काठमाडौं। राजधानीमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार तेश्रो जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ४–० गोल अन्तरले पराजित गर्दै कोशी लगातार जित दर्ता गर्न सफल भएको हो।
जितसँगै ९ अंकका साथ कोशी तालिकाको शीर्ष स्थानमा कायमै छ। कोशीलाई जित दिलाउन पुर्णिमा राइले खेलको ३४ र ७१ औं मिनेटमा गोल गरेकी थिइन्। त्यस्तै समिक्षा मगरले खेलको ६६ औं मिनेट र प्रतिक्षा राईले ७४ मिनेटमा कोशीका लागि १–१ गोल गरेकी थिइन्।
कोशीले पहिलो खेलमा वालिङ नगरपालिकालाई ४–० र बागमती युथ क्लबलाई २–१ ले पराजित गरेको थियो। कर्णालीले भने पहिलो खेलमा चन्द्रपुर नगरपालिकासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा वालिङ नगरपालिकासँग ४-० को फराकिलो हार व्यहोरेको थियो। लिगमा कणालीको १ अंक रहेको छ। अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।



लोकपाटी न्यूज

