काठमाडौं, १२ पुस । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले वाइडबडी जहाज खरिदमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गरेका छन् । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझीकन किन प्रतिक्रिया दिएको भन्दै उनले प्रश्न पनि गरे ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महाप्रबन्धक कंशकारले भने, ‘यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । उहाँले नबुझिकन कसरी बोल्नुभयो ?’
दुई वटा वाइडबडी खरिदको लागि पहिलो किस्ता पठाउनुअघि संसदको अन्तर्राष्ट्रिय समितिले मन्त्रीसहित आफूहरुलाई बोलाएको कुरा उल्लेख गर्दै उनले भने, ‘त्यसपछि एकपटक सार्वजनिक लेखा समितिले पनि हामीलाई बोलायो । त्यतिनै बेला अख्तियारबाट १७ वटा प्रश्न राखेर पत्र आएको थियो । त्यसको पनि हामीले सम्पूर्ण जवाफ पठायौं । त्यसपछि हामीलाई तीन वटा निकायबाट यसो नगर, उसो नगर भनेर पत्र पनि आएन । त्यही भएर हामीले खुरुखुरु काम गर्यौं । विमान खरिद प्रक्रियापनि विकास निर्माणको काम हो ।’
कंशाकारले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दाबी गर्दै आफूले पदबाट राजीनामा नगर्ने पनि दाबी गरे । इतिहासमै सबैभन्दा कम मूल्यमा जहाज खरिद गरेको दाबी गर्दै उनले विरोध गर्नेहरुले कुरै नबुझेको बताएका छन् । कंशाकारले प्राविधिक कुरा नबुझी हल्लाको पछि नलाग्न नेताहरुलाई सुझाव दिएका छन् ।
सर्वोच्च अदालतको आदेशभित्र रहेर विमान खरिद गरिएको दावी गर्दै उनले संसदको लेखा समितिले पनि ‘क्लिन–चिट’ दिने विश्वास दिलाए । पत्रकारहरुको जिज्ञासामा कंशाकारले घुमाउरो पारामा विरोध गर्नेहरुको वास्तविकता आफूलाई थाहा भएको भन्दै समय आएपछि भित्री कुरा बाहिरिने संकेत गरे ।



लाेकपाटी न्यूज