छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ को मृत्यु

लाेकपाटी न्यूज

काठमाडौं, ९ माघ । काठमाडौं, सुनसरी र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

बारा कोहल्बी नगरपालिका १ घर भई हाल काठमाडौं बसुन्धारा २३ वर्षीय शर्मा गुप्ताको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका १ भाटभटेनीमा बा.३० प २६४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको ईनारमा खस्दा गम्भीर घाइते भएका गुप्ताको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने मोटरसाइकल चालक २२ वर्षीय राजदेव चौधरीको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

यस्तै सुनसरीको कोशी राजमार्गमा मिनि ट्रकले सिटी सफारी जिपलाई ठक्कर दिँदा ५० वर्षिय कलिमको मृत्य भएको छ । दुहवी नगरपालिका ८ फुटानी चोकस्थित कोशी राजमार्गमा को. १ ह ४२५४ नम्बरको जिपलाई को.१ ख ६७१० नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो ।

दुहवी नगरपालिका ९ छातावेली बस्ने कलिमको सामुदायिक अस्पताल दुहवीमा उपचारको क्रममा मृत्यु भएको हो भने दुर्घटनामा  घाइते बेलबारी नगरपालिका १ बस्ने २८ वर्षिय मनकुमार मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै धनुषामा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ३० वर्षिय चालक बैजु ठाकुरको मृत्यु भएको छ । नगराइन नगरपालिका ७ लवटोलीस्थित सडकमा ज.१ त ८२८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्