काठमाडौं, २५ माघ । भारतका लागि नवनियुक्त नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले इपिजीको प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि भएको तर्क गरे । आचार्यले भने, ‘प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि हो । त्यो भन्दा पनि अगाडि जानुहुन्छ भने दुई देशका बीचमा उच्चस्तरबाट सहमति हुनु, १९५० को सन्धिलगायत सम्पूर्ण सन्धि, सम्झौताहरुको पूरावलोकन गरेर के–के कुरामा कस्तो सुधार गर्नुपर्छ भनेर त्यसलाई हेर्न सहमत हुनु नै पनि उपलब्धि थियो ।’
आचार्यले थपे, ‘त्यो राजनीतिकस्तरमा भएको हो । त्यो पनि कस्तो भन्ने भन्दादेखि विभिन्न बेलामा भएको हो । अहिले मोदीजी आइसकेपछि मात्रै होइन । मोदीभन्दा पहिलेबाट पनि त्यो प्रक्रिया चाहनुहुन्थ्यो भन्दाखेरि त्यहाँ मनमोहनजीको प्रधानमन्त्रीको कालदेखि र यहाँ पनि मनमोहन अधिकारीजीको कालदेखि चलिआएको हो । चाहे गिरिजाप्रसाद कोइराला भन्नुहोस्, चाहे सुशील कोइराला भन्नुहोस्, प्रचण्ड भन्नुहोस् । केपी शर्मा ओली भन्नुहोस् । नेपाल–भारत सम्बन्ध पुनरावलोकन गरेर राम्रो बनाउनुपर्छ भन्ने सबैको सहमतिका साथ अनि इपिजी गठन भएको हो ।’
साक्षात्कारमा बोल्दै उनले इपिजीले तोकिएकै समय सीमाभित्र प्रतिवेदन तयार पारेको स्पष्ट पारे । उनले इपिजी गठन गर्नकै निमित्त ८ जना नियुक्ति भएको बताउँदै भने, ‘चार जना नेपालबाट र चार जना भारतबाट । यो अर्को उपलब्धि थियो । धेरै कुराहरु के हुन्छ भने गर्ने भन्छन् । तर, कार्यान्वयनमा जाँदैन । यो त संयन्त्र नै बनाइयो । कतिपयले प्रतिवेदन बनाउँदैन कि भन्ने थियो । तर, साझा र सहमतिको प्रतिवेदन तयार भयो । दुई वर्षको कार्यकाल थियो । कार्यकालभित्रै टुँग्यायो ।’
आचार्यले ६ महिना बितिसक्यो तर समयमै प्रतिवेदन बुझाउन सकिएन भनेर भन्नु भन्दापनि केही समय धैर्यता गर्नुपर्ने सुझाए । उनले भने, ‘प्रतिवेदन बुझ्दैनन् । बुझ्न सकिँदैन भनेर शंकै शंकामा पर्ने हो भने त्यसको उपाय निस्कँदैन । केही अप्ठ्याराहरुलाई हामीले बुझिदिएर धैर्य साथ काम गर्नुपर्छ । बुझ्दैनौं त भनेको छैन नि । अध्ययन गर्दै होलान् । हेर्दै होलान् । उपयुक्त वातावरणमा र उपयुक्त समयको पर्खाइमा होलान् ।’



लाेकपाटी न्यूज

