सापेक्षतावादको सिद्धान्त के हो ? (अनुसन्धानमूलक बहस)

earth and globe
लाेकपाटी न्यूज

प्राचीन समयमा मानिसहरुले पृथ्वी चेप्टो भएको ठाने । किन कि उनीहरुले पृथ्वीको जमिनलाई आँखाले हेर्दा चेप्टो नै देखे । त्यतिखेर आँखाले देखेकोलाई नै सत्य ठान्नुको विकल्प उनीहरुसँग थिएन । यो बुझाइ हजारौं वर्षसम्म चल्यो । पछि इसापूर्व चौथो शताव्दीमा आएर ग्रीक दार्शनिक अरस्तूले थुप्रै तथ्य र तर्क दिई पृथ्वी चेप्टो नभई गोलो भएको प्रमाण प्रस्तुत गरे । उनले प्रस्तुत गरेको आधारमा मानिसहरुले बिस्तारै पृथ्वी गोलो भएको भन्ने बिचारलाई सही मान्न थाले । वास्तबमा भौतिक तथ्य र तर्कका आधारमा सत्य पत्ता लगाउने वैज्ञानिक विधिलाई अरस्तूले सुरु गरेको मान्न सकिन्छ । तर, भौतिक तथ्य स्थिर रहँदैन । र, यो सबै ठाउँमा एकै पनि रहँदैन । अर्थात् भौतिक तथ्य निरपेक्ष हुँदैन । यानि कि सत्य सापेक्ष हुन्छ ।

विज्ञान जगतमा भौतिक तथ्य यानि कि सत्य सापेक्ष हुने बिचारलाई प्रमाण जुटाउने काम वैज्ञानिक आइन्स्टाइनको सापेक्षतावादले गर्यो । वैज्ञानिक न्युटनको यान्त्रिकी र गुरुत्वाकर्षणको सिद्धान्तमा अन्तरिक्ष तथा समय दुबै निरपेक्ष हुन्छ । दुई सय वर्षसम्म सबैले यसैलाई सत्य मान्दै आए । तर, आइन्स्टाइनले प्रकाशको गतिबाहेक सबै वस्तु तथा परिघटनाहरु सापेक्ष हुने कुरा सापेक्षतावादका सिद्धान्तहरुमार्फत् प्रमाणित गरिदिए । उनले अन्तरिक्ष र समयसमेत सापेक्ष हुने प्रमाण पेश गरे ।

पृथ्वीको जन्म साढे ४ अर्ब वर्ष पहिले भयो । जन्मेको ५० करोड वर्ष पछिसम्म यो तातो गोलाको रुपमा नै रह्यो । त्यसपछि चिसिन थाल्यो र यहाँ पानी एवं बादल देखापर्न थाल्यो । जीवनको सुरुवात त्यही क्षणबाट भएको वैज्ञानिकहरुले जीवावशेषको आधारमा धारणा बनाएका छन् । त्यसअघिको ५० करोड वर्षसम्म यो पृथ्वी हाल अरु ग्रहहरु झैं पूरै जीवनरहित खगोलीय गोला नै थियो । जीवनको सुरुवात एक कोषीय जीवबाट सुरु भयो । त्यो पनि पानीमा । तर, वास्तविक एक कोषीय जीव त पृथ्वी जन्मेको लगभग ४ अर्ब वर्षपछि अर्थात् आजभन्दा ५७ करोड वर्षपहिले मात्र भएको प्रमाण वैज्ञानिकहरुले पाएका छन् ।

क्रमिक विकासको बाटो अर्थात् Evolution लाई पछ्याउँदै सुरुको एक कोषीय जीव क्रमशः बहुकोषीय जीव, बहुकोषीयमा पनि वनस्पति र प्राणी, बहुकोषीयबाट पानीमा रहने कीराहरु, त्यसपछि माछाहरु, त्यसपछि पानी र जमिन दुबैमा रहने उभयचर, त्यसपछि घस्रिएर हिँड्ने सरिसृप, त्यसपछि स्तनधारी, त्यसपछि वानर, वानरमा पनि पुच्छ र अपुच्छ वानर, र अन्त्यमा मानवपुर्खा होमिनिडको विकास भएको तथ्य वैज्ञानिकहरुले प्रमाण प्राप्त गरेका छन् । एक कोषीय जीवबाट क्रमिक विकास भई मानवपूर्खा होमिनिडसम्म आइपुग्न झण्डै ५६ करोड वर्ष लागेको आँकलन वैज्ञानिकहरुले गरेका छन् ।

