दिनेश लिम्बु
अहिले पूर्व नेकपा (एमाले) र पूर्व नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ। यी दुई फरक पृष्ठभूमिबाट आएकाले संगठनात्मक एकता भए पनि पूर्णतः आत्मिक एकता भइसकेको छैन। यो स्वाभाविक पनि हो। आत्मिक एकता त विचारधारात्मक एकताले निर्धारण गर्ने भावना हो।
नेकपाले आफ्नो दस्तावेजमा मार्गदर्शक सिद्वान्तको रूपमा मार्क्सवाद–लेनिनवाद मान्ने र माओवादलाई बहसको प्रक्रियामा लैजाने भनेर थाँती राखेको छ। अध्यक्ष प्रचण्डले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रले अवलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद ‘जबज’ र जनयुद्वका उपलब्धिलाई संस्थागत गरेर नयाँ विचार संश्लेषण गर्नुपर्छ भनेर महान बहसका लागि अपील गरेका छन्। यद्यपि बहस नयाँ शिराबाट भन्दा पनि पूरानै विचार र पद्वतिबाट थालनी हुँदैछ। संसदीय व्यवस्थाको मातृभूमि बेलायतमा पढेर आएका शेरबहादुर देउवाले बढी संसदीय व्यवस्था बुझ्छ कि बेलायत जाँदै नगएकाले बढी बुझ्छ भनेर कांग्रसको महासमितिमा चर्को बहस चल्छ। ठ्याक्कै त्यस्तै बहस नेकपाभित्र सुरू भएको छ।
‘जबज’ नै निर्विकल्प मार्क्सवाद हो, योभन्दा अरू के चाहियो, यति भए पुग्छ भनेर बलमिचाइँ बहस गरिँदै छ। यस प्रकारको पाखुरा सुर्के बहसले मार्क्सवाद अध्ययन गर्ने मजस्ता लाखौं विधार्थीलाई ‘अण्डरस्टिमेड’ गरिरहेको छ। के साँच्चै नै ‘जबज’ ‘मार्क्सवादसम्मत’ छ त ? कि आफ्ना कुराहरू पनि छन् ? आउनुस्, यसमाथि अलिकति बहस गरौं।
१) जबजको दार्शनिक पृष्ठभूमिः
भारतीय जैन दर्शनको अनेकान्तवाद बहुतत्वमिमांसा अन्तर्गत पर्दछ। यसले विश्व जगत अलौकिक र इहलौकिकहरू मिलेर बनेको छ भन्छ। यस कारण जैन आदर्शवादी बहुलवादी दर्शन अन्तर्गत पर्दछ। पश्चिमाको कुरा गर्दा जर्मन दार्शनिक लाइब्निजको ‘चितगुणवाद’ले संसार धेरै तत्वहरू मिलेर बनेको छ भन्ने दृष्टिकोण अगाडि ल्यायो। यस दृष्टिकोणलाई युरो कम्युनिज्मले आफ्नो बहुलवादी दर्शन र सिद्वान्तको रूपमा विकास गर्यो। नेपालको सन्दर्भमा युरो कम्युनिज्मलाई पिबी कैरालाले प्रजातान्त्रिक समाजवादको आवरणले छोपेर नेपाल भित्र्याएका हुन्।
वि.सं. २०४६ सालको संसदीय जनआन्दोलनपछि क. मदन भण्डारीले युरो कम्युनिजमको बहुलवादी दर्शन र सिद्वान्तलाई जनताको बहुदलीय जनवादको रूपमा व्याख्या गरे। यस दार्शनिक तथ्यले पनि बहुलवादी दर्शन जबजको आफ्नै कुरा होइन, माक्र्सवाद संगत पनि छैन। यसो भनिरहँदा मलाई जड्सुत्रवादी पनि भन्न सकिन्छ। तर, मेरो तर्क यूरोपको कोदो जीन एडपटेशन गरी नेपाली विशेषतामा फलाउँदा पनि तोरी भएर त फल्दैन होला ? उन्नत गुणमा कोदो नै फल्छ। यसर्थ पनि ठोकेर भन्न सकिन्छ, बहुलवादी दर्शन मार्क्सवादको सिर्जनात्मक विकास होइन।
२) राजनीतिक पृष्ठभूमिः
मजदुर, किसान, देशभक्त र उत्पीडितहरूले आफ्नो वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माण गर्नका लागि वर्ग सङ्घर्ष होइन, वर्ग समन्वय गर्नुपर्छ। शान्तिपूर्ण संसदीय पूँजीवादमा क्रमिक सुधार गर्दै समाजवादमा पुग्न सकिन्छ भन्ने संशोधनवादी राजनीतिक प्रणालीको जन्मदाता बर्नस्टिन र काउत्स्की हुन्। यी दुईको अन्तिम उद्देश्य भनेको समाजवादी आन्दोलनबाट मार्क्सवादलाई जरैबाट उखेल्नु रहेको छ। संविधानको सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरणको सिद्वान्त, मानव अधिकार र प्रेस आजादीजस्ता मूल्यहरू पूँजीवादी राजनीतिका उपजहरू हुन्।
बर्नस्टिन तथा कार्ल काउत्स्कीपन्थ तथा पूँजीवादी राजनीतिका अवयवहरू फ्युजन गरी कम्युनिस्टको आवरण दिएर क. मदन भण्डारीले जबज भनेर व्याख्या गरे। यस कारण पनि जबजले व्याख्या गरेको बहुदलीय जनताको जनवादी कार्यक्रम मूलतः कम्युनिस्टको आवरणभित्र घुसेको पूँजीवादी संसदीय व्यवस्था हो, जनताको बहुदलीय जनवाद नेपालको मौलिक उत्पादन नभएर विश्व राजनीतिकै एक संस्करण मात्र हो।
