नेता–कार्यकर्ता किन पढ्दैनन् पुस्तक ?

Book-Communist
आखिर नेता–कार्यकर्ता किन पढ्दैनन् त ? त्यसका विविध पाटा छन्। ठ्याक्कै यही कारणले मात्र ‘पढन् संस्कृति’ हराएको हो भन्न सकिने स्थिति छैन। तर, केही कारण अवश्य छन्, जुन कारण कम्युनिष्टहरुलाई वैचारिक रुपमा भुत्ते मात्र बनाएको छैन, व्यवहारिक रुपमा भ्रष्ट पनि बनाउँदै लगिरहेको छ।
लाेकपाटी न्यूज

— मनहरि तिमिल्सिना

कुनै बेला कम्युनिष्ट नेता कार्यकर्तालाई भनिन्थ्यो ‘किताबका किरा।’ उनीहरु झोलाभरि किताब बोक्थे। राजनीतिक बहसमा खरो उत्रने नेता–कार्यकर्ता कुनै पनि विषयमा स–प्रसङ्ग बहस गर्थे। उनीहरु गोल्डेन स्पार्टकसदेखि गोञ्जालोसम्मका पहेली केलाउथे। मार्क्सवादी दर्शन र कम्युनिष्ट सिद्धान्त विश्वकै शक्तिशाली विचार र अकाट्य सत्य नभएकोमा निर्भिकताका साथ प्रस्तुत हुन्थे।

वि.सं. २०१७ पुस १ गते राजा महेन्द्रले फौजी ‘कू’ गरेपछि कांग्रेस र कम्युनिष्ट खेमाका केही नेताहरु समातिए। नेकपाका तात्कालीन महासचिव केशरजङ्ग रायमाझी दरबार पसे, बाँकी नेता–कार्यकर्ता भूमिगत जीवनमा होमिए। करीब ३० वर्ष लामो पञ्चायतविरोधी सङ्घर्षको मूख्य हतियार थियो विचार। विचार तिखार्न नेता–कार्यकर्ता पुस्तक पढ्थे। कांग्रेसमा बिपीको ‘शेखपछि’ पढ्ने संस्कृतिमा पूर्णविराम लागे पनि कम्युनिष्टहरु पलेटी कसेर पढ्थे।

२०१७ देखि २०४६ सम्मको अवधिमा नेपालका विभिन्न कम्युनिष्ट धारामा निकै पेचिलो वैचारिक बहस हुन्थ्यो। सन् १९७६ मा चीनमा माओत्सेतुङको मृत्यु भएपछि सांस्कृतिक क्रान्ति ढल्यो, देङ स्याओपिङ सत्तामा आए। नेपालका कम्युनिष्टहरु २ ध्रुवमा बाँडिए, चीनको परिघटना क्रान्ति हो कि प्रतिक्रान्ति ? तात्कालीन माले खेमाका नेताहरुले उक्त परिघटनालाई क्रान्तिकै निरन्तरता ठाने। अनि, चौंथो महाधिवेशन धाराले प्रतिक्रान्ति। क्रान्ति र प्रतिक्रान्ति ठान्ने दुवै पक्ष कम्युनिष्ट आन्दोलनका केस्रा–केस्रा केलाउँथे र बहस गर्थे।

२०४६ को जनआन्दोलनतिर एकथरि कम्युनिष्ट सत्ता साझेदारीतिर लागे, अर्कोतिर संसदको रणनीति उपयोग। सत्ता साझेदारीतिर लागेका कम्युनिष्टहरुले पढ्न काम आफ्नो होइन भन्ठाने। संसदको उपयोग गर्नेहरु अन्ततः सशस्त्र सङ्घर्षमा होमिए। सत्ता साझेदारीमा रहेर पनि केही नेताले ‘पढन् कर्म’ भुलेनन्, त्यसमध्ये पर्न आउँछन् घनश्याम भुसाल, वेदराम भुसाल, प्रदीप ज्ञवाली लगायतका नेताहरु। यता जनयुद्धमा होमिएका नेताहरु त तालिका बनाएरै पढ्थे। प्रचण्ड, मोहन वैद्य, डा. बाबुराम भट्टराई, सिपी गजुरेल, देव गुरुङ, हेमन्तप्रकाश ओली, शक्ति बस्नेतहरु किताबका किरा थिए। सबैजसो भूमिगत नेता–कार्यकर्ता अध्ययनका लागि समय निकाल्थे।

