सानेपामा बलिङ गर्ने नेविसंघका क्रिकेटर काे हुन् ?

654654
लाेकपाटी न्यूज

काठमाडौं, १३ फागुन । हिजो भएको नेविसंघका दुई समूहबीचको झडपले सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय तनावग्रस्त भएको थियो । जुन झडपलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।

नेविसंघका दुई समूहबीचको झडप भएसँगै त्यससँग सम्बन्धित फोटाहरु सामाजिक सञ्जालमा भाइरल भएको पाइएको छ । त्यस्ता फोटामा कार्यकर्ताहरुले ढुंगा हानिरहेको देखिन्छ । त्यसमा पनि एक युवाले क्रिकेटको बलिङ गर्न लागेको शैलीमा ढुङ्गा प्रहार गरेको फोटो भने निकै नै भाइरल बनाइएको छ ।

ती युवा नेता को हुन् भनेर सबैले खुल्दुली जनाएको पाइएको छ । सबैलाई सानेपामा बलिङ गर्ने ती नेविसंघका क्रिकेटर काे हुन् ? भनेर जिज्ञासा जागेकाे छ । तर, ती युवा कुनै क्रिकेट खेलाडी नभएर त्रिभुवन विश्वविद्यालय नेविसंघका नेता गंगा न्यौपाने रहेको जानकारी पाइएको छ । उनी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका शेरबहादुर समूहका विद्यार्थी नेता रहेको जनाइएको छ ।

नेविसंघमा स्ववियुको चुनावमा ३२ वर्षको उमेर हद राख्ने वा नराख्ने भन्ने विषयमा विवाद भएको थियो । पार्टीभित्रै विभिन्न गुट देखिएकोले सो विषयमा विवाद आएको र समस्या समाधान नभएपछि आईतबार नेपाली कांग्रेस पार्टी कार्यालयमा झडपको स्थिति सिर्जना भएको बताइएको छ ।

झडपमा ढुंगा हानाहान हुँदा यी युवाले पनि ढुंगा हानेका थिए । उनले ढुंगा हानिरहेकै बेला खिचिएको फोटो भाइरल हुन पुग्यो, त्यो पनि क्रिकेटका बलरहरुसँग तुलना गर्दै ।

उनले ढुंगा हान्ने शैली क्रिकेटमा बलिङ गर्ने ‘एक्सन’सँग दुरुस्तै मिल्दो छ । यही कारण सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको बलिङ सन्दिप लामिछानेको भन्दा कडा भएको टिप्पणी गर्दै फोटो शेयर गर्न थालेका हुन् ।

केहीले उनीहरुलाई अफगानी सनसनी बलर राशिद खानसँग पनि तुलना गरिरहेका छन् । प्रयोगकर्ताले स्ट्राइकमा देउवा थिए वा अरु कोही भन्ने प्रश्न गर्दै जो भए पनि विकेट भने पक्का लिने समेत भनेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्