आधुनिक मानवको विकास त लगभग ५० हजार वर्षपहिले मात्र भएको प्रमाण छ ।
त्यस्तै गरी उता वनस्पतिको पनि समुद्री एक कोषीयबाट बहुकोषीय, बहुकोषीयबाट पनि झनपछि झन ठूला र विविध प्रकारका समुद्री वनस्पतिको क्रमिक विकास हुँदै पछि पानीबाहिर जमिनमा आएको र त्यो पछिल्लो समयमा रुखजस्तो ठूला एवं विकसित वनस्पतिसम्म विकसित भएको प्रमाण वैज्ञानिकहरुले पाएका छन् । मानव जनावरबाट विकसित प्राणी हो । चेतनाको विकासले जनावर मानवमा रुपान्तरण भएको हो । त्यसैले मानव चेतना जीवको क्रम विकास अर्थात् Evolution कै देन हो ।

Evolution को सिद्धान्त १९ औं शताव्दीको उत्तराद्र्धमा वैज्ञानिक चाल्र्स डार्विनले आविष्कार गरे । अथवा, उनले त्यो यथार्थलाई उजागर गरिदिए । तर, पृथ्वीमा मानव कहाँबाट आयो भन्ने कौतुहल त मानव जातिलाई उसमा चेतनाको जन्म भएदेखि नै जाग्दै आएको हो । मानव आगमनको प्रश्न सँगसँगै समस्त जीवन र यो पृथ्वी, सूर्य, चन्द्रलगायत समस्त ब्रम्हाण्ड नै कहाँबाट आए भन्ने जिज्ञासा प्राचीन कालदेखि मानिसहरुमा रहँदै आयो । बिभिन्न कालखण्डमा बिभिन्न मानिसहरुले यसबारे बिभिन्न बिचार राख्दै आए । दर्शन अर्थात् Philosophy को जन्म र विकास त्यही क्रममा भयो ।

तर, साँचो वा सत्य के हो रु यसबारे तथ्य, प्रमाण, तर्क, अवलोकन, प्रयोग र परीक्षणको आधारमा ठीक कुरा पत्ता लगाउने प्रयास पश्चिममा विज्ञानको जन्म र विकास सँगसँगै नै भयो । तर, १९ औं शताव्दी अगाडिसम्म विज्ञानलाई ज्ञान र अध्ययनको पर्यायको रुपमा मात्र लिइन्थ्यो । त्यतिखेरसम्म प्रकृतिको अध्ययन र त्यसलाई भौतिक यथार्थको रुपमा चिन्तन–मनन गर्ने शास्त्रलाई प्राकृतिक दर्शन अर्थात् Natural Philosophy को रुपमा चिनिन्थ्यो । त्यसलाई दर्शनको एउटा हाङ्गाको रुपमा लिइन्थ्यो ।

प्रकृतिको यथार्थ अर्थात् सत्यलाई बुझ्न दार्शनिकहरुको दिमागी चिन्तन–मनन मात्र पर्याप्त नभएको महसुस युरोपमा १४ औं शताव्दीमा सुरु भएको पुनर्जागरण कालदेखि नै हुन थाल्यो । भौतिक यथार्थलाई बुझ्न वा सत्य थाहा पाउन अवलोकन, तर्क, परीक्षण, प्रयोग र प्रमाणको जरुरी हुने महसुस हुन थाल्यो । यही क्रममा नै पुनर्जागरण कालको जन्म र विकास सँगसँगै युरोपमा गणित, भौतिकशास्त्र, खगोलशास्त्र, मानव शरीर रचनासहित जीवविज्ञान र रसायनशास्त्रको विकास हुन थाल्यो । र, ज्ञान तथा अध्ययनको पर्यायको रुपमा रहेको विज्ञानले नयाँ परिभाषा पाउन थाल्यो । यो दर्शनभन्दा पृथक भौतिक यथार्थ पत्ता लगाउने शास्त्रको रुपमा पुनर्परिभाषित हुन पुग्यो । त्यस्तै गरी प्राकृतिक दर्शन पनि विस्तारै दर्शनको एक हाङ्गाको रुपमा नभई यो विज्ञानको एक हाङ्गा भौतिकशास्त्रको रुपमा रुपान्तरित हुन पुग्यो ।

