धार्मिक राजनीति कति घातक, कति विनासकारी ? (बहस)

Dr. Prem Aale
नेपाल अहिले यस्तो मोडतिर धकिलिँदै गरेको प्रतीत हुन्छ, जहाँ हिन्दू, इसाई, मुस्लिम, बुद्ध वा धर्मान्तरणको नाममा आम असन्तुष्टि भड्कन सक्छ। हाम्रा छिमेकमा भइरहेजस्तो धर्म विद्रोह वा द्वन्द नेपालमा पनि नहोला भन्न सकिन्नँ। त्यसैले सम्पूर्ण नागरिकहरुले धर्मलाई नितान्त व्यक्तिगत आस्थाको रुपमा मान्नुपर्दछ र अन्य धर्मावलम्बीहरुलाई जिस्काउने, उत्तेजित पार्ने या आत्मसम्मानमा चोट पुर्‍याउने किसिमले तडकभडक गरेर धार्मिक क्रियाकलाप गर्नु हुँदैन।
लाेकपाटी न्यूज

डा. प्रेम आले

केही महिनाअघि नेपाल सरकारले दुईवटा धार्मिक कार्यक्रममा सहभागिता जनाएपछि धार्मिक कुटनीतिको विषयले थुप्रै चर्चा–परिचर्चा पाएको थियो। ‘विवादित’ कोरियाली ईसाई समूहको काठमाडौँ सम्मेलन र भारतीय योगी आदित्यनाथको जनकपुर राम–सीता विवाहोत्सवमा आगमगनपछि केही सञ्चारमाध्यमले नेपाल सरकारका विरुद्ध धेरै प्रकारका टिकाटिप्पणी गरे। यद्यपि नेपाल धर्मनिरपेक्ष देश घोषणा भएपछि परम्परावादी, कट्टर हिन्दुवादी संघ–संस्था लगायत केही राजनीतिक पार्टीहरुले यो विषयमा बेलाबखत मूख खोल्दै आएका थिए, अझै पनि खोलिरहेकै छन्। यसो भनौं धर्मको वरिपरि नेपाली राजनीति धेरै अघिदेखि घुमिराखेको छ।

नेपालका छिमेकी देशहरुले पनि धर्मलाई राजनीतिक नरम शक्तिको रुपमा प्रयोग गर्दै आएको पाइन्छ। भारतीय जनता पार्टीको हिन्दूवादी नेता नरेन्द्र मोदी सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि हिन्दू राष्ट्रियताको प्रभाव नेपालको राजनीतिमा पनि पर्ने अनुमान गरिएको थियो। सत्तामा आएको झण्डै ५ वर्षपछि मोदीको हिन्दू राष्ट्रवादले नेपालको धार्मिक–साँस्कृतिक आयाम र सम्पूर्ण राजनीतिमा कसरी असर पारेको छ भन्ने कुरा अनुसन्धानको विषय हुन सक्दछ। तर, निचोडमा के भन्न सकिन्छ भने ‘सनातन धर्म’ मानिने हिन्दू धर्म अहिले पनि नेपाली र भारतीय जनतादेखि सरकारसम्म समधुर सम्बन्ध जोड्ने एउटा सेतु भएको थियो र अझ पनि छ।

त्यस्तै भारतले बुद्ध धर्मको विचार र संस्कारलाई पनि बढावा दिँदै आएको छ। सन् २०११ मा भारत सरकारले ‘ग्लोवल बुद्धिष्ट कंग्रेशन’ संस्थामार्फत संसारभरबाट करिब ९०० बुद्ध भिक्षुहरुको नयाँ दिल्लीमा भेला गरेको थियो। यो भेलाको मूख्य उद्देश्य विभिन्न हाँगामा विभाजित बुद्धिष्ट कम्युनिटीलाई एकत्रित गर्दै बुद्ध धर्मको विचार र आस्थालाई संसारभर फैलाउनु थियो। फलस्वरूप यो भेलाले ‘अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडरेशन’ नामक संस्था स्थापना गरेको थियो, जुन अहिले संसारभर छरिएर रहेको बुद्ध धर्मावलम्बीहरुको मूख्य आस्थाको केन्द्र बनेको छ। यसरी हिन्दू र बुद्ध धर्मको माध्यमबाट आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नसक्ने कुरामा भारत विश्वस्त रहेको कुरा सजिलै बुझ्न सकिन्छ।

