बनेपा, १४ फागुन । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका किसानले आफूहरुले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाएको भन्दै सरकारले नै मूल्य तोक्नुपर्ने माग गरेका छन् ।
नगरपालिकाका–७, श्रीरामपाटीका किसान बद्रीप्रसाद ढुङ्गानाले किसानले उत्पादन गरेको तरकारीको भाउ नपाएर बाटोमा फालिरहँदा समेत राज्य मौन रहेको बताए । स्थानीय सरकारले सहुलियत दरमा कृषि औजारको समेत व्यवस्था नगरेको उनको भनाइ छ ।
वि.सं. २०६५ देखि निरन्तर १३२ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका उनी किसानले सुलभ ब्याजमा ऋण, सिधै कृषि संस्थानबाट मल लिन पाउनुपर्नेलगायतका विषयमा सरकारले व्यवस्था गर्नुपर्ने बताउँछन् । उनले अहिले १० रोपनी जतिमा बन्दा, १५ रोपनीमा काउली र ८० रोपनीमा आलु खेती गरिरहेको छन् ।
सरकारले आफ्नो लगानी नपरेको कारण किसानले उत्पादन गरेको तरकारीले मूल्य नपाउँदा वास्ता नगरेको किसानको भनाइ छ ।
पाँचखाल नगरपालिका–१२ नागबेलीका किसान इन्द्रप्रसाद भेटवालले आफूले फलाएको बन्दा प्रतिकिलो रु तीन÷चार रुपैँयामा बिक्री गर्नुपरेको बताएका छन् । उनले भने, ‘ठेकेदार आउँछन् भाउ नै छैन भन्दै सस्तोमा उठाएर लैजान्छन् ।’ तरकारी खेती गरेर लगानीसमेत नउठ्ने अवस्थामा रहेको उनको दुखेसो छ । उनले भने, ‘सरकारले यो तरकारीको मूल्य यति हो भनेर तोकिदिए कमसेकम चित्त बुझ्दो त हुन्थ्यो । किन्दाखेरी महँगो तिर्नुपर्छ, उत्पादन गर्दा भाउ नै पाउँदैन ।’
लगानी गरेर उत्पादन गरेको तरकारीले भाउ नपाएपछि खेर फाल्नुभन्दा जति आए पनि बिक्री गर्नै परेकाले व्यापारीकै मूल्यमा बेच्न बाध्य भएको उनको भनाइ छ । सोही ठाउँका अर्का किसान माधव उप्रेतीले तरकारीको भाउ नै टुङ्गो नभएकाले उनीहरुले जतिमा भन्यो त्यतिमा नै पठाउनुपर्ने बाध्यता भएको बताएका छन् ।
बीचका दलालले तलमाथि गर्न नसक्ने गरी सरकारले मूल्य तोकिदिएर सबैको लागि समान खालको मूल्य हुने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
नगरपालिकाका प्रमुख महेश खरेलले भने किसानको उत्पादनमा सहयोग गर्ने गरी काम गरिरहेको बताएका छन् । उनले भने, ‘नगरपालिकाले अहिले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन आलु’ कार्यक्रमसँग समन्वय गरी तरकारी सङ्कलन केन्द्र खोल्दैछौँ, त्यसको लागि प्रक्रिया अगाडि बढिसकेको छ । सङ्कलन केन्द्रको स्थापना भएपछि किसानको समस्याको समाधान केही भए पनि हल हुन्छ ।’



लाेकपाटी न्यूज