‘मेस्सी अर्कै ग्रहबाट आएका हुन्’

messi football
लाेकपाटी न्यूज

एजेन्सी। अर्टुरो भिडालले मेस्सीलाई अर्कै ग्रहबाट आएकाे टिप्पणी गरेका छन्। मेस्सीका समकक्षी भिडालले रियल भालाडोलिडविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कप्तान लियोनेल मेस्सी ‘अर्कै ग्रहबाट आएको’ भनि टिप्पणी गरेका हुन्।

मेस्सीले दुई गोल गर्नुका साथै दुई वटा गोलको अवसर सृजना गर्दा बार्साले भालाडोलिडमाथि क्याम्प नाउमा ५–१ को फराकिलो जीत हासिल गर्यो । मेस्सीले भिडालका लागि गोलको अवसर सृजना गरेपछि हाफ टाइम अघि फ्रिकिकबाट उत्कृष्ट गोल गरे । उनको क्लब र देशका लागि फ्रिकिकबाट ५० औँ गोल थियो ।

मेस्सीले दोस्रो हाफमा अर्को गोल थपे भने त्यसपछि लुइस सुवारेजका लागि गोलको अवसर सृजना गरे । ‘मेस्सीले जहिले पनि आफ्नो उत्कृष्ट प्रदर्शनले खेलमा फरक पार्छन्,’ भिडालले खेलपछि भने, ‘हामी उनलाई हरेक दिन हेर्छौं तर हरेक दिन हामीलाई आश्चर्यचकित बनाइरहेका हुन्छन् । उनी अर्कै ग्रहबाट आएका हुन् ।’

खेलमा बार्सिलोनाले क्लेमेन्ट लेनग्लेटको गोलको मद्दतले दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । तर, लगत्तै किकाले भालाडोलिडलाई खेलमा फर्काएका थिए। त्यसपछि भने मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले गोलको वर्षा गर्यो ।

जीतसँगै बार्सिलोना १० खेलबाट २२ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ ।अर्को खेलमा एथ्लेटिको म्याड्रिड भने आलाभेससँग १–१ को बराबरीमा रोकिएको छ ।