काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध नियन्त्रणमा प्रहरीले ९६ प्रतिशत सफलता हासिल गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराध नियन्त्रणमा सरकार गम्भीर भएर लागेको बताएका हुन् । उनले भने, ‘ केही घटना अपवादका रुपमा रहेका छन् । त्यसलाई टुङ्गोमा पुर्याउन सरकार सक्रिय छ । अपवादलाई आमको रुपमा प्रचार गर्ने र उल्लेख्य सफलतालाई ओझेल पारेर कृतिम परिस्थिति सिर्जना गरेको देख्दा दु:ख लागेको छ ।’ उनले अपराधका घटना न्यूनीकरण गर्न सरकारले देशका विभिन्न ठाउँमा सिसिटिभी राखेको जानकारी दिए ।
उनले निर्मला पन्तलाई न्याय सडकमा पोखिने अमर्यादित वा अराजक भिडले नदिने स्पष्ट पारे । उनले भने, ‘अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरी चेलीहरुलाई न्याय सडकमा पोखिने अमर्यादित वा अराजक भिडले दिने होइन सरकारले दिन्छ । ढुक्क भए हुन्छ हामी त्यो काम पूरा गर्छौं ।’



लाेकपाटी न्यूज