सशस्त्र सङ्घर्षमा भौतिक रुपमा नलागे पनि मोहनविक्रम सिंह, नारायणकाजी श्रेष्ठहरु आफ्नो वैचारिक धारालाई तिखार्न भुलेनन्। सबैभन्दा वैचारिक अध्ययनका पारखी थिए मसालका नेता–कार्यकर्ता। उनीहरु कम्युनिष्ट सिद्धान्त, इतिहास, दर्शन, भू–राजनीति र अर्थतन्त्रका केस्रा केलाएर अध्ययन गर्थे। त्यसो त कम्युनिष्ट आन्दोलनका प्रायः नेता मोहनविक्रमलाई राजनीतिक गुरु ठान्छन्। ‘एमबि’को प्रेरणाले धेरै नेताहरुले आफ्नै वैचारिक धरातल सुधारे पनि।

माओवादी शान्ति प्रक्रियामा आएपछि बजारमा मार्क्सवादी पुस्तकको बाढी नै आयो। कतिले वैचारिक–राजनीतिक त कतिले अनुभूतिजन्य पुस्तक पनि लेखे। नेता–कार्यकर्ता मार्क्सवादी पुस्तक किन्न बागबजार र भोटाहिटीका गल्ली–गल्ली चहार्थे। घरखर्च जोगाएर पुस्तक किन्थे र पढ्थे। अधिकांश नेता–कार्यकर्ताको डेरामा सानो दराज हुन्थ्यो, सानोतिनो लाइब्रेरी सबैको सौख हुन्थ्यो। यो हुटहुटी सेनापति प्रकरण विवादपछिको ६ दिने आम हड्तालसम्म खासै घटेन। त्यसपछि ह्वात्तै ओरालो लाग्यो।

जतिबेला आमूल परिवर्तनको एजेण्डा उभारमा थियो, नेता–कार्यकर्ताको ‘वैचारिक प्यास’ पनि उत्कर्षमै थियो। तर, जब राजनीतिमा शिथिलता आयो, विचार तिखार्ने हुटहुटी बोकेका नेता–कार्यकर्ता पनि सुस्ताए। आजभोलि नेता–कार्यकर्ता पत्रिका पढ्छन्, अनलाइनका समाचार पढ्छन्। तर, लेख, विचार र दृष्टिकोणसँग सम्बन्धित सामग्री निकै कमले मात्र पढ्छन्। पढ्ने अधिकांशले शीर्षक पढ्छन् र लेखको अद्योपान्त वोध गरेको भ्रम पालेर दौडिन्छन्। ‘भल्गर’ समाचार र लेखहरु अत्यधिक पढिन्छन्, शेयर पनि हुन्छन्। तर, वैचारिक र वौद्धिक सामग्री एकदमै कम। पढिहाले पनि सरसर्ती पढ्छन्, गहिरिएर पढ्ने बानी छैन।

कुनै बेला पुस्तक पसल खोल्न प्रतिस्पर्धा गर्ने व्यापारीहरु किताब नबिकेर पूर्पुरो समाउँदैछन्। उनीहरु भन्छन्, ‘नेता–कार्यकर्ता पढ्दै पढ्दैनन्, खै कसरी हुन्छ वैचारिक विकास ?’ हिजो नेताले गर्ने निर्णयहरु खासै आलोचनाको शिकार बन्दैनथे, आज प्रत्येकजसो निर्णय आलोचित हुन्छन्। त्यसको गुदी कुरो हो, ‘जसले अध्ययन गर्छ, त्यसले भोलि हेर्छ, जसले पढ्दैछ, त्यसले आज मात्र हेर्छ। आज हेरेर निर्णय गर्दा भोलि देख्नेहरु झस्किन्छन्। राजनीतिलाई रणनीतिसँग जोड्न नसक्दा त्यसले चाहेजस्तो प्रतिफल दिन पनि सक्दैन। आज यही भइरहेछ।

युवा पुस्ता भन्छ, ‘नेपालका नेताहरुसँग वौद्धिकता र ज्ञान नै छैन।’ तर, भयावह रोग त युवा पुस्तामा छ। युवा पुस्ता औपचारिक कोर्सका किताब पढ्छ। तर, स्वअध्ययन पटक्कै गर्दैन। उसलाई आफ्नो कोर्सका किताबबाहेक बाहिरी ज्ञान थाहा छैन। अनि, उनीहरु सिद्धान्तका आधारमा होइन, घटनाका आधारमा विश्लेषण गर्छन्। अहिलेको युवा पुस्ता शीर्ष तहको राजनीतिक जिम्मेवारीमा पुग्दा वैचारिक शून्यताको स्थिति आउने खतरा कम्ति शक्तिशाली छैन।

