काठमाडौं, २० फागुन । नेपाल आयल निगमले मागअनुसार ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । आयल निगमले बजारमा मागअनुसार ग्यास उपलब्ध भएकाले भण्डारण गरी गलत हल्लाको पछाडि नलाग्न उपभोक्तालाई आग्रह गरेको हो ।
पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको छ ।
इण्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास लोडिङ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनै पनि अभाव नरहेको जनाएको छ । हालसम्म उद्योगीसँग आठ हजार मेट्रिक टन भारतबाट ग्यास ल्याउने कागजात ‘पिडिओ’ रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइत बताउँछन् । उक्त कागजातबाट ग्यास ल्याउने कार्य नियमित रहेको उनको भनाइ छ ।
सन् २०१९ को फ्रेबुअरीमा मात्रै ३५ हजार ७५४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको छ । निगमले उपभोक्तालाई सहजरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रयास गरिरहेको भन्दै गलत हल्ला र अफवाहको पछाडि नलाग्नसमेत आग्रह गरेको छ । उपभोक्ताको मागबमोजिम ग्यास आपूर्तिमा कुनै पनि समस्या नभएकाले अनावश्यकरूपमा ग्यासको सिलिण्डर भण्डारण नगर्नसमेत निगमले अनुरोध गरेको छ ।
निगमले उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न आफूहरू प्रयासरत रहेको भन्दै अत्यावश्यक विषयको संवेदनशीलतालाई ख्याल गर्न उद्योगी–व्यवसायीको समेत ध्यानाकर्षण गराएको छ ।दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयका सम्बन्धमा देखिएको समस्या समाधानका लागि वार्ता र संवाद नै उपयुक्त विकल्प भएकामा निगमको जोड छ ।



लाेकपाटी न्यूज