मनहरि तिमिल्सिना/काठमाडौं। वर्गविहीन समाजको परिकल्पना गर्ने कम्युनिष्टहरुको मुल दर्शन हो, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद। यस सिद्धान्तले व्यक्ति, समाज र घटनाक्रमहरुलाई ऐतिहासिक तथ्यका आधारमा द्वन्द्ववादी तरीकाले विश्लेषण गर्न अभिप्रेरित गराउँछ। पदार्थको अस्तित्वलाई प्राथमिक मान्ने यो दर्शन विश्वभरिका अरबौं जनताको मुक्ति-दर्शनका रुपमा स्थापित छ।
मार्क्सवाद गतिशील विज्ञान हो। विज्ञान हुनुका नाताले यसको पनि समसापेक्ष विकास हुँदै जान्छ। वर्गसंघर्ष, उत्पादन संघर्ष र वैज्ञानिक प्रयोगका क्रममा यसले नयाँ-नयाँ तथ्यहरुको अन्वेषण र संश्लेषण गर्दछ। तर, विज्ञानले आविस्कार गरेका सबै प्रगतिलाई स्वीकार्ने मार्क्सवादी/साम्यवादीका मूख्य गुण कस्ता हुनुपर्दछ ? यसबारे अन्तिम संश्लेषण निकै कठिन कुरा हो।
असल कम्युनिष्ट कसरी बन्ने ? असल कम्युनिष्टका खास गुणहरु के-के हुन् ? यसबारे कार्लमार्क्सदेखि एंगेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ, चे-ग्वेभारा लगायत विश्वका थुप्रै क्रान्तिकारी कम्युनिष्ट नेताहरुले प्रशस्तै बहस चलाएका छन्। उनीहरु सबैको संश्लेषण छ, सामाजिक विकासको क्रममा हाम्रा सिद्धान्तको आयाम, नेताहरुको सोच्ने तरीका र संस्कारमा पनि परिवर्तन आउँदै जान्छ, यो सामाजिक विज्ञानको नियम हो।
असल कम्युनिष्ट कसरी बन्ने ? यसबारे चिनियाँ कम्युनिष्ट नेता ल्यू-साओचिले एउटा पुस्तक नै लेखेका छन्। सन् १९३१ मा जापानले चीनमाथि आक्रमण गर्यो। त्यसपछि जापानी सेना र च्याङकाइसेकको कोमिन्ताङ सेना मिलेर चिनियाँ कम्युनिष्ट पार्टीविरुद्ध भीषण दमन अभियान लगाइयो। सन् १९३४ मा माओत्सेतुङले ‘लम्बे अभियान’ चलाए। उक्त अभियान भाग्दाभाग्दै आधार इलाका बनाउने माओको रणनीतिक सोंचमा आधारित थियो।
‘लम्बे अभियान चिनियाँ राजनीतिक क्रान्तिको इतिहासमा अत्यन्तै चुनौतिपूर्ण अभियान थियो। उक्त अभियानमा कम्युनिष्ट पार्टीभित्र भागाभागको स्थिति चल्यो। त्यही प्रतिकूल परिस्थितिमा ल्यू-साओचिले कार्यकर्तालाई क्रान्तिप्रति जीवन देख्न अपील गर्दै उक्त पुस्तक लेखेका हुन्। उक्त पुस्तकमा असल कम्युनिष्टका गुणहरुबारे गहन चर्चा गरिएको छ। पुस्तकमा चर्चा गरिएका मुल गुणहरु यस प्रकार छन्।
दृढ आत्म विकास गर : बाँच्नका लागि मानिसले प्रकृतिका विरुद्ध संघर्ष गर्नुपर्छ। भौतिक मूल्य उत्पादन गर्न प्रकृतिलाई प्रयोग गर्नुपर्छ। प्रकृतिका विरुद्ध चलाएको लामो सङ्घर्षमा मानिसहरु आफैं, सामाजिक सम्बन्ध, सामाजिक संगठनका रुप र उनीहरुको चेतना पनि फेरिन्छ। सामाजिक जीवन र परिवेशले मानिसको चेतना निश्चित गर्दछ, विचारधाराले भिन्न वर्गीय स्थिति र वर्गहितको प्रतिनिधित्व गर्दछ।