३) आर्थिक पृष्ठभूमिः
किन्सको ‘जनरल थ्योरी’ वा मिश्रित अर्थनीतिलाई क. मदन भण्डारीले जनताको बहुदलीय जनवादी आर्थनीतिको रूपमा व्याख्या गरे। खासमा किन्सको मिश्रित अर्थशास्त्र मार्क्सवादले व्याख्या गरेको पूँजीवादी संकटको सिद्वान्त, लेनिनको साम्राज्यवादको व्याख्या सही भएको र यस संकटबाट पूँजीवादलाई बचाउनका लागि विकास गरेको वैकल्पिक सिद्वान्त थियो। मार्क्सवादी अर्थशास्त्र लेनिनले प्रयोग गरेपछि पूँजीवादलाई सहवरणको नैतिक दवाव पर्न गयो। त्यो कुरा किन्सले छिटो बुझे र सामाजवादले अभ्यास गरेका राम्रा कामलाई चोरेर पूँजीवादमा समायोजन गरेजस्तै नेपालमा पनि बेरोजगारी भत्ता, कर्मचारीलाई पेन्सन, सेवानिवृत्त र समाजिक सुरक्षाका कार्यक्रम आदि अघि सारियो।
यति भएपछि उत्पादक शक्तिको पुनःक्रयशक्ति बढ्न गयो, पुनःक्रयशक्ति बढेपछि पुनःमाग बढ्यो। पुनःमाग बढेपछि पुनरूत्पादनले उधूम गति लियो। पुनरूत्पादन बढेपछि, पुनःपूँजी सञ्चय बढ्यो र पूँजीवाद फेरि पुनर्जीवित भएर नयाँ साम्राज्यवादमा पुग्यो। यसरी नै सन् १९३० देखि महासंकटमा फसेको पूँजीवादलाई सन् १९८० को दशकसम्म आइपुग्दा किन्सले संकटपूर्ण पूँजीवादलाई नयाँ रक्त सञ्चार भरेर बचाए भनिन्छ।
पूँजीवादको गतिशीलताको नियम यसरी नै चलिरहन्छ, जसरी बुढो रूखलाई मानिसले नढाल्दासम्म बाँचिरहन्छ। त्यसैले पूँजीवादको जीवन र मृत्युको मुख्य कारण पनि उत्पादक शक्ति नै हुन्छ। उत्पादक शक्ति मजदुर, किसान र प्रगतिशीलहरू संगठित भएर पूँजीवादको चिहान नखनेसम्म वैज्ञानिक समाजवाद आउँदैन भन्ने नै मार्क्सवादी अर्थशास्त्रको अन्तिम निष्कर्ष हो।
४) निष्कर्षः
विश्व कम्युनिस्ट आन्दोलनले प्रतिकूल अवस्था झेलिरहेको समयमा मार्क्सवाद–लेनिनवादको रक्षा पूँजीवादी आवरणभित्र लुकाएर पनि गर्न सकिन्छ भन्ने पवित्र मनसायबाट जबजको उत्पत्ति भएको देखिन्छ। मदन भण्डारीका त्यतिबेला भाषण र वैचारिक मन्तव्यले त्यही छनक दिन्छ। मदन भण्डारी बाँचेका भए जबजको रणनीतिक कार्यदिशा कसरी तय गर्थे ? संविधानभन्दा माथि रहेका राजा श्रीपेच फुकालेर मदन भण्डारीसँग चुनावी प्रतिस्पर्धा गर्न पक्कै आउने थिएनन्। राजाको वैधानिक नायकत्व अन्तर्गतको शान्तिपूर्ण संसदीय प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेको नेपाली कांग्रेसको दुई तिहाईको सरकारलाई राजाले लात हानेको इतिहासबाट उनी पक्कै पनि अनविज्ञ थिएनन्।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ भन्थे, ‘हिंसाको मुकाविला शान्तिले, षडयन्त्रको मुक्काविला सोझोपनले र धाँधलीको मुकाविला सज्जनताले हुँदैन।’ यो भनाइबाट नेपाली जनवादी क्रान्तिको बाटो क. पुष्पलालले भनेको र पूर्वमाओवादीले अवलम्बन गरेको जनयुद्वको रणनीतिक फौजी कार्यदिशा नै सही भएको पुष्टि हुन्छ। क. मदन भण्डारीको रहस्यमय मृत्यु भएपछि ‘जबज’ प्रयोग नभएको एउटा अमूर्त राजनीतिक धारणा भएको छ। मार्क्सवादी विज्ञानमा एउटा कर्ता नेतृत्व र कर्म परिस्थिति हुन्छ। नेतृत्वको सही भूमिकाले कर्मलाई परिमाण दिन्छ र त्यही परिणामले सबै कुराको प्रक्षेपण गर्न सकिन्छ। जबजको दर्शन, राजनीति र अर्थनीति प्रक्षेपण हुन बाँकी रहेकाले सिद्वान्तको रूपमा विकास भएको कुनै तथ्यले पनि पुष्टि हुँदैन।
जबजले उच्चतम् लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवाद भनेको छ। तर, वर्गविहीन समाज सम्भव छैन पनि भन्छ। यदी मार्क्सवादले भनेको जस्तै वैज्ञानिक समाजवाद र साम्यवाद नै उच्चतम् लक्ष्य हो भने सर्वहारा अधिनायकत्व स्वीकार्नुपर्छ। होइन भने साम्यवादको नयाँ परिभाषा दिन सक्नुपर्छ। जबजको यो विरोधाभासलाई परिमार्जनसहित नयाँ विचारको संश्लेषण नगरी न्यायपूर्ण समाज निर्माणको दिशा प्रक्षेपण गर्न सकिँदैन।



लाेकपाटी न्यूज

