बिग बास : तेस्रो खेलमा सन्दीपको २ विकेट

Sandeep Lamichhane
लाेकपाटी न्यूज

काठमाडौं, १२ पुस । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगको तेस्रो खेलमा पनि शानदार बलिङ गरेका छन् । उनले बिहीबार भएको खेलमा दुई विकेट लिएका छन् ।

मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले चार ओभरमा दुई विकेट लिँदै १८ रन खर्चे । उनले सिड्नी सिक्सर्सका मोइसेस हेनरिक्स र टम कुरनलाई पेभेलियनको बाटो देखाए ।

पहिलो ओभरमा ४ रन दिएका उनले दोस्रो ओभरमा पनि ४ रन खर्चँदै १ विकेट हात पारे । उनले हेनरिक्सलाई ९ रनमा एलबिडब्लुको धरापमा पारे ।

त्यस्तै सन्दीपले तेस्रो ओभरमा कुरनलाई २ रन आउट गरे । उक्त ओभरमा उनले ३ रन मात्र खर्चिए । सन्दीपले चौथो ओभरमा ९ रन खर्चे ।

बिग बासमा सन्दीपले तीन खेलमा सात विकेट लिएर आफूलाई उत्कृष्ट साबित गरिसकेका छन् । उनले डेब्यू खेलमा २ विकेट लिएका थिए भने दोस्रो खेलमा ३ विकेट हात पारेका थिए ।