हाम्रो उत्तरी छिमेकी राष्ट्र चीनले पनि ‘वल्र्ड बुद्धिष्ट फोरम’को माध्यमबाट चिनियाँ बुद्ध धर्मावलम्वीलाई आफूले उच्च महत्व दिन्छ भन्ने सन्देश दिन चाहन्छ। यस्तो भेला पछिल्लोपटक ३ महिनाअघि मात्र चीनको फुजियान प्रान्तमा भएको थियो। ५५ राष्ट्रका झण्डै एक हजार बुद्धिष्ट प्रतिनिधिहरु उपस्थित भएको यो भेलाको मूल उद्देश्य बुद्ध धर्ममार्फत् संसारभर भातृत्वको सन्देश दिनु थियो। आवरणमा जे उद्देश्य भए पनि चीनको भित्री उद्देश्य पञ्चेन लामालाई समस्त बुद्धिष्टहरुको मूल लामाको रुपमा स्थापित गरेर भारतमा निर्वासित दलाई लामाको महत्वलाई कम गराउनु रहेको देखिन्छ।

यसरी हेर्दा के बुझ्न सकिन्छ भने विश्वका सबै देशहरु (चाहे शक्तिशाली होस् वा कमजोर) धार्मिक–साँस्कृतिक माध्यमबाट आफ्नो प्रभाव देखाउन या अभिष्ट राजनीतिक उद्देश्य पूर्ति गर्न उद्दत रहेको स्पष्ट हुन्छ। के नेपालका राजनीतिक दल तथा तिनका भातृ संगठनहरु पनि यस्तो धार्मिक राजनीतिबाट अछुतो नरहेका होलान् ? हो भने कसको लागि विवादित धार्मिक राजनीतिमा नेपाल फसेको छ ? केही बुद्धिजीवीले भनेजस्तो नेपाल ‘इसाई धर्मको नयाँ उपनिवेश’ बन्न लागेको हो वा अन्यहरुले भनेजस्तो साँच्चै नेपाल अहिले धर्मान्तरण गर्न र गराउन उर्वरभूमि बनेको हो ? यस्ता धेरै अनुत्तरित प्रश्नहरुको जवाफ दिन अनि धर्मको यो दुश्चक्रले भविष्यमा नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक र राजनैतिक आयामहरुमा कस्तो असर पार्न सक्दछ भन्ने कुराको लेखाजोखामा यो लेख केन्द्रित छ। पहिले गत केही महिनाअघि नेपालमा आयोजित दुईवटा धार्मिक भेलाको बारेमा चर्चा गरौँ।

काठमाडौँमा सम्पन्न भएको कोरियाली ईसाई समूहको सम्मेलन र जनकपुरमा सम्पन्न भएको राम–सीताको विवाहोत्सवले नेपालमा राष्ट्रिय स्तरमा बहस पैदा गरेको थियो। पहिलो सम्मेलनमा केन्द्र सरकारको उपस्थिति थियो भने पछिल्लो भेलामा २ नम्बर प्रदेश सरकारको उपस्थिति। चर्चा पाउनुको मुख्य कारण देशले धर्मसम्बन्धि यस्ता कार्यक्रममा सहभागिता जनाउनु थियो। यस्ता कार्यक्रमहरु यसअघि नभएका भने होइनन्। यसअघि पनि विवादित युनिफिकेशन चर्चद्वारा आयोजित विभिन्न सम्मेलनमा नेपालका नेताहरुः लोकेन्द्र बहादुर चन्द, डा. बाबुराम भट्टराई, सुशील कोइराला, माधव नेपाल, उपेन्द्र यादव, कमल थापा लगायत सहभागी भएका थिए। यस सम्मेलनमा म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथिको उपस्थिति थियो।

नेपाल अहिले यस्तो मोडतिर धकिलिँदै गरेको प्रतीत हुन्छ, जहाँ हिन्दू, इसाई, मुस्लिम, बुद्ध वा धर्मान्तरणको नाममा आम असन्तुष्टि भड्कन सक्छ। हाम्रा छिमेकमा भइरहेजस्तो धर्म विद्रोह वा द्वन्द नेपालमा पनि नहोला भन्न सकिन्नँ। त्यसैले सम्पूर्ण नागरिकहरुले धर्मलाई नितान्त व्यक्तिगत आस्थाको रुपमा मान्नुपर्दछ र अन्य धर्मावलम्बीहरुलाई जिस्काउने, उत्तेजित पार्ने या आत्मसम्मानमा चोट पुर्‍याउने किसिमले तडकभडक गरेर धार्मिक क्रियाकलाप गर्नु हुँदैन।

