काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पूर्वाधार विकास र आर्थिक सहयोगका क्षेत्रमा भारतले गरेको वाचा पूरा गर्नुपर्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स् क्लबमा बोल्दै राजदूत आचार्यले उक्त कुरा बताएका हुन् ।
भारतसँगको नेपालको व्यापार घाटा घट्नको निम्ति भारतबाट नेपालमा संयुक्त आयोजनाहरुमा लगानी गरेर उत्पादन बढाउनुपर्ने उनको धारणा छ । उनले भने, ‘उत्पादन बढाएर हाम्रा वस्तुहरु त्यहाँ निर्यात गर्नुपर्छ । अहिलेकै समयमा पनि सीमामा के कति अप्ठ्यारा छन् ? धेरैजसो क्वारेन्टाइनको समस्या छन् । धेरैजसोले अन्य झन्झटहरु छन् भन्छन् । के कति अप्ठयारा छन्, तीनलाई हल गर्नुपर्छ ।’
त्यस्तै नेपालले पर्यटनको विकास गर्नुपर्ने उनको भनाइ छ । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि नेपाल र भारतबीच आदान–प्रदान हुनसक्ने सुझाए । उनले भने, ‘हामीमात्रै स्वास्थ्यलाभ गर्न भारत जाने होईन । भारतबाट पनि खास गरेर आँखाको औषधोपचार गर्न नेपाल आउँछन् । नेपाल–भारत सम्बन्धबाट भारतलाई पनि फाइदा भएको छ । नेपाललाई पनि फाइदा भएको छ । तर, व्यापार घाटा नेपाललाई अत्यन्तै कहालीलाग्दो छ । यसलाई घटाउनका निम्ति मैले अघि भनेका कुरामा जोड दिनुपर्छ । अहिले भएका अप्ठ्याराहरु हटाउँदै नयाँ सम्भावनाहरु, नयाँ उत्पादन, नयाँ सेवाको आदान–प्रदानलाई बढावा दिन्छौं।’
आफू भारतसँगको मित्रता बलियो पार्न र दुई देशबीचको सम्बन्धमा केही दुरी छ भने त्यसलाई कम गर्नको लागि केन्द्रित हुने उनको विश्वास छ । उनले भने, ‘दुरी कम गर्न केही कारणहरु छन् भने कारणहरु हटाउन र शंकाको वातावरण छ भने शंका निवारण गर्न, विश्वासको वातावरण सिर्जना गर्न र वृद्धि गर्न, केही हामीले गर्नुपर्ने काम बाँकी छन् भने हामीले गर्ने र उताबाट गर्न बाँकी छन् भने उतातिरबाट गर्न जोड दिने । हामीबीच विभिन्न सम्झौता भएका छन् । विभिन्न आयोजनाहरु पूरा गर्ने भएका छन् ।’
भारतले नेपालको विकासमा साझेदारको रुपमा धेरै सहयोग गरेको भन्दै उनले प्रशंसा गरे । आचार्यले भने, ‘कतिपय आयोजनाहरु समयमै पूरा नभएकाहरु समयमै पूरा गर्नुपर्ने स्थिति छ, त्यसैले विश्वासको वातावरणमा हामी दुई देशका बीचमा भ्रमणहरुको आदान–प्रदान उच्चस्तरलगायत विभिन्न स्तरमा, १७ वर्षपछि उच्चस्तरीय भ्रमणहरु आदान–प्रदान बाक्लिएको छ। यो आँफैमा एउटा उपलब्धि हो । विश्वासको वातावरण बनाउनको लागि भए/गरेका सम्झौता, वचनबद्धता समयमै पूरा गरिउन् भनेर प्रयास गर्नु अर्को एउटा प्रमुख कार्य हो ।’
उनले भारत होस वा नेपाल होस् बोलेको र भनेको कुरा पूरा गर्नुपर्ने पनि बताए । उनले थपे, ‘भन्नुहोस् न भुकम्पपछिको पूर्ननिर्माणका कुरा होलान्, कतिपय आयोजनाका कुरा होलान् । त्यस्तै हाम्रा सीमाहरु मैत्रीपूर्ण होउन् । त्यहाँ के–के कठिनाई छन् । मानव तस्करीको कुरा आउँछन् । अहिले नयाँ क्षेत्र जलवायु प्रदुषणको कुरा छ, भारतमा प्रदुषण भयो भने नेपालमा पनि असर पुग्छ । जलवायु, हावाले सीमा भन्दैन ।’
