काठमाडौं, २० मंसिर। आजदेखि नेपालभर सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ प्रदर्शनमा आएको छ। क्राइम कमेडी जानरामा निर्माण गरिएको यो फिल्म पैसाको पछि लागेका केही युवाहरुको कथा वरिपरि घुमेको छ।
सुनील गुरुङले निर्देशन गरेको फिल्ममा सौगातका अलावा दयाहाङ राई, नम्रता श्रेष्ठ, विजय बराल, भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, अनोल पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा दयाहाङ राई र रामबाबु गुरुङको लगानी रहेको छ। यस्तै फिल्ममा शिवराज श्रेष्ठको छायांकन निमेश श्रेष्ठको सम्पादन तथा निर्देशक गुरुङको स्किृप्ट छ।
कस्तो छ फिल्म?
सौगात मल्ल, अनोज पाण्डे र विजय बराललाई शीर्ष भूमिकामा अभिनय गराइएको फिल्म यिनै तीन पात्रका वरिपरि घुम्छ। पैसा कमाउने चाहनामा एकपछि अर्को समस्यामा फस्दै गएका तीन युवाले कसरी समस्यालाई समाधान गर्दै अगाडि जान्छन् भन्ने फिल्ममा देख्न सकिन्छ।
बुधबार भएको प्रिमियरमा कलाकारले यो फिल्म मन परेको प्रतिक्रिया दिएका थिए। फिल्मको कमेडी पक्षको प्रशंसा गरिएको थियो। फिल्ममा समावेश संवाद आर्कषक भए पनि पटकथामा भने लेखकले कमाल देखाउन सकेका छैनन्।
फिल्मको पाश्र्वध्वनि र कलाकारको अभिनय औसत लाग्छ। फिल्मबाट तीन शीर्ष कलाकार सौगात, अनोज र विजयले गरेको अभिनयको तारिफ गरिएको छ। यद्यपि फिल्मले दर्शकको पूर्ण रुपमा मन जित्न धौ धौ पर्छ। योसँगै आजदेखि अर्को नेपाली चलचित्र ‘माया पिरिम’ पनि रिलिज भएको छ। फिल्मको रिलिजअघि कुनै चर्चा छैन। फिल्ममा कोशिश क्षेत्रीको शीर्ष भूमिका छ।



लाेकपाटी न्यूज