हामी कम्युनिष्टहरु आधुनिक इतिहासका सबैभन्दा अग्रगामी क्रान्तिकारीहरु हौं। आज समाज र विश्वलाई फेर्ने अभिभारा हामीमा छ र हामी परिवर्तनको प्रेरक शक्ति हौं। प्रतिक्रान्तिकारीका विरुद्ध अथक संघर्ष गरेर नै हामी कम्युनिष्टहरु समाज र विश्वलाई फेर्दछौं र साथै स्वयंलाई फेर्दछौं। एउटा कम्युनिष्ट क्रान्तिकारी संघर्षबाट खारिन्छ र परिपक्व बन्दै जान्छ। तसर्थ, कम्युनिष्टहरुमा दृढ आत्म विकास गर्नुपर्दछ।
मार्क्स-लेनिनका योग्य चेला बन : एक जना असल कम्युनिष्ट बन्नु भनेको मार्क्स-लेनिनका शिक्षाहरु ग्रहण गर्नु हो। मन लगाएर मार्क्सवाद-लेनिनवादको अध्ययन गर्नुपर्छ। कार्ल मार्क्स एक जना क्रान्तिवादी दार्शनिक थिए। उनको जीवनबाट सिक्नु भनेको सर्वहारा वर्गको हित, सर्वहारा वर्गको सत्ता र वर्गविहीन समाजका लागि सिक्नु हो, क्रान्ति र मानव मुक्तिका लागि सिक्नु हो। स्टालिनले भनेका छन्, ‘हाम्रा गुरु, हाम्रा नेता लेनिनलाई सम्झ, माया गर र अध्ययन गर।’
मार्क्सवाद-लेनिनवाद पढ्नु भनेको शब्दमा रमाउनु होइन। सतही रुपमा पढ्ने कुरा होइन। हाम्रा अधिकांश कामरेडहरु मार्क्सवाद-लेनिनवाद त पढ्छन्। तर, त्यसका निष्कर्षहरुमा अल्मलिन्छन्, वास्तविक जीवनमा आइपर्ने समस्यामा समाधान दिन सक्दैनन्। मार्क्सवाद-लेनिनवादको अध्ययन गर्नुको अर्थ क्रान्तिको बाटो पकड्नु र संघर्षका लागि प्रेरित हुनु हो। क्रान्तिकारी सिद्धान्तलाई क्रान्तिकारी व्यवहारमा रुपान्तरण गर्नु हो। त्यसले समाजलाई मात्र फेर्दैन, स्वयं कम्युनिष्ट क्रान्तिकारीलाई पनि रुपान्तरण गर्दछ।
जनतासँग क्रान्तिकारी व्यवहार गर : चेङ्चीले भनेका थिए, ‘म दिनमा तीनपटक आफूमाथि विचार गर्छु।’ त्यसबखत उनले आफ्नै आत्मपरीक्षा गरिरहेका हुन्थे। जसलाई प्रगति गर्नुछ, उसले कठिन परिश्रम र एकदम तीव्र रुपमा आत्म विकास गर्न आवश्यक छ। हामी क्रान्तिकारी हौं, हाम्रो आत्म विकास आम जनताको क्रान्तिकारी व्यवहारबाट अलग्गाउन सकिँदैन। मार्क्सवाद-लेनिनवादको सर्वव्यापी सत्यलाई क्रान्तिको ठोस व्यवहारमा यथार्थ रुपमा प्रयोग गर्नुपर्छ।
पार्टी, जनता र क्रान्तिको विजयका लागि नै हामी सिद्धान्तको अध्ययन गर्छौं। माओत्सेतुङ भन्छन्, ‘मार्क्सवाद-लेनिनवादको महान् शक्ति नै सबै देशको ठोस क्रान्तिकारी व्यवहारसित यो एकाकार हुनुमा छ। चिनियाँ कम्युनिष्ट पार्टीको काम सिद्धान्तलाई चीनको विशेष परिस्थितिमा प्रयोग गर्न सिक्नु हो। चीनका विशेषता र जनतासँगको सम्बन्धलाई ध्यानमा नराखी मार्क्सवादको कुरा गर्छन् भने त्यो अमूर्त मार्क्सवाद, खोक्रो मार्क्सवादसिवाय अरु केही होइन। तसर्थ, सिद्धान्तलाई जनतासँग, परिस्थितिसँग र व्यवहारसँग जोड्नुपर्दछ।’