दुई देशबीच केही समस्या भए वार्ता तथा सम्वादमार्फत केही अप्ठयाराहरु भए हटाउन पहल गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘हिजोको कुरा कोट्याउनुभन्दा हिजोको कुराबाट पाठ सिकेर भविष्यलाई हेर्ने हो । भविष्यमा कसरी हामीले नेपालको राष्ट्रिय हितको निम्ति अगाडि बढ्न सक्छौं भन्ने कुरालाई हेरेर काम गर्ने हो । त्यसैले नेपाल सरकारको परराष्ट्र नीति, निर्देशन र प्राथमिकताअनुसार राजदुतहरुले आफ्नो काम गर्ने हो । म पनि त्यही गर्छु।’
उनले अघि थपे, ‘अहिले मलाई तपाईहरुको सद्भावले नेपाल र भारतका बीचमा मित्रता गहन पार्ने, सहयोगलाई अझ विस्तार र गहकिलो पार्ने जिम्मेवारका साथ सरकारले राजदुतमा नियुक्त गरेर भारत पठाउँदैछ । तपाईहरुको भारतप्रतिको सद्भावना नेपालको भारतीय जनताप्रतिको सम्मान, त्यस्तै भारतीय जनताको नेपाली जनताप्रति सम्मान, सार्वभौम समानताको सिद्धान्तबाट सम्बन्ध अगाडि बढाउने, अहिलेको २१ औं शताब्दीको उचाईमा सम्बन्धलाई विस्तार गर्ने, गहन गर्ने र बलियो बनाउने आकांक्षा नेपालीको पनि छ । र, भारतीय जनताको पनि छ भन्ने कुरा विश्वास छ । तपाईहरुको यही सद्भाव लिएर म जाँदैछु ।’
उनले अघि भने, ‘मलाई आशा छ, नेपाल र भारतबीचको सम्बन्धमा केही योगदान दिन तपाईहरुको सद्भावले मद्दत गर्नेछ । हाम्रा सम्बन्ध केही समय केही अप्ठ्यारामा परेका थिए । तर, अप्ठ्याराहरुलाई सहज बनाउने दिशामा प्रगति पनि भएका छन् । केही नयाँ नयाँ समभवनाहरु उठिरहेका छन्। व्यापार, जलस्रोत, कृषि, पर्यटन, सामाजिक–साँस्कृतिक, शैक्षिक सम्बन्धका साथसाथै नयाँ नयाँ क्षेत्रहरु जलवायुको क्षेत्रमा, हाम्रा सीमाहरुमा के–के अप्ठ्यारा छन् । दुई देशबीच सडक सञ्जालदेखि अहिले रेलमार्ग र जलमार्गको पनि कुरा उठिरहेको छ । त्यस दिशातर्फ भारतमा काम भैरहेको छ । हामीकहाँ पनि त्यसको तयारी भइरहेको छ ।’
आचार्यले नेपाल र भारत दुई देशबीचको व्यापार घाटा कसरी कम गर्ने र नेपालमा लगानी कसरी बढाउन सकिन्छ ? भन्नेबारे अहिले प्रयास भइरहेको सुनाए । उनले भने, ‘दुई देशबीच साझा आयोजनाहरु कसरी सुगमताका साथ सञ्चालन गर्न सकिन्छ ?, दुई देशबीच सरकारी तहमा, निजी क्षेत्रको तहमा र जनस्तरको तहमा पनि सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा पनि अहिले प्रयासहरु भइरहेका छन् ।’
नेपाल–भारत सम्बन्धमा राम्रो सम्भावना रहेको पनि उनले सुनाए । उनले भने, ‘ती सम्भावनाहरुमा बाधा नआउन् । त्यसलाई हामीले कार्यान्वयन गर्दै जाउँ र हाम्रा सम्बन्ध दुई स्वाधीन सार्वभौमसत्तासम्पन्न अत्यन्तै निकटतम छिमेकी देशका बीचका सम्बन्धसरह एक्काइसौं शताब्दीको उचाईमा पुगुन भन्ने अपेक्षा र त्यसमा सहयोग पुर्याउने र, नेपाल सरकारको परराष्ट्र नीतिलाई एउटा राजदुतको प्रमुखको हैसियतले भारतमा कार्यान्वयन गर्ने कुरामा म दत्तचित्त रहनेछु । तपाईहरुको माया र स्नेहले मलाई मद्दत गर्नेछ ।’



लाेकपाटी न्यूज

