काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन गठित कार्यदललाई मङ्गलबारभित्र कार्यप्रगतिको विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवायल बैठकले अहिलेसम्म भएको कार्यप्रगति विवरण पेश गर्न निर्देशन दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपाले एकता प्रक्रियामा बाँकी रहेका साङ्गठनिक एकीकरणको कार्यभार गृहकार्य गरी सुझाव पेश गर्न गत पुस १२ गतेको स्थायी समितिले गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो ।
प्रवक्ता श्रेष्ठले कार्यप्रगतिको विवरणसहित प्रतिवेदन बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवायलयले लिने र प्रतिवेदनलाई स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने बताए । गत जेठमा पार्टी एकता भएपछि अहिलेसम्म केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्र गठन भएको छ ।
जिल्ला कमिटी र जनवर्गीय सङ्गठनको साङ्गठनिक एकता अझै टुङ्ग्एिको छैन । अहिलेसम्म जनवर्गीय सङ्गठनमा इञ्जिनीयरिङ, कानून व्यवसायी, निर्माण व्यवसायी मात्र एकीकरण भएको छ ।
कार्यदललाई पुस मसान्तभित्र कार्यप्रगति विवरण बुझाउने समयसीमा दिइएको थियो । तर, अहिलेसम्म पनि प्रतिवेदन बुझाएको छैन । साथै बैठकमा भेनेजुयलामा विकसित राजनीतिक घटनाक्रमप्रति पार्टीको ध्यानाकर्षण भएको उनले बताए ।
बैठकले भेनेजुयला घटनाप्रति कुनै भ्रम र गलत प्रचार नगर्न समेत आग्रह गरेको छ । कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता पार्टीले राखेको प्रवक्ता श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले बैठकको निर्णय सुनाउँदै भने, ‘हाम्रो पार्टी संयुक्त राष्ट्र संघको बडा–पत्र र पञ्चशीलको सिद्धान्तप्रति सदा प्रतिबद्ध रहिआएको छ । हाम्रो पार्टी हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछ । कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तपूर्ण बाटोबाट समाधान गर्नु पर्दछ भन्ने मान्यता राख्दछ ।’
बैठकले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको विरोध गरेको छ । भेनेजुएलाका नागरिकले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समस्यालाई समाधान गर्नुपर्दछ भन्ने पार्टीको अडान दोहोर्याएको छ ।
उनले नेकपाको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नमा कुनै अन्योल र द्विविधा नरहेको समेत स्पष्ट पारे । ‘यससम्बन्धमा पार्टीको दृष्टिकोण र नीति स्पष्ट र स्थिर छ,’ उनले भने, ‘हाम्रो पार्टी संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति सदा प्रतिबद्ध रहिआएको छ ।’



लाेकपाटी न्यूज