आखिर नेता–कार्यकर्ता किन पढ्दैनन् त ? त्यसका विविध पाटा छन्। ठ्याक्कै यही कारणले मात्र ‘पढन् संस्कृति’ हराएको हो भन्न सकिने स्थिति छैन। तर, केही कारण अवश्य छन्, जुन कारण कम्युनिष्टहरुलाई वैचारिक रुपमा भुत्ते मात्र बनाएको छैन, व्यवहारिक रुपमा भ्रष्ट पनि बनाउँदै लगिरहेको छ।

पहिलो, सशस्त्र वा शान्तिपूर्ण सङ्घर्षका बेला राजनीतिक दलको लक्ष्य जति धारिलो हुन्छ, सत्ता साझेदारीपछि त्यो भुत्ते बन्दै गएका दृष्टान्त विश्व इतिहासमा प्रशस्तै छन्। जतिबेलासम्म लक्ष्य धारिलो हुन्छ, नेता–कार्यकर्ता वैचारिक मार्गदर्शनलाई मूख्य अस्त्र ठान्छन्, त्यसैमा शक्ति देख्छन्। जतिबेला व्यक्तिवाद प्रधान बन्छ, वर्गको होइन, आफ्नै भविष्यको चिन्ताले सताउन थाल्छ, त्यतिबेला विचार वा सिद्धान्तको बहस तपसीलमा राखिन्छ, नेपालका कम्युनिष्टहरुले पनि त्यही नियति भोगिरहेका छन्।

दोस्रो, एकथरि नेता–कार्यकर्ता विचारको गुरुत्व बुझ्दैनन्, सैद्धान्तिक झमेलामा फस्नुभन्दा खुरुखुरु काम गर्नु सजिलो ठान्छन्। सजिलो बाटो हुँदाहुँदै विचार वा सिद्धान्तको जोखिम किन मोल्नु ? उनीहरु दैनिक जीवन व्यवहारमा अल्झिन्छन्। तर, विचारले व्यवहारिक जटिलताको गाँठो फुकाइदिन्छ भन्ने तथ्य मर्लक्कै भुलिदिन्छन्। यिनीहरु पढ्नै परे पनि दिनदिनैका समाचारका हेडिङ पढ्छन् र जीवनमा काम चलाउँछन्।

तेस्रो, नेताहरुको कथनी र करनीमा आनकोतान फरक पर्दा कार्यकर्ता सिद्धान्त आफ्ना लागि होइन, अरुका लागि रहेछ भन्ठान्छन्। सिद्धान्त र व्यवहारको तालमेल बिग्रेपछि सिद्धान्तको मूल्यवोध पनि कम हुन्छ। सर्वहारा संस्कृति, कम्युनिष्ट नैतिकता र आचरण कार्यकर्ता जति छिटो पढ्न सक्छ, सिद्धान्त त्यति छिटो सक्दैन। नेताहरुका गतिविधिले पनि कार्यकर्तालाई सिद्धान्त र राजनीतिशास्त्रमा होइन, आफ्नै औपचारिक कोर्स मात्र पढ्न अभिप्रेरित गराउँछ। अहिले हालत त्यस्तै छ।

चौंथो, नेकपाभित्र पार्टी स्कूल विभागको नेतृत्वका लागि हानथाप छ। तर, यो हानथान सिद्धान्तप्रतिको मोहका कारण पक्कै होइन। बरु, गुटीय राजनीतिमा स्कूलको सिरानी हाल्न सकिने सम्भावना र भयका कारण हो। विवादको चुरो मार्क्सवादी सिद्धान्तको आधारभूत कुरा पढाउनेसित होइन, आफ्ना आग्रह पढाउन सकिने बलियो ‘प्लेटफर्म’का रुपमा स्कूल विभाग खडा भएको छ। पार्टीभित्र नियमित स्कूलको काम नहुनु र भइहाले आग्रहपूर्ण अध्यापन गराउने प्रवृत्तिले पनि पढन् संस्कृति थला पर्दैछ।