युरोपमा १४ औं शताव्दीमा सुरु भएको पुनर्जागरण काल १७ औं शताव्दीको अन्त्यसम्म चल्यो । यही कालखण्डमा विज्ञानका बिभिन्न क्षेत्रमा नयाँनयाँ अन्वेषण, बिचार, सिद्धान्त र आविष्कारहरु आए । यही क्रममा नै सन् १६८७ मा अंग्रेज वैज्ञानिक आइज्याक न्युटनले यान्त्रिकी Mecanics र गुरुत्व Gravity को सिद्धान्त प्रतिपादन गरे । उनले ती सिद्धान्तहरु प्राकृतिक दर्शनको रुपमा अगाडि सारेका थिए । ल्याटिन भाषामा लेखिएको उनको पुस्तकको नाम अंग्रेजीमा Mathematical Principles of Natural Philosophy अर्थात् नेपालीमा ‘प्राकृतिक दर्शनका गणितीय सिद्धान्तहरु’ हो । तर, उनले ती सिद्धान्तहरु अवलोकन र गणितीय तर्कको आधारमा निर्माण गरेका हुन् । चिन्तन–मननको कुरा मात्र थिएन त्यो । त्यसैले तिनीहरुलाई पछि भौतिकशास्त्रका सिद्धान्तका रुपमा स्थापित गरिए ।

न्युटनको यान्त्रिकी अर्थात् Newtonian mechanics र गुरुत्व अर्थात् Gravity का सिद्धान्तहरुले मानवलाई प्रकृतिबारे एउटा युगान्तकारी सत्य थाहा भयो । उनका सिद्धान्तहरु मानिसहरुले दैनिक जीवनको सुविधाका लागि प्रविधिमा प्रयोग गरी हेरे । यान्त्रिक र औद्योगिक क्रान्तिका लागि न्युटनका सिद्धान्तहरु अचुक सूत्र सावित भयो । न्युटनले आफ्ना सिद्धान्तहरु केबल दिमागी चिन्तन–मननको उपजको रुपमा आविष्कार गरेका थिएनन् । उनले वैज्ञानिक विधि प्रयोग गरी ती सिद्धान्तहरु आविष्कार गरेका थिए । उनको त्यो कार्यबाट विज्ञान जगतमा न्युटन युगको आरम्भ भयो ।

न्युटनको यान्त्रिकी अर्थात् Newtonian mechanics को जग भनेको उनले आविष्कार गरेका चालसम्बन्धी नियमहरु हुन् । यो नियम अवलोकनमा आउने सबै प्रकारका वस्तुहरु, यन्त्र भित्रका कलपुर्जाहरु, खगोलीय पिण्डहरु जस्तो कि उपग्रह, ग्रह, सूर्य, तारा, तारामण्डल, तारापुञ्ज आदि सबैमा लागु हुन्छ । न्युटनले यान्त्रिकीको अलावा गुरुत्वको सिद्धान्त पनि प्रतिपादन गरे । त्यस अनुसार खगोलका हरेक पिण्डले एक अर्कालाई बल लगाएर आकर्षण गरेको हुन्छ । त्यसलाई गुरुत्वबल भनिन्छ । पृथ्वीमा वस्तु माथिबाट तल खस्नु ठूलो पिण्डको पृथ्वीको तान्ने बलसँग सानो पिण्डको वस्तुको बलको कुनै जोड नचल्ने भएकोले त्यो पृथ्वीतिर तानिएको भन्ने व्याख्या गुरुत्वाकर्षण सिद्धान्तले गर्छ । गुरुत्वाकर्षणको सिद्धान्तले सौर्यमण्डलमा सूर्यलाई ग्रहहरुले निश्चित कक्ष अर्थात् Orbit मा रही परिक्रमा गरिरहने तथा उपग्रहहरुले आ–आफ्ना ग्रहलाई परिक्रमा गरिरहनुको वास्तविक कारण पनि गुरुत्व बल नै हो भनी विश्लेषण गर्दछ ।

आफ्नो सिद्धान्तको विश्लेषण गर्ने क्रममा न्युटनले अन्तरिक्ष र समय निरपेक्ष एवं एक अर्कामा स्वतन्त्र हुन्छन् भने । निरपेक्षको अर्थ यिनीहरुलाई केहीले पनि असर गर्न सक्दैन, सधैँ उही हुन्छन् भन्ने हो । विज्ञान जगतमा आइज्याक न्युटनका सिद्धान्तहरु २ सय वर्षभन्दा पनि बढी समयसम्म सम्पूर्ण सत्यको रुपमा स्थापित भए । उनले आविष्कार गरेको यान्त्रिकीकै आधारमा युरोपमा यान्त्रिक क्रान्ति भयो । साथसाथै औद्योगिक क्रान्ति पनि । उनकै गुरुत्वाकर्षणको सिद्धान्तको आधारमा खगोलविज्ञानको जग वस्यो ।

