कांग्रेस पार्टी कार्यालय तनावग्रस्त, पत्रकारमाथि हातपात

नेविसंघ
लाेकपाटी न्यूज

काठमाडौं, १२ फागुन । सानेपास्थित नेपाली कांग्रेस पार्टीको केन्द्रिय कार्यालय तवाखग्रस्त बनेको छ । पार्टी निकट विद्यार्थी संगठन नेविसंघका दुई समूह र प्रहरीबीच ढुंगा हानाहान हुँदा यस्तो अवस्था भएको हो ।

समाचार संकलनका लागि पार्टी कार्यालय सानेपा पुगेका बाह्रखरीका पत्रकार केशव सावद प्रहरीकाे लाठी प्रहारबाट घाइते भएका छन् । प्रदर्शनकारीलाई भने प्रहरीले तितरवितर पारेको छ ।

नेविसंघमा ३२ वर्षे हदबन्दीको विषयले उग्ररूप लिएको छ । उमेर हदको पक्ष र विपक्षमा विद्यार्थी नेताहरुले प्रदर्शन गरेपछि कांग्रेस पार्टी कार्यालय तनावग्रस्त बनेको हो ।

निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी नेताले उमेर हदको पक्षमा र संस्थापन पक्षले उमेर हदको विपक्षमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन र घेराबन्दी गरेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

काफ्ले समूहले ३२ वर्ष मुनिको तदर्थ समिति गठनको माग गर्दै आइतबार बिहानैबाट नाराबाजी गरेको थियो । प्रदर्शनकारीलाई कांग्रेस पार्टी कार्यालय प्रवेश गर्ने सडकमै प्रहरीले रोकेको थियो । अरू दिनभन्दा सुरक्षा व्यवस्था कडा पारिएको थियो । पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य र पत्रकारलाई मात्र प्रवेश गर्न दिइएको थियो ।

फागुन ९ गते उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतमाथि काफ्ले समूहले दुव्र्यवहार गरेका कारण प्रदर्शनकारीलाई सडक छेउमै रोकिएको थियो ।

नेताहरुमाथि दुर्व्यवहार गरेको विरोधमा संस्थापन पक्षले पनि पार्टीभित्र अनुशासन कायम हुनुपर्ने भन्दै विरोधमा उत्रिएको थियो ।

ऋषिकेशजंग शाहको नेतृत्वमा विश्वभाषा क्याम्पसबाट विद्यार्थीहरू झडपको तयारीसहित पार्टी कार्यालय पुगेका थिए ।

पार्टी कार्यालय पुगेका संस्थापन पक्षको ब्यानर काफ्ले समूहले च्यातिदिएपछि २ पक्षबीच झडपको स्थिति बनेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्