लोक सेवाको विज्ञापनमा नेकपाको विरोध

Loksewa Aayog
लाेकपाटी न्यूज

जनकपुरधाम, १८ जेठ । लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी हालै निकालेको विज्ञापनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ ले पनि विरोध जनाएको छ।

विज्ञापनको विरोध गर्दै प्रदेश नं. २ का मुख्यमन्त्रीले यसको कानूनी उपचार खोज्ने बताएलगत्तै प्रदेशका प्रमूख प्रतिपक्षी नेकपाले पनि लोकसेवा विज्ञापनको बिरोध जनाएको हो।लोकसेवा आयोगले संविधानको मर्म र भावना विपरीत विज्ञापन निकालेकाले यसलाई कुनै पनि हालतमा नमान्ने नेकपाले जनाएको छ।

नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साहले विज्ञप्ती जारी गर्दै जनताको लामो संघर्ष, त्याग र बलिदानीको प्रतिफलको रुपमा प्राप्त समानुपातिक समावेशी प्रतिनिधित्वको अधिकारलाई संविधानमै ग्यारेन्टी गरी निजामती ऐन मार्फत विगत कयौं बर्षदेखि व्यबहारिक अभ्यास समेत गर्दै आइरहेको सन्दर्भमा हालै निकालेको विज्ञापन त्यसको विपरित रहेको जनाएका छन्।

यो विज्ञापनले नेपालको संविधान २०७२ को धारा ३८ को ४, ४० को १, ४२ को १ र धारा २८५ ले प्रत्याभूत गरेको महिला, दलित, मधेशी, थारु, जनजाती, मुश्लिम, पिछडावर्ग समेतलाई राज्यको निकायहरुमा समानुपातिक समावेशी हुन पाउने मौलिक हकमा आघात पुगेको साहले उल्लेख गरेका छन्।

नयाँ संविधान एवं मजबुत सरकार मार्फत देश स्थायित्वतर्फ अगाडि बढिरहँदा देशको महत्वपूर्ण संवैधानिक निकायले परिवर्तनलाई उल्टाउने र द्वन्द्व बढाउने काम गरेको जनाउँदै विज्ञप्तीमा भनिएको छ, ‘आयोगले एकमुष्ठ रुपमा निकालेको विज्ञापनलाई कर्मचारी समायोजन ऐन अनुसार प्रत्येक स्थानीय तहको छुट्टाछुट्टै रुपमा मान्न सकिदैन्। यदि कर्मचारी समायोजन ऐन अनुसार विज्ञापन गर्ने हो भने प्रत्येक प्रदेशलाई एक इकाइ मानेर समानुपातिक समावेशी संख्या निर्धारण गर्न सकिन्थ्यो।’

तर, आयोगले समाजको आवश्यता र सन्दर्भलाई बिर्सेर गलत मनसाय राखी संविधान र कानून विपरित कार्य गरेको जनाउँदै विज्ञप्तीमा यो विज्ञापनलाई तुरन्त रोकी संविधान र कानून अनुसार सच्याउन माग गरिएको छ। संघीय लोक सेवा आयोगले गत बुधबार स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारीको भर्ना आह्वान गरेको थियो। स्थानीय तहहरुको आग्रहमा कर्मचारीहरुको विज्ञापन गरेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्