सङ्कल्प/कुश्मा, पर्वत
अग्रगामी चेतनाको संवाहक मानिने आफ्नो राजनीतिक दलको विचारप्रति आस्थावान् विद्यार्थी संगठन र भातृ संगठनहरुको पछिल्लो समयमा बढ्दो गतिहीनता र विचारशून्यताले विद्यार्थी आन्दोलनको औचित्य र चरित्रमाथि नै प्रश्नचिह्न खडा गरेको छ । २००४ सालमा जयतु संस्कृतम् आन्दोलन, ०१७ को फौजिकाण्डपछिको विद्यार्थी आन्दोलन, पञ्चायतकालीन निरंकुशता विरुद्ध ०३६–०४६ मा विद्यार्थीको भूमिका, १० वर्षे सशस्त्र जनयुद्धमा संगठित विद्यार्थीको आक्रोश, हुँदै माघ १९ पछि विद्यार्थीले सडकमा लगाएका गणतन्त्रका नाराले विकसित विद्यार्थी आन्दोलन आज केवल सत्ताको भ-याङजस्ता बनेका छन् ।
विश्व परिवेशमा विकसित सामाजिक, राजनीतिक घटनाक्रमले परिवर्तित शिक्षाको उद्देश्य, संरचना, आवश्यकता–माग, उत्पादित जनशक्ति र हाम्रो माटोअनुकुल हामी छौं वा छैनौं ? बहस, सम्वाद र अन्तरसंघर्ष गर्नुपर्ने बेला स्पस्ट शैक्षिक रणनीति नभएका विद्यार्थी संगठनभित्रका केही अवसरवादी नेतृत्वकर्ता माउपार्टीको पिछलग्गु बनी आफ्नो राजनीतिक क्षेत्र र हैसियत के हो ? भुलिसकेको तीतो यथार्थ हामीसँग छ ।
अचेल हामी विद्यार्थी संगठनका नेतृत्वलाई सरुवा, बढुवा, ठेक्का–पट्टाका फाइल बोकेर मन्त्रालय ओहोरदोहोर गर्दैमा फुर्सद छैन्, अझै कोही भने तोडफोड र आगजनीमा व्यस्त छन् ! बिचरा अब विद्यार्थी हकहित र शैक्षिक मुद्दामा कसले बहस गर्दियोस् ! अवसरको खोजीमा ‘नो अब्जेक्सन् लेटर’ बोकेर वर्षेनि बढ्दो अष्ट्रेलिया, यूरोप, जापान जस्ता देशमा पलायन हुने शैक्षिक जनशक्ति देशमै कसले रोकिदिओस् ?
हामी संगठनको संस्थागत मुद्दामा नभई व्यक्तिगत लाभहानीको हिसाबकिताब गरेर पार्टी र अझ पार्टीको गुटगत राजनीतिमा सघाउँदै छौं । आफू निदेर्शित विचार, विश्वदृष्टिकोण र परिवर्तित वातावरणसँग बेखबर या बेमतलवी छौं । तर, व्यक्तिगत स्वार्थका लागि पार्टीका नेता तथा माननीयहरु रिझाउन भक्ति मण्डली, देवत्वकरण अनि आरोप–प्रत्यारोपणको आत्मरतिमा हामी÷हाम्रा संगठनहरु चुर्लुम्म डुबेका छौं, जो दिनहुँ सामाजिक सञ्जालमा देखिन्छ, जुन हामीमा घट्दै गएको रचनात्मक चेतको उपज हो, अनि देशको भविष्यका निम्ति दुर्भाग्य पनि ।
हुन त विद्यार्थी आन्दोलनलाई केवल सत्ता राजनीतिको मातहतमा राख्न खोज्ने, राजनीतिक दल र व्यक्तिका स्वार्थका झोला मात्र बोकाउने, विद्यार्थी आन्दोलनभन्दा माउपार्टीप्रति बफादार बन्नुपर्ने र कतिपय अवस्थामा आफ्ना निहित स्वार्थपूर्तिका निम्ति विद्यार्थी आन्दोलनको गौरवमय परम्परा बिर्सिदिने पार्टीपद्धति नौलो भने होइन । जसका कारण एकातिर आफ्नो संगठनसँगै पार्टीगत र भविष्यको राष्ट्रिय राजनीतिमै महत्त्वपूर्ण विचार बोक्न सक्ने एउटा नेतृत्वदायी शक्ति केवल आफ्नो निजी जीवनको राजनीतिमा मात्र खुम्चिन बाध्य हुनुपर्ने बिडम्बना छ भने अर्कोतिर वैचारिक दृष्टिकोणप्रति दृढ, निजि लोलुप्तामा नभई संगठन र आन्दोलनप्रति समर्पित, रचनात्मक/आलोचनात्मक चेतयुक्त सशक्त युवा नेतृत्वको अभावमा भावी विद्यार्थी आन्दोलनको भविष्य नै संकटमा देखिन्छ ।
