नेपाल ओलम्पिक कमिटीको नेतृत्व चुन्न मतदान जारी

Olampik
लाेकपाटी न्यूज

काठमाडौं, २८ भदौ। नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चुन्न मतदान जारी छ। सातदोबाटोस्थित कार्यालयमा पूर्वनिर्धारित समयभन्दा दुई घण्टा ढिलो मतदान सुरु भएको हो।

निर्वाचनको पर्यवेक्षण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिले गरेका छन्। नेपाल ओलम्पिक कमिटीको मतदाता २७ जना छन्।

नेपाल ओलम्पिक कमिटीको नयाँ अध्यक्षका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन्। जीवनराम र उमेशलाल दुवै नेकपा निकट हुन्। महासचिव पदमा उमेशलालको प्यानलबाट पुरेन्द्रविक्रम लाखे र जीवनरामको प्यानलबाट निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिएका छन्।

यो चुनावमा पाँच जना उपाध्यक्षका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा ज्योती राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारी छन्।

त्यस्तै, कोषाध्यक्षमा भने रतनकुमार टण्डनको मात्र उम्मेदवारी परेको छ। उपमहासचिवमा राखेपका उपाध्यक्षसमेत रहेका पिताम्बर तिम्सिनाको मात्र उम्मेदवारी छ। त्यस्तै, तीन सचिव पदका लागि केशवकुमार विष्ट, रामजीबहादुर श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन्।

सात सदस्यका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सदस्य पदमा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी र मनोरञ्जनरमण शर्मा प्रतिस्पर्धामा छन्।