-दिनेश लिम्बु
काठमाडौं । सर्वेन्द्र खनाल अहिले नेपाल प्रहरीको आइजीपी छन् । उनी सुरुदेखि नै मेघावी र जोशिला थिए । बचपनदेखि नै हिम्मतिलो र हक्की स्वाभावका सर्वेन्द्र कसैसँग नहच्किने व्यक्ति थिए । प्रहरी अधिकृत भएपछि उनी व्यवसायिक निष्ठामा अडिग रहने ‘एक्सन ओरिएण्टेड अफिसर’ बने । साना कुरामा नअल्झिई ठूलो मिशन राख्ने र त्यो मिशन पूरा गर्न कसैसँग सम्झौता नगर्ने भए । यही स्वभावले उनलाई अन्ततः नेतृत्वमा पुर्यायो । तर, यही स्वभावका कारण उनी कतिपयका आँखामा कसिङ्गर बनेका छन् ।
प्रहरी ‘सेलेब्रेटी’ पेशा हो । तर, आफैमा अनावश्यक दोषारोपण हुने व्यवसाय पनि । यसमा अनावश्यक वैरभाव र विवाद पनि जन्मिन्छन् । गलत तत्वलाई सिध्याउँदा कतिपय ज्यानीदुश्मन बन्छन् । व्यवसायिक निष्ठाका लागि अडान लिने अधिकृत दलाली गर्नेका लागि विरोधका पात्र हुन पुग्दछ । कानूनसम्मत विवेकले उचित ठानेको कुरामा मोलाहिजा र सम्झौता नगर्ने सर्वेन्द्रलाई त ‘खान पल्केका’ बिचौलियाले विरोध गर्ने नै भए । उनले उडाएका र सफाया गरेका तत्वका बचेखुचेका जरा र हाँगाले दुश्मनी साँध्ने नै भए ।
सर्वेन्द्र आफ्नो जिम्मेवारीमा पूर्णतः सफल र उत्कृष्ट परिणाम दिई प्रशस्त वाहवाही पाउने अधिकृत हुन् । उनको कार्यशैलीमा कुनै पनि खोट हुदैन । तथापि, केही प्रहरी कर्मचारीले भने बिगतदेखिको गलत संस्कार र व्यवसायिकताको कमिको कारण आधारभूत काम पनि बिगार्छन् । दुरदराजमा यदाकदा भएका यस्ता गलत कार्यको दुहाई दिँदै सर्वेन्द्रलाई व्यक्तिगत रुपमा प्रहार गर्ने प्रयास भएका छन् । प्रहरीको ‘चेन अफ कमाण्ड’अन्तर्गत अन्य बिभिन्न तहगत सुपरीवेक्षकले गर्नुपर्ने काममा एकैचोटी आइजीपीलाई नै विवादमा ल्याउने कोशिस हुन्छन् ।
उदाहरण हो, निर्मला पन्त काण्ड । तत्कालको स्थानीय प्रहरी बिगारेको यो काममा तहगत सुपरीवेक्षक अरु छन् । मूलतः यस घटनामा पनि नेतृत्वको भूमिका दोषी प्रहरीलाई कारबाही गर्ने हो । जिल्ला प्रहरी प्रमुख र वडा प्रहरी प्रमुखको जागिर गइसक्यो । अन्य संलग्न ६ जना प्रहरी निलम्बनमा छन् । सबैलाई प्रचलित कानूनबमोजिम कारबाही हुँदैछ । थप अनुसन्धान जारी छ । तर, प्रहरी महानिरीक्षकको ‘नैतिक जिम्मेवारी’ रहने यसमा सर्वेन्द्रलाई आफैले बिगारे सरह विवादमा ल्याउने प्रयास भएको छ । यसैको बहानामा सर्वसाधारण जनताको भावनामा खेलेर केही तत्वले सर्वेन्द्रमाथि प्रहार गर्ने कोशिस पनि गरिरहेका छन् ।
सर्वेन्द्रलाई विवादित बनाउन खोज्ने तत्व चिन्न गाह्रो छैन । तामाकोशीलाई केन्द्रबिन्दु बनाई अपराधिक साम्राज्य खडा गरेको घैंटेले कतिपयसँग मिलेर जग्गा कारोबार, निर्माणमा लगानी, होटल रेष्टुरेन्ट व्यवसाय, मिटर ब्याज र अन्य उठ्ती पुठ्ती सञ्चालन गरेको थियो । घैंटे ढालेपछि घैंटेका अनुयायीले सर्वेन्द्रलाई ज्यानीदुश्मन ठानेका छन् । कारण हो- सर्वेन्द्रका कारणले घैंटेसँगै उनीहरुको ठूलो लगानी पनि उड्यो । यस्ता तत्वको जालो कहाँसम्म पुगेको हुन्छ र कतिसम्म गर्छन् भन्ने कुरा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्याबाट नै पुष्टि हुन्छ ।
