काठमाडौं, ८ फागुन । अमेरीकामा संकटकाल लागेसँगै नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । मंगलबार स्थिर रहँदै ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको हो ।
बुधबार सुन तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि २०७० साल भदौ १२ गते सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि घटेर तोलाको ४७ हजार रुपैयाँसम्म झरेको सुनको भाउ केही महिनादेखि बढेर आज २०७० साल भदौ १२ गतेकै मूल्य पुगेको महासंघका मुल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।
उनका अनुसार चीन र अमेरिकाबिचको व्यापारिक तनाव र अमेरिकामा घोषणा गरिएको संकटकालका कारण डलर कमजोर भएपछि सुनमा लगानी गर्नेको संख्या बढे पनि भाउ महंगो भएको हो ।
हिजो प्रतिऔंस १३ सय २५ डलरमा कारोबार भएको सुनको भाउ आज १८ डलरले बढेर प्रति औंस १३ सय ४३ डलर कायम भएको उनले जानकारी दिए ।
चाँदी भने आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।



लाेकपाटी न्यूज