काठमाडौं । निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाल प्रहरीको आलोचना भइरहेको छ । सिङ्गो राज्य हत्याराको खोजीमा रहे पनि आशातित नतिजा आइसकेको छैन ।
नेपाल प्रहरीका एकाध अधिकृत र जवानहरुले गर्ने कमजोरीले सिङ्गो संगठनमाथि आक्रमण भइरहेको छ । तर, प्रहरीका दुख कसले बुझ्ने ? प्रहरी अधिकृत र जवानहरुको दैनिकी र राज्यप्रतिको योगदान भने कमैले मात्र बुझ्ने गरेका छन् ।
नेपाल प्रहरीका स्थानीय युनिटहरुमा अत्याधुनिक हतियार र प्रविधि दुवै छैन । सवारी साधनको अवस्था पनि उस्तै छ । पूरानो जीपको पछाडि बसेर उनीहरु कच्ची सडकमा गस्ती गरिरहेका हुन्छन् । न उनीहरुसँग खाने समय छ, न त आराम नै । न आफन्त, न चाडपर्व नै । तर, प्रहरीका दुख कमैले मात्र बुझ्छन् ।
यी एक प्रहरी जवान, जो तनहुँको घिरिङ गाउँपालिका–३ स्थित सुन्धारा पुगेका प्रहरी हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत उनी धुलाम्य अवस्थामा ड्युटीमा छन् । प्रहरी कार्यालयको जिपको पछाडि बसेर सुरक्षा प्रदान गर्ने प्रहरीलाई ग्रामीण सडकमा सास्ती हुने गरेको छ ।
तनहुँ मात्र होइन, देशभरि नै प्रहरी जवानहरुको सास्ती उस्तै छ । नागरिक समाज प्रहरीलाई गाली गर्छ । तर, निजामती कर्मचारीभन्दा प्रहरीका सास्ती भनिसाध्य छैन । प्रहरीले गरेको सानो कमजोरी मात्र देख्ने तर योगदान नदेख्ने गरेको प्रहरी जवानहरुको गुनासो छ ।
पछिल्लो समय नेपाल प्रहरीबाट राजीनामा दिएर पासपोर्ट बोक्नेहरुको भीड बढ्दै गएको छ । सास्ती ज्यादा, सेवा सुविधा कम भएका कारण उनीहरुले बैकल्पिक पेशा रोज्न थालेका छन् ।



लाेकपाटी न्यूज