सिद्धान्तको अध्ययन र आत्म विकासबीच एकता गर : हामी कम्युनिष्टहरुले विचारधारात्मक आत्म विकासबाट सैद्धान्तिक अध्ययनलाई छुट्याउनु हुँदैन। हामीले केवल क्रान्तिकारी व्यवहार मात्र होइन, मार्क्सवाद-लेनिनवादको अध्ययनमा पनि आफूलाई समर्पित गर्नुपर्छ। सर्वहारावर्गीय विचारलाई मन्थन गर्नुपर्छ। तर, सिद्धान्तमा चोखो भएपछि क्रान्तिकारी व्यवहार चाहिँदैन भन्ने सोच पनि गलत हुन्छ। हामीले कामदार वर्गबाट आएका कति राम्रा-राम्रा पार्टी सदस्यहरु देखेका छौं, जसलाई मार्क्सवाद-लेनिनवादको पक्का ज्ञान छैन। तर, सिद्धान्तप्रति गहिरो चाख राख्छन् र त्यसलाई व्यवहारमा ढाल्न कोशिस गर्छन्।
मार्क्सवाद-लेनिनवाद सर्वहारावर्गीय क्रान्तिको विज्ञान हो, जुन विज्ञानद्वारा कामदार वर्गले समाजवाद र साम्यवादको निर्माण गर्दछ। त्यो व्यक्तिले मात्र यसलाई छिचोलेर बुझ्न सक्छ, जसले यसमाथि पूरा अख्तियार गर्न सक्छ, जसको दृढ सर्वहारावर्गीय अडान छ, जसले सर्वहारा वर्गको आदर्शलाई आफ्नै आदर्श बनाएको छ। जो सच्चा क्रान्तिकारी छैन, हृदयदेखि नै सर्वहारावर्गीय क्रान्तिकारी होइन, त्यसले मानव जातिको मुक्ति संघर्षमा विजय हासिल गर्न सक्दैन।
साम्यवादको लक्ष्यप्रति दृढ बन : वर्ग संघर्ष विचारधाराबीचको संघर्ष हो, यसले समाजमा भएको वर्ग संघर्षलाई प्रतिविम्बित गर्दछ। साम्यवादी विश्व दृष्टिकोणले गैरसाम्यवादी विश्व दृष्टिकोणमाथि विजय हासिल गर्नुपर्छ। व्यक्तिवादमाथि विजय हासिल गर्नुपर्छ र यसको उन्मूलन गर्नुपर्दछ। स-सना जीत हारबाट तरंगित हुने व्यक्तिले व्यक्तिवादमाथि विजय हासिल गर्न सक्दैन, कुनै पनि कम्युनिष्टका निम्ति यस्तो हुनु डरलाग्दो र खतरनाक कुरा हो।
कम्युनिष्ट पार्टीका सदस्यको मुल कर्तव्य के हो ? साम्यवाद प्राप्त गर्नु हो। साम्यवादी विश्व मात्र त्यस्तो विश्व हो, जसले शोषण व्यवस्थाबाट उब्जने अन्धकार, अज्ञानता, पछौटेपन अन्त्य गर्नेछ। समाजमा भौतिक मूल्य र नैतिक मूल्यबीच मिलन हुनेछ। त्यसभित्र सबै मानिसका खाँचाहरु पूरा हुन्छन्। त्यसबखत सारा मानव जाति निस्वार्थ, वुद्धिमान, अत्यन्त सुसंस्कार र शील्पयुक्त कम्युनिष्ट कामदार हुनेछन्, मानिसहरुबीच पारस्पारिक सहयोग र स्नेह हुनेछ। त्यसबेला पारस्पारिक शंका, धोका, पारस्पारिक हानी नोक्सानी, पारस्पारिक हत्या र युद्धजस्ता अनुचति व्यवहार हुने छैनन्। यो निश्चय नै मानव इतिहासमा सबैभन्दा राम्रो, सबैभन्दा सुन्दर र सबैभन्दा विकसित समाज हुनेछ।
व्यक्तिका हित पार्टीको अधिनमा राख : साम्यवादी पार्टी सर्वहारा वर्गको पार्टी हो, सर्वहारा वर्गको मुक्तिबाहेक यसको अर्को कुनै उद्देश्य छैन। सर्वहारा वर्गको मुक्ति नै सम्पूर्ण मानव जातिको मुक्तिको पूर्वशर्त हो। माओत्सेतुङ भन्छन्, ‘कहिल्यै पनि र कुनै पनि हालतमा साम्यवादीले आफ्ना व्यक्तिगत हितलाई प्राथमिकता दिनु हुँदैन, उसले तिनलाई राष्ट्र र आम जनताका हितहरुको अधिनमा राख्नुपर्छ। सारा शक्तिले काम गर्नु, सार्वजनिक जीवनमा दिलोज्यानले लाग्नु र खुब परिश्रमी बन्नु साम्यवादीको विशेषता हो।
