को-को चढ्दैछन् विद्युतीय कार ?

electicity car
लाेकपाटी न्यूज

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय कार चढ्ने भएका छन्। यसअघि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र ऊर्जामन्त्री वर्षामान पुनले विद्युतीय कार चढिसकेका छन्।

यसअघि प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशब स्थापितलाई बर्खास्त गरेर चर्चामा आएका मुख्यमन्त्री पौडेलले फेरि विद्युतीय कार चढ्ने विषयबाट चर्चामा रहेका हुन्। मुख्यमन्त्री पौडेलले चढ्ने विद्युतीय कार आइतबार हेटौँडा आइपुगेको छ।

प्रदेशम ३ मा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरिसकेको प्रदेश-३ सरकारका मुख्यमन्त्रीले विद्युत्बाट चार्ज गरी सञ्चालन हुने सुविधायुक्त विद्युतीय जीप चढ्ने हेटौँडा ल्याइएको हो। प्रदेश सरकारले २०८५ सालदेखि काठमाडौं उपत्यका, चितवन, हेटौँडा, बनेपा, धुलिखेल र पनौती शहरहरूमा पेट्रोलियम सवारीसाधन पूर्ण प्रतिबन्ध लगाउने नीति तथा कार्यक्रममा घोषणा गरिसकेको छ।

प्रदेश सरकारले सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरिने र यातायात सेवालाई वातावरणमैत्री बनाइने अभियानअन्तर्गत मुख्यमन्त्रीले नै अभियान थालनी गर्न लागेका हुन्। चीनमा उत्पादन गरिएको बीवाईडी जीपको मूल्य ५५ लाख पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ। उक्त जीपको ब्याट्रीमा १० वर्ष वारेन्टी रहेको बताइएको छ। दुई घण्टा चार्ज गर्दा जीप ४०० किलोमिटर गुड्ने उत्पादक कम्पनीले दावी गरेको छ।

चिनियाँ कम्पनीको सो गाडीहरू नेपालमा सूर्या गुड्स सप्लायर्सले बिक्री गर्ने गरेको छ। गाडीहरूको नियमित सञ्चालनका लागि चितवनको मुग्लिन, हेटौँडा, त्रिभुवनराजपथको विभिन्न स्थानका साथै पूर्वपश्चिम राजमार्गमा पनि केही महिनापछि विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न लागिएको छ। पहिलो चरणमा हेटौँडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेशन स्थापना गरिनेछ।

प्रदेश सरकारले विद्युतीय बसहरू पनि सञ्चालनको तयारी गरेको छ। पहिलो चरणमा हेटौँडा–नारायणगढ सञ्चालन हुने त्यस्ता गाडी निकट भविष्यमा रसुवा–हेटौँडालगायत क्षेत्रमा पनि सञ्चालन गरिने सचिवालयले जनाएको छ।

नेपालको वातावारणमा स्वच्छ कायम गरिराख्ने एकमात्र भरपर्दो उपाय विद्युतीय गाडीको प्रवर्द्धन भएकोले सरकारले प्रदेशलाई अब विद्युतीय सवारीसाधनतर्फ डोर्‍याउने मुख्यमन्त्री पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्