरकारले बर्खे बालीका लागि मल अभाव हुन नदिन जीटूजीमार्फत ५० हजार मेट्रिक टन माल ल्याउने प्रक्रिया थालेको थियो । सरकारले जीटूजीमार्फत मल ल्याउन प्रक्रिया थालेको करिब दुई महिना बितिसकेको छ । तर, आजसम्म प्रक्रिया अघि बढाउन सकेको छैन । जीटूजीमार्फत मल ल्याउन भारत सरकार र नेपाल सरकारको सहसचिवस्तरीय पहिलो छलफल भए पनि दोस्रोपटक हुन सकेको छैन ।

करिब दुई महिनापहिले पटक भारत सरकार नेपाल सरकारले जीटुजीमार्फत मल ल्याउने छलफल भए पनि नेपाललाई ५० हजार मेट्रिक टन दिन्छु भनेर भारतसँग सम्झौता समेत नगरेको भण्डारीले बताए । भण्डारीले भने, ‘कृषिको अत्यधिक उत्पादनका लागि वार्षिक ७ लाख टन रासायनिक मल चाहिन्छ ।’

तर, ४ देखि ५ लाख मेट्रिक टन मल वितरण गर्न सके अभाव हुँदैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार आव २०७०÷७१ मा २ लाख ३२ हजार ८ सय ७९ मेट्रिक टन वितरण भएको छ । २०७१÷७२ मा २ लाख ९८ हजार ८ सय ५८ टन, २०७२÷७३ मा २ लाख ५८ हजार ७ सय ७९ मेट्रिक टन रासायनिक मल वितरण भएको छ । यस्तै, २०७३÷७४ मा ३ लाख २८ हजार २ सय १६ मेट्रिक टन र २०७४÷७५ मा ३ लाख ४८ हजार ७ सय ३४ मेट्रिक टन मल वितरण भएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्