छौंडाहरु (कविता)

लाेकपाटी न्यूज

– सञ्जीव पाैडेल

समृद्धिको चकमन्न उज्यालो
बाँडिरहेको सरकारलाई
गौंडा गौंडा कुरेर
सेतो अवरोध गरिरहेछन् छौंडाहरू ।

छौंडाहरूको कुनै आकार हुँदैन
छौंडाहरूको कुनै आयतन हुँदैन
अदृश्य छन् छौंडाहरू
सडकमा सुरक्षा घेरा तोड्छन्
माइतीघरमा बुलन्द आवाज उराल्छन्
सुटुक्क सदनमा छिरेर
रोस्टम घेर्छन्
गैरकानूनी विधेयक बन्न दिँदैनन्
छौंडाहरू
नाथे रैतीका अधिकार खोज्दै
बजेटको असारे भेलविरुद्ध बोल्छन्, छौंडाहरू
शासकसँग पौंठाजोरी खेल्छन्, छौंडाहरू
बन्दुकका नालसँग दुश्मनी मोल्छन्, छौंडाहरू

यिनलाई सत्ताको तातो पन्युँले
नडामी भएको छैन
भत्ताको खकारले
नथुकी भएको छैन
शक्तिको उन्मत्त लात्तले
नगोदी भएको छैन
टेबुलमुनि घुस्ने लामाहातले
नचड्काई भएको छैन
यिनलाई ब्रिफकेस बाँधेको डोराले
कोर्रा नबसाई भएको छैन ।

प्रभूको महायज्ञ बिथोल्छन्
सोमरस पिउँदा सर्को पारिदिन्छन्
समवेदनालाई बधाई बनाइदिन्छन्
मन्त्रीको अङ्ग्रेजी भकभके तुल्याइदिन्छन्
सवारीमा आकाशसमेत जाम गराउँछन् छौंडाहरू
सडकमा खाल्डा पार्छन्
मुखमा कोर्को लगाउँछन् छौंडाहरू
निलिसकेको बालुवाटार डकार्न लगाउँछन् छौंडाहरू

यतिका वर्ष नआएको मेलम्ची किन चाहियो
भूकम्पले भत्काएका घर आज किन बन्नुपर्‍यो
दक्षिणपन्थी ढुङ्गेधाराबाट किन पानी चुहिनुपर्‍यो
पुरातनवादी पोखरी किन उधिन्नुपर्‍यो
आजसम्म नपाएको रोजगारी किन पाउनुपर्‍यो
आजसम्म खाइराखेको विष खान किन छोड्नुपर्‍यो ?

तरकारी र फलफूलसँग मन्द विष खाएर
हावाको महलमा मस्त
घ्वारघ्वार सपनामा
रेल र पानीजहाज चढ्ने गरी
सुते हुन्न ?
यी छौंडालाई किन ब्युँझनु पर्‍यो
किन सुसूचित हुनु पर्‍यो
अँध्यारोमै मन लाग्दी डुले हुन्न
छौंडालाई किन चाहियो उज्यालो ?
छौंडालाई किन चाहियो विकास ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्