सर्वेन्द्रले सफाया गरेका कुख्यात डाँकाको डफ्फा, निस्तेज पारेका सशस्त्र समूह, भारतबाट ल्याएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष, सैन्य कमाण्डर राजनमुक्ति, गोइत समूहका ‘अभिताभ’, ३० भन्दा बढीको ज्यान मारेर नेपालमा लुक्न आएका बब्लु दुवे, ‘बोर्डर डन’ सुनील जैसवाल लगायत सयौं अपराधी र अपहरणकारीका जरा, आफन्त र दलालहरु सर्वेन्द्रलाई ज्यानीदुश्मन ठान्छन् ।
फुटबलका म्याच फिक्सरहरु, शून्यमा झारेका गुण्डा र तिनका ग्याङ, पेट्रोल पम्पमा मेसिनको प्रयोगले ठगी गर्ने ठग, विद्युत ठगी नेटवर्कका जालो, हुण्डी कारोबारी र हुण्डीका मतियार, हालका प्रहरीको सामान खरिद र आपूर्तिमा आँखा गाडेका दुई नम्वरीहरु, प्रहरी सामग्रीको गुणस्तरमा घोटाला गर्नेहरु, गुण्डाको परिचालन गर्ने ठेकेदार सर्वेन्द्रका दुश्मन भएका छन् । सर्वेन्द्रका नजरमा प्रहरी र गुण्डा एकै ठाउँ रहन सक्दैनन् । प्रहरी देख्दा गुण्डा थरथर काप्नुपर्छ । सके गुण्डालाई सुधार्नु, नसके ढलाउनु भन्ने उद्घोषका साथ देशैभरि गुण्डागर्दीमा गरेको कडा प्रहारले काठमाडौं र बाहिरका स्थापित गुण्डाहरू भागेर पनि रिस फेर्ने बाटो खोजेका छन् । तिनका बचेखुचेका टुक्राटाक्री र ती झुण्डका ‘माइबाप’ले सर्वेन्द्रलाई दुश्मनबाहेक अरु देख्दैनन् ।
तराईमा अलग्गै राज्यको हुंकार भर्ने तर जेलमा जाकिएका सिके राउत, पहाडमा क्रान्तिको ज्वालामुखी निकाल्छु भन्ने तर आफैं लुक्न बाध्य नेत्रविक्रम चन्द ‘विप्लव’, बारम्बार समातिएर अदालतका कारण छुटेका ‘प्रकाण्ड’, कतिपय स्थानमा बम बिष्फोट बनाउन खोजेका अपराधी र तिनका चेलाले सर्वेन्द्रलाई वर्गशत्रु देख्छन् र सेनापतिलाई ढाले युद्ध जित्न सकिने प्रायोजित मनोविज्ञानका साथ विवादमा तान्ने कोशिस गर्छन् ।
कुवेतमा बेचिएकी एक युवतीले सर्वेन्द्रलाई फोन गरिन् र सकुशल फर्किन् । दोषीलाई कारबाही भयो । अहिले महिला र मानव तस्करी रोक्न देश विदेशबाट सहज सूचनाका लागि हेडक्वाटरमा ११७७ नंवरको निशुल्क टोलफ्री फोन स्थापना गरिएको छ । सयौं पीडितलाई बाहिरबाट उद्धार गरी दोषीलाई कारवाही गरिएको छ । सर्वेन्द्रले शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) को नाममा मानव तस्करी सञ्चालन गर्नेहरूलाई कठघरामा ल्याए । हालै बानेश्वरबाट दुई समूह पक्राउ परेका छन् । यस्तै अपराध रोक्न सर्वेन्द्रले नयाँ इकाई ‘मानव बेचबिखन अनुसन्धान व्यूरो’ स्थापना गरी कार्य सञ्चालनमा ल्याएका छन् । यस्ता ‘मिनी–माफिया’को कारोबार धरासायी भएको छ ।
