काठमाडौं, ५ फागुन । कञ्चनपुर, चितवन, नवलपरासी (पूर्व) र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
कञ्चनपुर भिमदत्त नगरपालिका–२ भाँसी पुलस्थित पूर्वपश्चिम राजमार्गमा शनिबार दिउसो बा ३४ प ८६४१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री भिमदत्त नगरपालिका–३ बस्ने ५९ वर्षीय रामसिंह कुंवरको मेडिकल कलेज नेपालगंञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उक्त मोटरसाइकलका चालक कैलाली धनगढी उपमाहानगरपालिका–६ बडियारी बस्ने नयनदेव शर्मालाई उपचारको लागी सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ ।
चितवन भरतपुर–१० स्थित बसपार्कमा ना ४ च ३५१४ नम्बरको बलेरो गाडीले ना १ ह ६६९५ नम्बरको अटोलाई शनिबार बेलुका ठक्कर दिँदा उक्त अटो पुन ना ६ ख २१९८ नम्बरको ट्रकमा ठोक्किन गई भएको दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक रौतहट चन्द्रपुर नगरपालिका–३ घर भई चितवन भरतपुर–७ बुद्धचोक बस्ने ४२ बर्षीय रोहित रानाको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । ३ वटै सवारी साधन तथा ट्रक र बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–४ सर्दी दुम्कट्टास्थित सडकमा लु ३त ८९६६ नम्बरको ट्याक्टरमा सवार बाग्लुङ वडिगाड गाउँपालिका–७ वस्ने २० वर्षीय किरण घर्तीको उक्त ट्रलीको ट्याक्टरबाट खसेर टायरले किच्दा शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मकवानपुर मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित पूर्वपश्चिम राजमार्गमा ना ११ प ४३८ नम्बरको मोटरसाइकल सोही ठाउँमा रोकी राखेको ना ६ त ८०४ नम्बरको ट्याक्टरमा शनिबार राती ठक्कर खाइ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनाचुरी बस्ने करिब १९ बर्षीय बिशाल मोक्तानको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार कार्य एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।


लाेकपाटी न्यूज