त्यस्तै यो सम्मेलनभन्दा केही दिनअघि मात्र जनकपुरमा सम्पन्न भएको राम–सीता विवाहोत्सव पनि सांस्कृतिक–धार्मिक रुपले कम महत्वपूर्ण रहेन। युनिफिकेशन चर्चको सम्मेलन जत्तिको विवादित नभए पनि यससित जोडिएको राजनीतिक पक्षलाई नजरअन्दाज गर्न सकिन्नँ। यो धार्मिक भेलामा भारतीय हिन्दुवादी नेतृत्वको एक मूख्यमन्त्री योगी आदित्यनाथजस्ता कट्टर हिन्दूवादी नेताको उपस्थिति थियो। उनले हिन्दूत्वलाई औजार बनाएर नेपालमा हिन्दू राजतन्त्र पूनस्र्थापना गर्न चाहन्छन् भन्ने कुरा कसैबाट छिप्न सकेको छैन। यस्तो विवादित नेतालाई नेपाल सरकारले आतिथ्य प्रदान गर्नुलाई के भन्ने ? एक जना मूख्यमन्त्रीको हिसाबले उनलाई धार्मिक क्रियाकलाप हुनुअघि र पछि राजनीतिक सम्मान दिनु र उनीसित भेटघाट गर्नु उचित हुन्थ्यो। तर, उनले प्रयोग गरेको फोरम नितान्त व्यक्तिगत भएकाले नेपाल सरकारका अंगहरुले सोहीमुताविक व्यवहार गर्नुपर्थ्याे।

संविधानको मूल मर्मअनुसार यी कुनै पनि धार्मिक कार्यक्रममा सहभागी नभई तटस्थ बस्न सकेको भए सरकार विवादमुक्त रहन सक्थ्यो। अनि, कुनै अन्य धर्मावलम्बीहरुको नजरमा राज्यले साँच्चै धर्म निरपेक्षतालाई ब्यवहारमा उतारेको राम्रो उदाहरण दिन सकिन्थ्यो। राज्यको धर्म छैन, धर्म नितान्त व्यक्तिगत हुन्छ भन्ने राम्रो सन्देश दिन सकिन्थ्यो। तर, त्यो भएन। संविधानतः धर्मनिरपेक्ष भइसकेको, सर्वधर्मी बसोबास गर्ने देशमा यस्ता परस्परविरोधी धार्मिक गतिविधिमा सरकार वा सरकारका एजेण्टहरु स्वयंको अग्रसरता तथा उपस्थिति रहनुले के सन्देश दिन्छ ? यस्ता गतिविधिहरु सबै धर्मालम्बीहरुले कुन हदसम्म गर्दा समाजमा सामाजिक, धार्मिक तथा साँस्कृतिक सहिष्णुता र सद्भाव कायम रहला ? अर्को धर्मावलम्बीहरुले यस्तो गतिविधिलाई आफ्नो धर्मविरुद्ध ‘धर्म प्रचार’का रुपमा बुझ्यो भने त्यसको नतिजा के होला ? अब सबै शान्तिप्रेमी नेपालीले मनन गर्ने बेला भएको छ।

यी त चर्चामा आएको धार्मिक गतिविधिहरु भए। चर्चा नपाएको तर भित्रभित्र गाँजिएर बसेको यस्ता धार्मिक गतिविधिहरु नेपाली समाजमा टोलटोलमा, चोकचोकमा र सार्वजनिक स्थलहरुमा खुलम्खुल्ला दिनहुँजसो हुने गर्दछन्। टोलटोल र सार्वजनिक स्थलमा स्थापना भएको विभिन्न देवीदेवताको मठमन्दिर, गुठी, चर्च आदिको संख्या दिनानुदिन बढिरहेको देखिन्छ। हप्तौंसम्म चल्ने हिन्दू महायज्ञ, आइतबार बिहानभरि चर्चमा घन्कने प्रवचन र गीत, टोलटोलमा सुनिने राधेस्वामी भक्तजनहरुको प्रवचन तथा यत्रतत्र सुनिने बुद्ध लामाहरुको मन्तोच्चरणले नेपाल साँच्चिकै धार्मिक स्वार्थका लागि उर्वरभूमि बनेको प्रतीत हुन्छ।

धार्मिक आस्था आफैमा धेरै संवेदनशील विषय हो। धर्मनान्तरको प्रयासले एक ‘काँचो धर्मावलम्बी’लाई अर्को धर्ममा रुपान्तर गर्न सकिएला। तर, ‘पाको धर्मावलम्वी’ले त्यसलाई नकारात्मक रुपले हेर्न सक्दछ। अझ केही कट्टर धर्मगुरुहरुका लागि त यो कुरा अपाच्य हुन सक्दछ। अनि बिस्तारै एकार्का विरुद्ध ‘जेहाद’ छेड्ने अश्त्र हुन बेर लाग्दैन। एकजना कट्टरवादी अन्धभक्तले समाजमा धर्महिंसा निम्त्याउन सक्दछ, जो अन्ततः देशका लागि आत्मघाती हुन्छ, त्यसलाई सुरक्षित अवतरण गराउन सजिलो नहुन सक्छ। धार्मिक राजनीतिको सबैभन्दा ठूलो जोखिम यही हो।

