काठमाडौं। कर कानुनमा एकरूपता कायम गर्नुपर्नेमा जोड दिइएको छ। नेपाल ट्याक्सपेयर्स सोसाइटीद्वारा आयोजित ‘करदाताका समस्या र सम्भावित समाधान’ विषयक अन्तरक्रियामा सहभागी वक्ताहरूले कर कानुनमा एकरूपता नहुँदा करदाता अप्ठ्यारोमा पर्ने गरेको बताएका छन्।
कर विज्ञ उमेशराज पाण्डेयले कर कानुन तथा विभागको सिस्टममा एकरूपता नहुँदा कानुनमा भएका कतिपय सुविधाबाट करदाता बन्चित रहेको बताए। उनले कर कार्यालयमा बिचौलियामार्फत करदाताले सेवा लिएको हुँदा करदाताले दुख पाएको बताए। हल्लाका पछि करदाता लागेको हुँदा आन्तरिक राजश्व विभागले वित्तीय साक्षरता कार्यक्रममा जोड दिनुपर्ने उनको धारणा छ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका कर तथा राजस्व समिति प्रमुख तथा अब्बल व्यवसायी अम्बिका प्रसाद पौडेलले कर प्रशासनमा दरबन्दीमार्फत कर तथा लेखा विज्ञको रुपमा रहेका चार्टर्ड एकाउन्टेन्टलाई प्रयोग गर्न सक्दा समग्र राज्यलाई कर कानुनमा एकरूपता ल्याउन तथा राजश्व वृद्धिमा अहम् टेवा पुग्ने धारणा राखे। अधिवक्ता सृजना अधिकारीले प्यानलीष्टको रुपमा कर कानुनमा देखिएका दुबिधा, कर कानुनका अस्पष्टता तथा कर शिक्षा आदिका कारणले करदाताले राजश्व न्याधिकरण तथा अदालतमा विचाराधीन मुद्दामा खेप्नुपरेको अप्ठ्यारो विषय राखिन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष अरुण राउतले राज्यले करबाट मात्र नभई गैरकरबाट समेत राज्यलाई संवृद्ध गर्न सक्ने कुरामा जोड दिँदै सरकारले सूक्ष्म ढंगले त्यता पट्टी पनि अनुसन्धान गर्नुपर्ने बताए। नेपालमा युवा जनशक्ति धेरै नै रहेको परिपेक्षमा राज्यले त्यसको लाभ लिनुपर्ने उनको भनाइ थियो। अडानका प्रथम उपाध्यक्ष डा. डोल प्रसाद दाहालले समग्र कर प्रशासनले सूचना प्रविधिमा आधारित कर प्रशासनमा जोड दिन साथै कर कानुनमा हरेक वर्ष गरिने फेरबदलले करदातालाई निकै अप्ठ्यारो बनाएकाले त्यसमा एकरूपता ल्याउन जोड दिए।
आन्तरिक राजश्व विभागका महानिर्देशक तिवारीले कर प्रशासन आवधिक योजना सहित सुधारोन्मुख रहेको बताए। उनले करिब ७० प्रतिशत करदाता डे०१ तथा डे०२ विवरण भर्ने रहेको परिपेक्षमा वार्षिक जम्मा २ प्रतिशत करदाताको मात्र बजार अनुगमन तथा फुल अडित गर्न सकेको बताए। मुल्य अभिवृद्धि कर फिर्ता बजेटरी सिस्टम भन्दा बाहिरबाट नै व्यवस्था गरिएको हुँदा सहज भएता पनि आयकर बजेटरी सिस्टम मार्फत नै गर्नुपर्ने व्यवस्थाले भुक्तानीमा ढिलाइ भएकाले र यसमा आवश्यक सुधार गर्ने उनले बताए। विभागले बिस्तारै फेसलेस अडित गर्नेगरी आवश्यक तयारीसमेत गरेको हुँदा चाडै नै करदातालाई प्रविधिमैत्री सेवा प्रवाह हुने विश्वास व्यक्त गरे।
नेपाल ट्याक्सपेयर्स सोसाइटीका अध्यक्ष टिका कार्कीको अध्यक्षता भएको कार्यक्रममा सोसाइटी कर पात्रो समेत विमोचन गरिएको थियो। अध्यक्ष कार्कीले सोसाइटिले करदाताको पक्षमा बहस पैरवी गर्ने, कर साक्षरता सञ्चालन गर्दै राज्यलाई खबरदारी गर्नुपर्ने खबरदारी गरिरहने प्रतिबद्धता जनाए। उनले कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन राज्यलाई कर कानुनमा सुझाव पेश गर्दै जाने धारणा राखे। कार्यक्रममा जिल्ला सहकारी संघ, अडान, एक्यान, रेबन, उद्योग वाणिज्य संघ लगायत विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्ति तथा प्रतिनिधि गरी करिब १०० जनाको उपस्थिति थियो। सोसाइटीले करदाताका पक्षमा बहस पैरवी गर्ने, करदाता साक्षरता कार्यक्रम गर्ने साथै कर कानुनका विषयमा राज्यलाई खबरदारी गर्दै आएको छ।



लोकपाटी न्यूज