पाँचौं, पढन् संस्कृतिका लागि समयको व्यवस्थापनले पनि कतिपय नेताहरुका लागि काम गरेको देखिन्छ। दैनिकजसो राजनीतिक भेटघाट र झमेलामा फसिरहँदा न अध्ययनको समय मिल्छ, न मोह र आकर्षण नै। पढ्न बस्यो, फ्याट्टै फोन आउँछ, उठायो ध्यान बिकेन्द्रित हुन्छ। धेरैजसो नेता–कार्यकर्ताको दैनिक बिवरणमा पढ्ने–लेख्ने स्याडुल भेटिँदैन। उनीहरु पढ्नु पनि काम हो भन्ठान्दैनन्। समय निकाल्न खोजे पनि समय व्यवस्थापनको कौशल राख्दैनन्। पढ्न चाहने तर व्यस्त जिम्मेवारीका केही नेतामा यो कारणले पनि काम गरेको हुनुपर्छ।

छैटौं, औपचारिक शिक्षाप्रतिको भ्रम पनि यसका लागि काफी हदसम्म जिम्मेवार छ। प्रायःले फ्याट्ट सोध्छन्, ‘कति पढ्नुभएको छ ?’ स्वअध्ययन गर्छु भन्ने उत्तर न तार्किक लाग्छ, न प्राकृतिक। अनि धेरैलाई लाग्छ, सबैतिर औपचारिक ‘डिग्रीको भ्यालु’ भएपछि अनौपचारिक किन पढ्नु ?’ तर, उनीहरुले भुल्दछन् कि एउटा अध्ययनशील व्यक्तिले औपचारिक डिग्रीमा १५–१७ वर्षमा हासिल गरेको ज्ञान स्वअध्ययनमा १–२ वर्षमै गर्न सकिन्छ। औपचारिक डिग्री पढ्नेले कोर्सका सय किताब पढ्छ, अनि स्वअध्ययन गर्नेले जीवनउपयोगी हजारौं किताब।

कम्युनिष्ट होस् वा प्रजातान्त्रिक खेमाको राजनीतिज्ञ। राजनीति गर्नेसँग राज्यका नीति निर्माणको कौशल हुनुपर्छ, त्यसका लागि अध्ययन र ज्ञान चाहिन्छ। कतिपय ज्ञान व्यवहारबाट नै हासिल गर्न सकिन्छ। व्यवहारबाट हासिल हुने ज्ञान किताबी ज्ञानभन्दा वैज्ञानिक र भरपर्दो पनि हुन्छ। तर, सिद्धान्तमा प्रष्टता जति छ, व्यवहारमा हासिल हुने परिणाम पनि त्यत्तिकै उच्च स्तरको हुन्छ। सिद्धान्त र व्यवहारलाई एक–अर्काविरुद्ध उभ्याएर होइन, परिपूरक बनाएर कुशल नेतृत्व निर्माण हुन सक्छ।

पेरुको क्रान्तिले धक्का खाएपछि विश्वभरि क्रान्तिको कार्यदिशामा अभाव खड्किएको छ। नेपालको क्रान्ति र शान्तिप्रक्रियाले विश्वसामू नयाँ सन्देश दिए पनि आम कार्यदिशाका रुपमा विकास भएको छैन। उत्तरआधुनिकतावादी दर्शन र उदारवादी अर्थतन्त्रले खडा गरेका प्रश्नहरुको जवाफका लागि समाजवादको नयाँ मोडल जरुरी छ। अबको समाजवाद कस्तो, विशेषता के–के, सङ्घर्षको स्वरुप कस्तो ? यी विषय कम्युनिष्टहरुका त्यत्तिकै पेचिला छन्।

स्कूल विभागमा विवाद भइरहँदा त्यसले के नेता–कार्यकर्तामा अध्ययनप्रति भोक जगाउँला ? के नेता–कार्यकर्ता दारु खाने पैसा घटाएर किताब किन्न छुट्याउलान् ? फेरि बागबजार र भोटाहिटीका पुस्तक पसलमा ग्राहकको भीड लाग्ला ? एक–अर्कालाई गाली गर्ने समय अध्ययनका लागि खर्चेलान् ? आजका कम्युनिष्टहरुका लागि यो पनि एउटा अग्निपरीक्षा नै हुन सक्छ।

यो पनि पढ्नुहोस्

असल कम्युनिष्ट कसरी बन्ने ? (१० प्रमूख गुण)

महाथिर मोहम्मद : आधुनिक मलेसियाका निर्माता (जीवनी)

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्