यसैबीच सन् १९०५ मा वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विशेष सापेक्षताको सिद्धान्त आविष्कार गरे । त्यस सिद्धान्तले न्युटनले बनाएको अवधारणामा प्रश्न चिन्ह खडा गरिदियो । विशेष सापेक्षताको सिद्धान्तले न्युटनको भन्दा नितान्त फरक रुपले समय सापेक्ष हुने अवधारणा अगाडि ल्यायो । यो अवधारणाले भौतिक विज्ञानमा मात्र होइन, बल्कि सम्पूर्ण ज्ञान र दर्शनको क्षेत्रमा समेत ठूलो हलचल पैदा गरिदियो । सामान्यतः अन्तरिक्षको कुरो खगोलशास्त्र र दर्शनको कुराकानीमा आउने गर्दछ । तर, समय त सबैको दैनिकीमा आउने कुरो हो । र, समय त जहाँ गए पनि एउटै त हो नि भनेर सबैले सोच्ने कुरो भयो । जब, आइन्स्टाइनले समय पनि हामीले सोच्दै आएजस्तो जहाँ पनि एउटै हुने अथवा निरपेक्ष हुने भन्ने कुरो होइन भनेर पुष्टि गरिदिए, तब समस्त ज्ञान र दार्शनिक क्षेत्रमै हलचल पैदा भयो । आइन्स्टाइनले सन् १९१५ मा सापेक्षतासम्बन्धी अर्को सिद्धान्त पनि प्रतिपादन गरे । त्यो सामान्य सापेक्षताको सिद्धान्त अर्थात् theory of general relativity थियो । यस सिद्धान्तले समय मात्र होइन बल्कि अन्तरिक्ष पनि सापेक्ष हुने प्रमाणित गर्दछ ।

सामान्य सापेक्षतावादले अन्तरिक्ष र समय एकअर्कामा छुट्याउन नसकिने सिक्काका दुई मुखजस्तै भएको ब्याख्या गर्दछ । यस सिद्धान्तले अन्तरिक्ष र समय मिली अन्तरिक्ष समय बनाउने र यो निरपेक्ष नभई सापेक्ष हुने अवधारणा अगाडि सार्यो । आइन्स्टाइनले गणितीय सूत्र आविष्कार गरी के पुष्टि गरिदिए भने अन्तरिक्ष समय पिण्डको साइज अनुसार बक्र हुन्छ । सानो पिण्ड वरपर थोरै बक्र र ठूलो पिण्ड वरपर धेरै बक्र । यसलाई सूर्य जत्रो ठूलो पिण्ड वरपर अवलोकन नै गर्न सकिन्छ भन्ने निष्कर्ष आइन्स्टाइनले निकाले ।

सामान्य सापेक्षतावादले गुरुत्व भनेको न्युटनले भनेझैं पिण्डहरुबीचको आकर्षण नभई ठूलो पिण्डले बनाउने धेरै बक्र अन्तरिक्ष–समयमा गतिशील सानो पिण्डले छोटो बाटो पछ्याउँदा नतिजा स्वरुप आकर्षित हुने परिघटना देखिनु हो । ग्रहहरु सूर्यभन्दा साना छन् । त्यसैले सूर्यले अन्तरिक्ष–समयलाई जति धेरै बक्र बनाउँछ, त्यसको तुलनामा उनीहरुले धेरै कम मात्र बक्र बनाउँछन् । र, धेरै बक्र अन्तरिक्ष–समयमा गतिशील हुँदा ग्रहहरुले सूर्यलाई परिक्रमा गर्न पुग्छन् भन्ने पुष्टि सामान्य सापेक्षतावादले गरेको छ । वैज्ञानिकहरुले सन् १९१९ मा भएको खग्रास सूर्य ग्रहणको बेला सूर्य पछाडिका ताराहरु अवलोकन गरी सामान्य सापेक्षतावाद सही भएको व्यवहारिक पुष्टि गरेका छन् ।

सामान्य सापेक्षतावादको आविष्कारपछि आइन्स्टाइनको सापेक्षतावादले पूर्णता प्राप्त गर्दछ । त्यस सिद्धान्त अनुसार ब्रम्हाण्डमा प्रकाशको गतिबाहेक बाँकी सबै वस्तु, घटना तथा परिघटनाहरु सापेक्ष हुन्छन् । यानि कि सत्य निरपेक्ष होइन सापेक्ष हुन्छ । वर्तमान युगमा सत्यलाई बुझ्न र ब्याख्या गर्न सापेक्षतावाद एउटा नयाँ औजार हुन पुगेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्