अबको विद्यार्थी आन्दोलन
अनेक आरोह–अवरोहसँगै विकसित विद्यार्थी आन्दोलनको औचित्यमाथि आज प्रश्न उठ्नु आफैंमा सोचनीय विषय छ । हिजो परिवर्तनको खातिर अग्रमोर्चामा उभिएर आन्दोलन हाँक्ने विद्यार्थी शक्ति आज आफ्नै कारणले दिनानुदिन जीर्ण बन्दै गएको छ । अबको विद्यार्थी आन्दोलन कुन दिशामा अगाडि बढाउने ? एकातिर संविधानले आफूलाई समाजवादउन्मुख राष्ट्रको रुपमा चिनाएको छ, अर्कोतिर देशमा शिक्षा क्षेत्रको ब्यापारीकरणले निजि र सरकारी शिक्षा प्रणालीबीचको वर्गीयता थप तिखार्ने काम गरेको छ ।
हाम्रो उत्पादित शैक्षिक जनशक्ति श्रम र राष्ट्रिय अर्थतन्त्रसँग जोड्न सकिएको छैन । सीमित सैद्धान्तिक घेराभित्र बाँधिएको शिक्षा व्यक्तिको जीवनसँग मेल खाँदैन, अर्थात् हाम्रो शिक्षाको अधिकांश भाग आफ्नो समाज र जीवनबारे कम अनि अरु समाज र अरुको जीवनबारे बढी केन्द्रीत छ । हामीसँग आफैं आफ्नो समाजबारे सरोकार राख्ने नभई दातृ राष्ट्रको आवश्यकता र सिफारिसको छायामा पाठ्यक्रम र पठनपाठ तौरतरिका तयार पारिएको छ, जसका कारण प्रतिभा पलायन (brain drain) को समस्या वर्षेनि थप चुनौती बन्दैछ ।
अझ विद्यार्थी र स्वयं शिक्षकहरु पाठ्यपुस्तकमा छापिएकोभन्दा बाहिरी ज्ञानबारे अनविज्ञ रहनु, विद्यार्थीका प्रतिभा, भावना, विचार, तर्क, अनुभव पनि वैध र मान्य हुन्छन् भन्ने अनुभुति दिन नसकिनु, प्रश्नको उत्तर दिन सक्ने तर उत्तरमाथि प्रश्न गर्न नसक्ने, सिर्जनशील र आलोचनात्मक चेतनाको अभाव भएको विद्यार्थी उत्पादित हुनु हाम्रो शिक्षा प्रणालीका थप चुनौती हुन् । व्यवहारिक ज्ञानभन्दा सर्टिफिकेटधारी जागिरे या गुलामी मानसिकताका जत्था उत्पादन गर्न विश्वविद्यालयहरु तछाडमछाड गर्दैछन्, फलतः आज देश शैक्षिक बेरोजगारहरु उत्पादन गर्ने कारखाना बनेको छ । बिचरा देशबाट पलायनको बाटो रोज्न हाम्रो शैक्षिक जनशक्ति बाध्य छ ।
अब आजको दिनमा यी र यीजस्ता शैक्षिक क्षेत्रमा देखिएका तमाम चुनौतीविरुद्ध हामी र हाम्रा विद्यार्थी संगठन के कस्तो पहलकदमी लिएका छन् त ? यथाअवस्थामा चलिरहेकै शिक्षा प्रणाली र समग्र विद्यार्थी संगठनका एजेण्डा र सो अनुसारका कार्यशैलीले भोलिको पुस्तालाई समाजवादी शिक्षाको आभास गराउला त ? विद्यार्थी संगठनहरु बहसमा ओर्लिने कि अझै पनि पार्टी नेतृत्वको अह्रौटे बनि बस्ने ?



लाेकपाटी न्यूज