एउटा कम्युनिष्टमा पहिला उसको उच्च साम्यवादी नैतिकता हुन्छ। दृढ सर्वहारावर्गीय अडान हुुनुपर्छ, आफूलाई उत्पीडितहरुको ठाउँमा राखेर हेर्न सक्ने हुनुपर्छ। ऊ अरुको मर्म बुझ्नसक्ने, कामदार वर्गप्रति सद्भाव र प्रेम दर्साउन सक्ने, खुल्ला दिलले उनीहरुलाई सघाउन सक्ने हुनुपर्छ। ऊ मानव जातिका सम्पूर्ण शत्रुहरुसँग डटेर मुकाबिला गर्न र मुक्ति सङ्घर्षमा आफूलाई अविचलित राख्न सक्ने हुनुपर्छ। समग्रमा एउटा साम्यवादी व्यक्तिवादका विरुद्ध उभिनसक्ने हुनुपर्छ।
पार्टीभित्रका गलत विचारधाराका विरुद्ध लड : हाम्रो पार्टीभित्र केही गलत विचारहरु छन्, ती विचारले साम्यवादी लक्ष्यको सेवा गर्दैनन्। धेरैले साम्यवाद ल्याउने भनेर, सर्वहारा वर्ग र मानव जातिको मुक्तिका लागि भनेर महान् संघर्ष गर्दछन्। तर, केही कामरेडहरु छन्, जसले साम्यवादको लक्ष्यको कुरा गरे पनि काममा त्यसो गर्दैनन्। जस्तो कि किसान पृष्ठभूमिका केही कामरेडहरु साम्यवाद भनेको स्थानीय किसानलाई नङ्गाउनु र जमिनको बाँडफाँड गर्नु हो भनेर सोच्छन्। अर्काथरि चाहिँ चिनियाँ कम्युनिष्ट पार्टी शक्तिशाली भएकाले हाम्रो पछाडि लागेका छन्। उनीहरु अस्पष्ट विचार बोकेर हाम्रो पार्टीमा मिसिएका छन्।
कतिपय चाहिँ अन्य कुनै उपाय नदेखेर कम्युनिष्ट पार्टीमा लागेका छन्, कामबाट निकालिएर, अध्ययन गर्ने साधन नपाएर, कुनै निश्चित पेसा नभएर, पारिवारिक बोझ खप्न नसकेर, करकापमा बिहे गर्नु परेकाले पनि कम्युनिष्ट पार्टीमा आएका छन्, थोरै त्यस्ता व्यक्ति पनि आउँछन्, जो आफ्नो कर घटाउन पार्टीको सहारा खोज्छन्। यस्ता थुप्रै गलत विचारहरु पनि पार्टीमा भित्रिएका छन्। त्यसैगरि पार्टीभित्र गुटवादी, विभागवादी, पृथकतावादी, फुटपरस्त विचार पनि भित्रिएका छन्, दुस्साहसवादी, महात्वाकांक्षी विचार पनि त्यत्तिकै छन्, यी सबैका विरुद्ध लडेर साम्यवादी लक्ष्यमा हिड्नु कम्युनिष्टको उच्च दायित्व हो।
पार्टीभित्र गलत विचारधाराको स्रोत : कम्युनिष्ट पार्टी उन्नत विचार बोकेका क्रान्तिकारीहरुको सर्वोत्तम पार्टी हो। तर, कम्युनिष्ट पार्टीमा पनि केही काला दागहरु छन्। हाम्रो पार्टीसँग जनताको अटुट सम्बन्ध हुन्छ, हामीसँग भेटघाट गर्न सहानुभूति राख्नेहरु आउँछन्, हाम्रो मूख ताक्ने तरुनी, तन्देरीहरु र अरु मानिसहरु अध्ययन गर्न पार्टीमा आउँछन्। उनीहरु आउँदा सबै असल र प्रगतिशील कुराहरु मात्र लिएर आउँदैनन्, आफ्नो घरमा, परिवारमा, समाजमा भएका विचार र संस्कार पनि बोकेर ल्याउँछन्।