प्रहरीले प्रशस्त हातहतियार, लागूऔषध समातेको छ । विगतका अपराधमा अभूतपूर्व र हालका अपराधमा अद्वितीय सफलता मिलेको छ । हालै प्रहरीले झण्डै ४३ किलो अवैध सुन बरामद ग¥यो । १ सय ५२ थान साना ठूला हतियार समातिए । एक सय ५० जना संलग्न व्यक्ति पक्राउ परे । करिब एक हजार फरार अपराधी समातिए । झण्डै २७ सय ५९ किलो गाँजा, पाँच सय २८ किलो चरेस, ६ किलो हेरोइन, ११ किलो अफिम बरामद भयो । लागूऔषधमा संलग्न दुई हजार आठ सय ३६ जना पक्राउ परे । एक हजार आठ सय २६ जनाविरुद्ध मुद्दासमेत दायर भयो । इन्टरपोलमार्फत् १४ वटा रेड नोटिस र १६ वटा डिफ्युजन नोटिस जारी भयो । थुप्रै अपराधीलाई विदेशबाट ल्याइयो । यस्तै सफलताका लागि ‘साइबर व्यूरो’को स्थापना भयो । यी कुराबाट आफ्नो सञ्जालमा आघात पुगेका ठान्नेहरुका लागि सर्वेन्द्र सबैभन्दा ठूला शत्रु हुन् ।
अरु त अरु नै भए, प्रहरीकै एक समूह पनि सर्वेन्द्रमाथि प्रहारमा अभ्यस्त छ । उनले हालसम्म ४६ जना गैरब्यवसायिक प्रहरीलाई बर्खास्त गरेका छन् । सात सय ३९ जनालाई अन्य कारवाही भएको छ । नोकरी शुरुदेखि राजधानीमै बसेर राइदाई गरेका सयौ ‘डन’ प्रहरी बाहिर लखेटिएका छन् । यसमध्येका हजार बढीले राजिनामा गरे । ‘निर्मला पन्त काण्ड’मा दोषी देखिएवापत हाल बर्खास्त गरिएका जिल्ला प्रहरी प्रमुख र वडा प्रहरी प्रमुख पनि सर्वेन्द्रको बदख्वाई गर्दै हिडेका होलान् । भोलि यी लगायत अन्य सबै दोषी प्रहरीलाई प्रचलित कानून बमोजिम अन्य कारवाही हुँदा ती थप खनिनेछन् । कतियप प्रहरी भित्रकै ‘कुण्ठा’ आफ्नो अभिष्ट पूरा हुन नपाएकाले विरोध गर्छन् र विवादमा ल्याउन हरसम्भव प्रयास गर्नेछन् ।
गुण्डागर्दी र असुलीको अभियोगमा भदौमा पक्राउ परेका सत्यमान लामालाई प्रहरीले नछोडेकोमा सत्तारुढ संगठन अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले ‘निर्मला काण्ड’को बहानामा सर्वेन्द्रको राजीनामा माग गर्दै गृहमन्त्रीकोमा पुगे । यसले विद्यार्थी संगठनभित्रै विवाद ल्याएको र महासचिव ऐन महर र उपाध्यक्ष दिपेश पुनले घोर आपत्ति जनाएको कुरा समाचारमा आएकै हो ।
नेतृत्वमा पर्याप्त भिजन, मिसन अनि हिम्मत चाहिन्छ । नेपाल प्रहरीको इतिहासमा यस्तो नेतृत्व कमै आउछ । तर, समय संवेदनशील र परिस्थिति प्रतिकुल छ । जे–जति भएको छ, सर्वेन्द्र आइजीपी भएर नै हो । अरु भएको भए के हुने थियो ? अनुमान गर्न गाह्रो छ । बिगतका परीक्षामा सर्वोत्कृष्ट भएर नै सर्वेन्द्र महानिरीक्षक भएका हुन् । अब पनि हुने यही नै हो । नेपाल प्रहरीलाई दक्षिण एसियाकै नमूना बनाउने लक्ष्यका साथ अगाडि बढेको ‘ट्रेन्ड सेटर’ र ‘मिशन ओरिएन्टेड’ नेतृत्वलाई स्वतन्त्र रुपमा काम गर्न दिऊँ, यथासम्भव सफलता प्राप्त हुनेछ । विभिन्न स्वार्थ र पूर्वाग्रहका कारण प्रहरी नेतृत्वमाथि आक्रमण गर्ने र सिङ्गो राष्ट्र नै असफल बनाउने कुचेष्टाबाट सचेत बनौं ।
(राजनीतिक र सामाजिक विषयमा कलम चलाउने लिम्बु पोखराका सामाजिक अभियन्ता हुन् ।)



लाेकपाटी न्यूज

