काठमाडौँ, ९ फागुन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुने क्रम जारी रहेको जनाएको छ । सर्वसाधारणको हितलाई ध्यानमा राखी निगमले हाललाई पेट्रोलियम पदार्थको साबिककै बिक्री मूल्यलाई यथावत् राखेको जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेलको मूल्य रु ९७ छ ।
इण्डियन आयल कर्पोरेसनले गत माघ २ देखि यही फागुन ४ गतेसम्मका लागि पठाएको मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ६३ पैसा र डिजलमा ६ रुपैयाँ ५७ पैसा मूल्य वृद्धि भएको भए तापनि सो अवधिमा निगमले पेट्रोल र डिजल दुवैमा प्रतिलिटर रु दुई मात्रै मूल्यवृद्धि गरेको जनाएको छ ।
आयल निगमको महाप्रवन्धकमा सुरेन्द्र पौडेल आएपछि उनले नियमभित्रका विकृतिहरुको सुक्ष्म अध्ययन गरिरहेको स्रोत बताउँछ । तत्काल मूल्यवृद्धि गर्दा त्यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तालाई पर्ने भएपछि पौडेलकै निर्देशनमा तत्कालका लागि मूल्यवृद्धि रोकिएको हो ।



लाेकपाटी न्यूज