बोर्डरमा ग्याँस रोकिएको छैन, स्टक राखेर जोखिम नमोलौं

gokul bhandari
लोकपाटी न्यूज

काठमाडौं। रिपोर्टर्स क्लवमा बोल्दै नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्याँसको कुनै समस्या नभएको जिकिर गरेका छन्। तर, अहिले देखिएको समस्या उपभोक्ताहरुले आवश्यकभन्दा बढी स्टकमा राख्नुलाई नै उनले प्रमुख कारण देखाएका छन्। उनले भने, ‘यो समस्या समाधान गर्ने भनेको आपूर्ति नै हो। स्टक गर्ने ट्रेण्ड हटाउनुपर्छ।’

उनले दैनिक एक लाख सिलिण्डर देशभरि खपत हुँदै आएको डाटा सुनाउँदै अहिले त्यतिनै मात्रामा आपूर्ति भइरहेकोले कुनै समस्या नहुने जिकिर गरे। उनले भने, ‘आवश्यकताभन्दा बढी आपूर्ति नगरौं, यसो गर्न सकियो भने अहिलेको समस्या आफैं समाधान हुन्छ।’ उनले भारतबाट समयमै ढुवानी भइरहेको र कुनै असर नपरेको पनि स्पष्ट पारे।

भण्डारीले काठमाडौं उपत्यकामा मात्रै दैनिक ४० देखि ५० हजार सिलिण्डिरको खपत हुने गरेको सुनाए। उनले भने, ‘अहिले ३८ वटा उद्योग (डिलर) ले सेवा दिइरहनुभएको छ।’ उनले कुन डिलरबाट कति ग्याँस वितरण भएको छ ? भन्नेबारे आफूहरुले संस्थाको वेबसाइटमै आधिकारिक रुपमा अपडेट गर्न लागेको पनि सुनाए।

उनले ग्याँसको सामान्य र नियमित खपतमा कुनै समस्या नभएको जिकिर गरे। उनले भने, ‘आवश्यकताभन्दा बढी होल्ड नगरौं, सुरक्षाको दृष्टिकोणले पनि राम्रो होइन।’ उनले नियमित ग्याँस आइरहेकोले नआत्तिन समेत आम उपभोक्तालाई आग्रह गरे। उनले थपे, ‘ग्याँस आपूर्तिका लागि बोर्डरमा समेत कुनै समस्या छैन।’

उनले ग्याँस लुकाउने कुरै नहुने भन्दै गलत गर्नेलाई पनि कारबाही गर्नुपर्ने बताए। उनले भने, ‘हामीले पनि गलत गर्नेलाई कारबाही गर्न सरकारलाई सहयोग पुर्याउँछौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्