नेकपा यतिबेला विवादको भूमरिमा छ। सिंगो नेकपा र ओली पक्षबिच चलेको लडाइँ अहिले निर्णायक दिशातिर केन्द्रित हुँदैछ। मंसीर ३ गतेको सचिवालय बैठकमा नेकपाका अध्यक्ष प्रचण्डले लेखेको प्रस्तावको जवाफको प्रतीक्षामा नेकपा छ। भोलिबाट सुरु हुने सचिवालय बैठकमा ओलीले प्रस्तुत गर्ने प्रस्तावले नेकपाको भाग्य र भविष्यको फैसला हुनेछ।
अपुष्ट स्रोतका अनुसार ओलीले आफ्नो प्रतिवेदन जनयुद्ध र त्यसका कमाण्डर प्रचण्डविरुद्ध सोझ्याएका छन्। उनले आफ्नो प्रतिवेदनमा जनयुद्धको क्रममा मारिएका १७ हजार नागरिकको जिम्मेवारी प्रचण्डले लिनुपर्ने र प्रचण्ड नसच्चिए उनलाई हेग पुर्याउने चेतावनी दिइएको दावी गरिएको छ। प्रतिवेदनमा जे–जस्ता कुराहरु समेटिएको भए पनि ओलीको प्रस्ताव प्रचण्डको हमलामा केन्द्रित हुने कुरा निश्चित नै छ।
प्रधानमन्त्री ओलीले २०५२ सालदेखि २०६३ सालसम्म सञ्चालन भएको जनयुद्धलाई आतंकवादका रुपमा परिभाषित गरेका छन्, जबकि उनकै नेतृत्वमा २०२८ सालमा सञ्चालित झापा काण्ड व्यक्तिहत्यामा केन्द्रित थियो। तर, अनौठो कुरा के छ भने २०२८ को झापा विद्रोहलाई तत्कालीन माओवादीले क्रान्तिकारी कदम भनेको छ, यता माओवादीको नेतृत्वमा सञ्चालित दश वर्षे जनयुद्धलाई ओली समूह आतंकवाद देख्दछ। हुन त गणतन्त्रको विरोधी भएका कारण पनि ओली समूहलाई यी सबै उपलब्धी खासै मूल्यवान नलाग्नु अनौठो होइन।
२०५२ सालमा माओवादीको नेतृत्वमा जनयुद्ध घोषणा भयो। उक्त जनयुद्ध निरंकुशतन्त्रका विरुद्ध केन्द्रित थियो। विश्वभरि भएका क्रान्ति, युद्ध र आन्दोलनहरु स्वाभावैले हिंसात्मक हुन्छन्। तुलनात्मक रुपमा नेपालमा भएको क्रान्तिमा भएको मानवीय क्षति कम नै मान्नुपर्छ। हिंसाबिना समाजको अग्रगति विश्वको इतिहासमा देखिएको छैन। तर, त्यो क्रान्ति कसका लागि, कुन वर्गका लागि, शासकका लागि कि नागरिकको मुक्तिका लागि ? यो सबैभन्दा महत्वपूर्ण विषय हो। माओवादीको नेतृत्वमा जुन जनयुद्ध भयो, त्यो शासकहरुका विरुद्ध र जनताका पक्षमा थियो। त्यसैले त्यो हिंसात्मक आन्दोलन होइन, महान् क्रान्ति थियो।
जहाँसम्म जनयुद्धको क्रममा १७ हजार मानिसको ज्यान गएको र बेपत्ता भएको कुरा छ। त्यहाँ राज्यको दमन नै मुख्य रुपमा जिम्मेवार छ। २०५१ सालमा तत्कालीन माओवादीमाथि रोमियो अपरेशन सुरु गरियो, जतिबेला माओवादीले जनयुद्धको घोषणा गरेकै थिएन। शान्तिपूर्ण रुपमा जनतालाई आगृत गरिरहेको अवस्थामा निहत्था जनता मार्ने राज्यको कार्यकारी भूमिकामा तिनै मान्छेहरु थिए, जो अहिले सत्ताको केन्द्रमा बसेर जनयुद्धमाथि विषवमन गरिरहेका छन्।
जनयुद्धको क्रममा मारिएका १७ हजारमध्ये अधिकांश नागरिक राज्यको तर्फबाट मारिएका थिए, ती पनि हतियारधारी सेना नभएर आम सर्वसाधारण। यसको नैतिक जिम्मा कसले लिन्छ ? ओली कमरेड, तपाई र तपाईको जस्तै प्रतिगामी सोंच र हर्कतमा उभिने नेताहरुले लिनुपर्दैन ? तपाईकै भाषामा ५ हजार नागरिकको जिम्मा प्रचण्डले लेलान्। के बाँकी १२ हजार नागरिकको जिम्मा तपाई लिनुहुन्छ ? जनयुद्धमा सबैभन्दा प्रतिगामी सोंच र हर्कत निर्वाहमा तपाईको भूमिका मुख्य भएकाले ती घटनामा तपाईको दोष छ भन्न किन नमिल्ने ? के मानवअधिकार शासकहरुको जीवन रक्षाका लागि मात्र हो ? नागरिकको बाँच्न पाउने अधिकार र आधारभूत आवश्यकताको परिपूर्ति मानवअधिकारभित्र पर्दैन ?
ओली कमरेड, नेपालमा जनयुद्ध नभएको भए आज तपाई कहाँ हुनुहुन्थ्यो ? असोज १८ र माघ १९ मा राजा ज्ञानेन्द्रले चालेको निरंकुश कदमपछि तपाईको हालत के थियो ? के ती सबै घटनाक्रम तपाईलाई हेक्का छ ? हुन त तपाई बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्दै गणतन्त्रविरुद्ध विषवमन गर्दै हुनुहुन्थ्यो क्यारे। नेपालमा जनयुद्ध नभएको भए तपाईको गणतन्त्रमाथि रजगज गर्ने हैसियत हुन्थ्यो ? नेपालमा जनयुद्ध नभएको भए यतिबेला तपाई कि त ज्ञानेन्द्रको जेलमा हुनुहुन्थ्यो कि त केशरजंग रायमाझीझैं ज्ञानेन्द्रको जेलमा भन्न किन नमिल्ने ? आखिर इतिहास र वर्तमानका अभिव्यक्ति र घटनाक्रमले तपाई गणतन्त्र र संघीयताको पक्षधर होइन भन्ने कुरा दिनको घामझैं छर्लंग छैन र ? तपाई मात्र होइन, तपाईको गुटका अधिकांश मान्छेहरु प्रचण्ड र जनयुद्धले आर्जेको उपलब्धीमाथि टेकेर गणतन्त्रविरुद्ध डकारिरहनुभएको तथ्य हेक्का राख्नुपर्दैन ?
अन्तिममा, तपाईमाथि प्रचण्डले लगाएका आरोप जनताबाट अनुमोदन भएका विचार हुन्। यी उनका निजी विचार होइन। आम जनताले घरघरमा, टोलटोलमा उठाएका प्रश्नहरुको लिपिवद्ध प्रस्तुति मात्र हो। तपाईको कार्यकालमा भएका भ्रष्टाचारका घटनाले विश्व जगतमै नेपालको शीर निहुरिएको छ, नेपालीको स्वाभिमान गिरेको छ। यी सबै कूकर्मका सच्चाएर अघि बढ्ने कि आफ्नो सर्वनाश निम्त्याउन थप कूकर्म गर्दै जाने ? निर्णय र भविष्य तपाईकै हातमा छ।



लोकपाटी न्यूज