कतिपय मान्छेले कम्युनिष्टहरुलाई एकदमै असल र आदर्शवादीका रुपमा मात्र सोच्छन्। उनीहरु ठान्छन्, ‘साम्यवादीहरु भएभरका न्यायोचित पक्षको कुरा लिन्छन्, साम्यवादी सबैभन्दा असल मानिस हुन्। यस्तो पार्टीमा खराब र घिनलाग्दा मानिस किन राखेका ?’ पार्टीमा लाग्नुअघि समाजका जुन घिनलाग्दा मानिससँग उनीहरु वाक्क थिए, पार्टीमा पनि त्यस्तै मानिसहरु देखेपछि उनीहरु टोलाउँछन् र निरास हुन्छन्। उनीहरु ठान्दैनन् कि कम्युनिष्ट पार्टीमा पनि गलत विचार हुन्छन् र तिनीहरु विरुद्ध लडिरहनुपर्छ।
अन्तरपार्टी संघर्षमा क्रान्तिकारी पक्षधरता : पार्टीभित्रको अन्तरसंघर्षलाई पनि गतिशील रुपमा हेर्नुपर्छ। तर, कतिपयले यसलाई गतिहीन रुपमा हेर्छन्। पार्टीभित्र बहस र फरक मत हुनु ठूलो कुरा होइन। त्यस्तो संघर्ष सधै रहन्छ। तर, मुल कुरा त्यसको समाधान कसरी गर्ने ? कस्तो पद्दति अवलम्बन गर्ने, विकृति र गैरसाम्यवादी कुरा कसरी हटाउने ? त्यसमा जोड दिनुपर्छ। अन्तर संघर्षको विधि नै त्यस्तो विधि हो, जसले गैरसाम्यवादी विचार र चिन्तनलाई पराजित गर्न शक्ति प्रदान गर्दछ।
विकासको आवश्यकता र वस्तुगत नियमअनुसार नै कम्युनिष्ट पार्टीमा समस्याहरु आउँछन्। तिनको समाधान यान्त्रिक र मनोगत तरिकाले सम्भव हुँदैन। अन्तरसंघर्षमा वामपन्थी अवसरवाद पनि निकै खतरनाक हुन्छ, त्यसले सधैं फाइदा उठाउने कोशिस गर्छ। उनीहरुले यान्त्रिक र उत्ताउलो तरिकाले संघर्ष चर्काउँछन्, जानीबुझी पार्टीमा विवाद सिर्जना गर्छन् र नेतृत्वको पक्षमा उभिएर आफू क्रान्तिकारी बन्न कोशिस गर्छन्। एउटा साम्यवादीले यी सबै अतिवादका विरुद्ध संघर्ष गर्न सक्नुपर्छ।
गलत विचार कस्ता हुन्छन्, लड्ने कसरी ? : सबैभन्दा पहिले पार्टीमा आएका विभिन्न विचारहरुको पृष्ठभूमि, संगति, परिस्थिति र पक्षधरता बुझ्नुपर्दछ। त्यसका आधारमा सही र गलतको फैसला गर्न सक्नुपर्दछ। पार्टीमा एकाग्रताको भावना विकसित गर्नुपर्दछ, गलत विचारधारासँग सम्झौता गर्नु हुँदैन। अन्तरसंघर्षमा उदार नबन। तर, यान्त्रिक र उग्र प्रवृत्ति नलेउ। सिद्धान्तको विषयमा राम्रो वैचारिक समझदारी राखेर संघर्ष गर।
सुधार्न सकिने कमरेडहरुलाई सच्चाउने कोशिस गर्नुपर्छ, सबै सम्बन्ध र संघर्षहरु रुपान्तरणमा आधारित हुनुपर्छ। आलोचना गर, मन्थन गर र नयाँ साँचोमा ढाल। तर, संघर्षको नशा सेवन नगर। अन्तरपार्टी संघर्षलाई प्रतिष्ठाको विषय बनाउनु हुँदैन। तर, सुधार्न नसकिने कमरेडहरुलाई पार्टीबाट निश्कासनसम्म गर्न तयार रहनुपर्दछ। एउटा कम्युनिष्टले पार्टीभित्र सधैं मार्क्सवादी-लेनिनवादी प्रवृत्ति लिनुपर्छ। ध्वंशात्मक र उग्र उदारवादी प्रवृत्तिबाट मुक्त भएर संघर्ष गर भन्ने पद्दतिलाई आत्मसात गर्नुपर्दछ।



लाेकपाटी न्यूज

