काठमाण्डौं, ५ असोज। नेपाल राष्ट्र बैंकले आउँदो शुक्रबारदेखि दशैंका लागि नयाँ तथा सुकिला नोट साट्दैछ। १७ गतेसम्म राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका कार्यालय र अरु सरकारी बैंकका शाखाबाट नयाँ तथा सुकिला नोट लिन सकिने राष्ट्र बैंकले जनाएको छ।
एक जनाले ५, १०, २०, ५० र १०० दर एक एक पाकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैँयासम्म साट्न मिल्ने राष्ट्र बैंकले जनाएको छ। बर्सेनि नयाँ नोट बजारमा पठाइने भए पनि कम समयमा नै नोट झुत्रा हुन थालेपछि राष्ट्र बैंकले दशैंमा यसको सम्भार गर्न अनुरोध गरेको हो।
यसका लागि दक्षिणा लेनदेन गर्दा रंग तथा अबिर नलगाउँन राष्ट्र बैंकले अनुरोध गरेको छ। नोटमा जथाभावी केरमेट गर्ने, मैलो बनाउने, च्यात्ने, आकार बिगार्नेलगायतका काम गर्नेलाई कारवाही गर्ने पनि राष्ट्र बैंकले जनाएको छ। उनले केटाकेटीहरुलाई पनि नोट जतनबारे जानकारी दिन अनुरोध गरे।
‘पूजाआजा गर्दा पण्डितहरुले नोट पानीमा भिजाउने र रंग लगाउने गरेको धेरै पाइएको छ, अबदेखि त्यसो नगर्नुहोला, दशैंमा धेरै नोट कच्याककुचुक पारेको देखिन्छ, दक्षिणा लेनदेन गर्दा नोट मैलो नपार्न अनुरोध छ’, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने।



लाेकपाटी न्यूज

