समाजवादी दर्शन सम्बन्धी १२ प्रश्न र उत्तर

Ramdeep Acharya
पदार्थ matter लाई प्राथमिक दर्जामा राखेकाले त्यसको नाम भौतिकवाद Materialism रहन गयो । लेनिन भन्नुहुन्छ, “मार्क्सवादी दर्शन भौतिकवादी दर्शन हो ।”
लाेकपाटी न्यूज

– रामदीप आचार्य

मार्क्सवादी/समाजवादी दर्शन के हो ? विश्व दृष्टिकोण के हो ? यो सवाल वर्गीय विश्व दृष्टिकोण र राजनीतिका लागि निकै महत्वपूर्ण विषय हो । यहाँ समाजवादी दर्शनबारे १२ प्रश्न र तिनको उत्तर उल्लेख गरिएको छ।

१. दर्शन के हो ?

अंग्रेजी philosophy शब्द philo को अर्थ प्रेम र sophia को अर्थ विवेक जस्ता शब्दको मिलनबाट विवेक प्रेम वा विद्यानुराग हुन्छ । ज्ञानप्रतिको प्रेमलाई दर्शनशास्त्र भनिन्छ । अर्को शब्दमा दर्शन भनेको विश्वलाई हेर्ने साधारण (आम) तरीका हो ।

२. दर्शन शब्दको पहिलो प्रयोगकर्ता को हुन् ?

दर्शनशास्त्र शब्दको पहिलो प्रयोगकर्ता प्राचिन युनानी दार्शनिक पाइथागोरस हुन् ।

३. दर्शनशास्त्रको मौलिक प्रश्न के हो ?

“समग्र दर्शनको र विशेषतः नयाँ दर्शनको महान् मौलिक प्रश्न चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो । ’’ – फ्रेडरिक एंगेल्स

“मानिसको चेतनाले त्यसको अस्तित्वलाई निर्धारित गर्दैन, अपितु यसको उल्टो, त्यसको सामाजिक अस्तित्वले त्यसको चेतानालाई निर्धारित गर्छ ।” – कार्ल मार्क्स

४. भौतिकवाद के हो ?

जुन सिद्धान्तमा ईश्वर वा कुनै पनि सृष्टिकर्ताको निषेध गर्दै सत्ता अर्थात, विश्व, अर्थात् प्रकृति, पदार्थ वा वस्तुगत संसारलाई प्राथमिक दर्जामा राख्ने र त्यसैबाट चिन्तनको जन्म हुने कुरा स्वीकार गरिन्छ, त्यसको नाम भौतिकवाद हो । पदार्थ matter लाई प्राथमिक दर्जामा राखेकाले त्यसको नाम भौतिकवाद Materialism रहन गयो । लेनिन भन्नुहुन्छ, “मार्क्सवादी दर्शन भौतिकवादी दर्शन हो ।”

५. आदर्शवाद के हो ?

आर्दशवाद एक यस्तो दार्शनिक सिद्धान्त हो, जसले चेतना, आत्मा, सङ्कल्प, विचार वा ईश्वरलाई प्राथमिक मान्दै त्यसैबाट विश्व, पदार्थ वा प्रकृतिको जन्म भएको हो भन्ने कुरा स्वीकार गर्छ । विचार, आत्मा वा आदर्श (Ideal) जस्तो अभौतिक तत्वलाई प्राथमिक मानेकोले त्यस सिद्धान्तको नाम आदर्शवाद (Idealism) रहन गयो ।

६. द्वैतवाद के हो ?

चिन्तन र सत्ता, आत्मा र प्रकृति, चेतना र पदार्थलाई समानान्तर रुपमा प्राथमिक मान्ने, तिनमा समन्वय कायम गर्ने वा आफूलाई तटस्थ देखाउन खोज्ने दार्शनिक सिद्धान्तलाई द्धैतवाद (Dualism), समन्वयवाद वा तटस्थवाद भनिन्छ । द्धैतवादले आदर्शवादतर्फ जाने ढोका खुल्ला गर्दछ ।

७. दर्शनशास्त्रको पद्दति के हो ?

विश्वको विकास प्रक्रिया र त्यसको नियमहरुको अध्ययन गर्ने चिन्तन प्रणालीलाई दर्शनशास्त्रको पद्दति भनिन्छ । दर्शनशास्त्रको इतिहासमा विश्व दृष्टिकोणका दुई आधारभूत पद्दति रहिआएका छन्, ती हुन द्धन्दवाद र अधिभूतवाद ।

८. द्धन्दवाद के हो ?

द्धन्दवाद प्राचीन युनानी (Dialog) पदावलीबाट विकसित भएको हो । यसको अर्थ हो, बहसको कला ।

९. अधिभूतवाद भनेको के हो ?

अधिभूतवाद पनि प्राचीन युनानी (Meta-Physica (physica) पदावलीबाट विकसित भएको हो । यसले भौतिक विज्ञानभन्दा पर भन्ने अर्थ बुझाउँछ । द्धन्दवाद (Dialectics) र अधिभूतवाद (Meta-Physica) परस्पर विपरीत अर्थ बुझाउने पदावली हुन् ।

१०. के दर्शन वर्गीय हुन्छ ?

हो, वर्गीय समाजमा दर्शन पनि वर्गीय हुन्छ । दर्शनशास्त्रको इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्धन्दवाद र अधिभूतवादबीच जुन सङ्घर्ष चल्दै आएको छ, त्यो यसै वर्गीय वैचारिक सङ्घर्षको प्रतिविम्ब हो । हरेक दर्शनले आफ्नो वर्गहित, विचार र राजनीतिक उद्देश्यको सेवा गर्दछ । द्धन्दात्मक भौतिकवाद माक्र्सवादी दर्शन हो । यसले श्रमजीवी सर्वहारा वर्गको सेवा गर्दछ भने अधिभूतवादी आदर्शवादले पूँजीपति वर्गको सेवा गर्दछ ।

११. दर्शनशास्त्रको विषयवस्तु के हो ?

प्रकृति, समाज र चिन्तनका सामान्य विषयको अध्ययन नै दर्शनशास्त्रको विषयवस्तु हो ।

१२. दार्शनिक प्रणालीका तीन तत्व के–के हुन् ?

(क) वर्गीय पक्षधरता, (ख) सिद्धान्त र (ग) पद्दति ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्