डीपीएल : अत्तरिया प्ले अफमा, विराटनगर बाहिरियो

0111
लाेकपाटी न्यूज

धनगढी, ६ फागुन । सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा विराटनगर किंग्सलाई १० रनले पराजित गर्दै अत्तरियाले प्ले अफमा स्थान बनाएको हो ।

फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १४९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।

विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन बनाउँदा पृथु बास्कोटाले २७ रन जोडे । यस्तै अभिनास यादवले १४ रन जोड्दा असद उल्लाह खान पठानले १३ रन बनाए । कप्तान करण केसी १२ रनमा आउट भए ।

अत्तरियाका भुवन कार्की र दिपेन्द्र रावतले समान ३÷३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक ठूलो स्कोर १४८ रन बनाएको थियो । अत्तरियाको उच्च स्कोरमा सन्नी पटेल र जय किशन कोल्शावालाले अर्धशतकीय इनिङस खेले । बिस्फोटक ब्याटिङ गरेका सन्नीले अविजित ६१ रन बनाए ।

३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका सन्नीले अन्तिम ओभरमा किशोर महतोको बलमा २ छक्का र ३ चौका प्रहार गरेका थिए । सन्नी डीपीएलमा अर्धशतक पुरा गर्ने पाँचौं खेलाडी समेत बने ।

यस्तै कोल्शावाला ५१ रनमा अविजित रहे । डीपीएलमा अर्धशतक बनाउने चौथो खेलाडी बनेका कोल्शावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै जितेन्द्र सिंह ठकुरीले १३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १० रन बनाए ।

विराटनगरका सुशन भारी र संसद शेखले समान १÷१ विकेट लिए ।

जितपछि अत्तरियाले ४ खेलबाट ६ अंक जोडेको छ र एक खेल अगाबै प्रतियोगिताको प्ले अफमा पुगेको छ । दोस्रो स्थानको अत्तरियाले अब मंगलबार शीर्ष स्थानको काठमाडौं गोल्डेन्ससँग खेल्नेछ ।

विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरले ५ खेलमा ४ अंक जोडे पनि रन रेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगर पाँचांै स्थानमा रह्यो ।

विराटनगर पराजित भएसँगै महेन्द्रनगर युनाईटेड पनि प्ले अफमा पुगेको छ । ५ खेलबाट ४ अंक जोडेको महेन्द्रनगरले रन रेटमा विराटनगरलाई पछि पार्दै प्ले अफमा स्थान बनाएको हो ।

योसँगै प्ले अफमा पुग्ने ४ टोलीको टुङ्गो लागेको छ । अब मंगलबार हुने काठमाडौं र अत्तरियाबीचको खेलपछि क्वालिफायरमा पुग्ने दोस्रो टोली र इलिमिनेटर खेल्ने टोलीको तय हुनेछ । ७ अंक जोडेको काठमाडौं भने क्वालिफायरमा पुगिसकेको छ ।

प्रतियोगिताको शीर्ष दुई टोलीले क्वालिफायर खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुनेले इलिमिनेटर खेल्नेछ ।