भारत–पाकिस्तान युद्ध, इजरायल–प्यालेष्टाइनी युद्ध, अमेरिका–अफगान युद्ध पनि धर्मकै कारणले भएका अन्तरदेशीय युद्धहरु हुन्। त्यसैगरि सिरिया, इराक, इरान, अफगानिस्तान आदि देशमा भइरहेका विद्रोह पनि यसैको परिणाम हुन्। थाइल्याण्डको दक्षिणी प्रान्तमा जातीय पहिचान र धर्मसित जोडिएका विषयहरुका कारणले गर्दा मुस्लिम र बुद्ध धर्मावलम्बीहरु बीचको विद्रोहमा करिब ६००० मानिसले ज्यान गुमाइसकेका छन्। फिलिपिन्समा क्याथोलिक इसाई र मुस्लिमहरुको बीचमा द्वन्द चलेको वर्षौं भयो र त्यहाँ पनि हजारौं मानिसहरुले ज्यान गुमाएका छन्। त्यस्तै श्रीलंकामा पनि मुस्लिम, इसाई र बुद्ध धर्मावलम्बीबीच दैनिकजसो तनाव बढिरहेको छ। उत्तरी भागमा दशौँ वर्ष चलेको तमिल र सरकार बीचको गृहयुद्ध समाप्त भएको भनिए पनि त्यहाँ फेरि जातिय–धार्मिक हिंसा भड्कने सम्भावनालाई नकार्न सकिँदैन।

चीनमा समेत धेरै धर्मावलम्वीहरु विशेषतः बुद्धिष्ट, इसाई, मुस्लिम र परमपरागत ताविस्ट भएकाले शान्ति र सुरक्षाको कारणले सरकारले कडा निगरानी राख्नुपरेको बताइन्छ। जापानजस्तो धर्ममा अति सहिष्णु देशमा समेत बेलाबखत धार्मिक अतिवादीहरुले आक्रमण गरेको पाइन्छ। त्यहाँ ओम शिंरिक्योजस्ता अतिवादी कल्ट ग्रुप, जसले सन् १९९५ मा जापानको ब्यस्त भूमिगत रेल स्टेशनमा विषादी रासयानिक वस्तु प्रयोग गरेर १३ जनाको ज्यान लिएका थिए, त्यस्ता धेरै छन्। त्यसैले कुनै पनि किसिमको अतिवादी धार्मिक क्रियाकलापले देशमा द्वन्द निम्त्याउन सक्छ भन्ने कुरा सबैले हेक्का राख्नुपर्दछ। झन् राज्यले त उचित नियम कानून बनाएर यस्ता अतिवादी क्रियाकलापको नियन्त्रण गर्न सक्नुपर्दछ।

नेपालका केही राजनीतिक दलहरु पनि धर्मलाई हतियार बनाएर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न लागिपरेका छन्। यिनीहरुका लागि ठूलो घटना केही हुन जरुरी छैन। मात्रै धर्मसँग सम्बन्धित एउटा घटना घट्नुपर्दछ, त्यसलाई प्रयोग गरेर आफ्ना विरोधीका विरुद्ध धार्मिक विद्रोह गर्न पनि पछि पर्दैनन्। नेपाल अहिले यस्तो मोडतिर धकिलिँदै गरेको प्रतीत हुन्छ, जहाँ हिन्दू, इसाई, मुस्लिम, बुद्ध वा धर्मान्तरणको नाममा आम असन्तुष्टि भड्कन सक्छ। हाम्रा छिमेकमा भइरहेजस्तो धर्म विद्रोह वा द्वन्द नेपालमा पनि नहोला भन्न सकिन्नँ। त्यसैले सम्पूर्ण नागरिकहरुले धर्मलाई नितान्त व्यक्तिगत आस्थाको रुपमा मान्नुपर्दछ र अन्य धर्मावलम्बीहरुलाई जिस्काउने, उत्तेजित पार्ने या आत्मसम्मानमा चोट पुर्‍याउने किसिमले तडकभडक गरेर धार्मिक क्रियाकलाप गर्नु हुँदैन। नेपालका नेताहरु यस्तो कुरामा बेलैमा सचेत हुन जरुरी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्