दिल्ली र हैदरावाद भिड्दै, दिल्लीले गर्‍यो सन्दीपको प्रसंशा

Team-Sandeep
लाेकपाटी न्यूज

काठमाडौं, २५ वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादविरुद्धको खेल हुँदैछ।

आन्द्रा प्रदेशस्थित विसाखापटनम रंगशालामा हुने खेलमा पराजित टोली आईपीएलको १२ औं संस्करणबाट बाहिरिने छ। यस्तै, विजयी टोलीले मे १० मा दोस्रो क्वालिफायर प्रवेश गरेको चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।
समूह चरणमा एक खेल दिल्ली र एक खेल हैदरावादले जीतेका छन्।

तर, ७ वर्षपछि पहिलो पटक इलिमिनेटरमा स्थान बनाएको दिल्ली हैदरावादको आईपीएल यात्रामा बिराम लगाउने लक्ष्यसहित मैदान उत्रिर्दै छ भने हैदरावाद पाहुना टोली दिल्लीलाई रोक्ने लक्ष्यमा छ। समान अंकसहित समूह चरणमा नेट रन रेटका आधारमा तेस्रो र चौथो स्थानमा रहेको दुवैै टोली जीत निकाल्दै दोस्रो क्वालिफायरमा चेन्नईविरुद्ध खेल्ने योजनामा छन्।

इलिमिनेटर खेल नेपाली लेग स्पिनर सन्दीप लामिछानेका नेपाली प्रसंशकका लागि पनि महत्वपूर्ण छ। नेपाली स्टार खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्ली धेरै समयपछि प्लेअफमा पुग्दा त्यसको साँची बनेका सन्दीपले इलिमिनेटरमा स्थान पाउने सम्भावना कम छ। तर, पनि मंगलबार दिल्लीले सामाजिक सञ्जालमा उनको तस्विर राख्दै उनको प्रसंशा गरेपछि केही हदसम्म उनका प्रसंशकहरुमा खुसी देखिएको छ।

यसअघि पनि दिल्लीले आफ्नो टिममा पर्ने खेलाडीहरुको प्राय सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गर्दै प्रसंशकलाई उनीहरुको मूल्याङ्कन गराउँदै आएको छ। सन्दीपले अहिलेसम्म यो सिजनमा ६ खेल खेल्दै ८ विकेट लिएका छन्। जसमा उनले २३ ओभर बलिङ गर्दै २सय१० रन खर्चिएका छन्।

यद्यपी दिल्लीले हैदरावादविरुद्ध अनुभवी खेलाडी अमित मिश्रलाई विश्राम दिएर अथवा अक्जर पटेललाई आराम दिएर उनलाई मैदान उतार्न पनि सक्छ। १२ खेल खेलेका पटेलले ९ विकेट लिएका छन् भने मिश्राले ९ खेलमा समान ९ विकेट नै लिएका छन्। खेलमा तर, पछिल्ला केही दिनको अभ्यास खेलमा राम्रो सुधार भएको अवस्थामा पनि दिल्लीले प्लेइङ–११ मा स्थान दिन सक्छ।