नेपाल–चीन पारवहन सम्झौतामा हस्ताक्षर हुँदै, के छ सम्झौतामा ?

bidya-si-china visit
लाेकपाटी न्यूज

काठमाडौं, १६ वैशाख । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीनबीचको पारवहन तथा यातायात सम्झौतामा आज हस्ताक्षर गर्ने भएकी छन्। उनले हस्ताक्षर गरेसँगै उक्त पारवहन सम्झौता आजदेखि औपचारिक कार्यान्वयनमा आउने भएको छ।

सन् २०१६ मा सम्पन्न पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुई मुलूकका राष्ट्र प्रमूखको उपस्थितिमा आज हस्ताक्षर हुन लागेको हो। प्रोटोकलमा हस्ताक्षरपछि नेपालको पहुँच उत्तरतर्फको समुद्रसम्म हुनेछ। यसले दुईपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास चीनको छ भने नेपाल एकपक्षीय निर्भरताबाट मुक्त हुनेछ।

नेपालले भारतको भूमिबाट मात्र तेस्रो मुलूकसँग सामुद्रिक बन्दरगाहबाट व्यापार गर्दै आएको छ। यद्यपि, नेपालको चीनतर्फ जोड्ने सडक अझै सबल छैन। तर, समस्या पर्दा वा केरुङसम्म रेल आएको खण्डमा सहज पहुँच देखिन्छ। भारतको बन्दरगाहबाट काठमाडौं ल्याउन समय लाग्ने हुँदा सिगात्सेसम्म रेल र त्यहाँबाट केरुङ वा तातोपानी गाडीमा ल्याउने विकल्प पनि खुला हुनेछ।

यसबाहेक द्विपक्षीय वार्तामा पारस्परिक महत्त्वका साथै नेपालको चौतर्फी विकासका पक्षमा थप सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन्। बेल्ट एन्ड रोड इनिसियटिभभित्र रहेका केही परियोजनालाई दुई पक्षीय रूपमा सहकार्य गर्न पनि त्यो प्रकारको सहमति गर्न लागिएको मन्त्री ज्ञवालीले बताए। चोरी–निकासी नियन्त्रण, गुणस्तर कायम गर्ने, सूचना आदानप्रदान, सीमा भन्सार व्यवस्थित गर्नेजस्ता विषयमा केही सहमति र छलफल हुनेछ।

गणतन्त्र स्थापनाको दशकपछि नेपाली राष्ट्रपतिको राजकीय चीन भ्रमणको अवसरमा चिनियाँ राष्ट्राध्यक्षसँग द्विपक्षीय औपचारिक वार्ताले यो अवसरलाई झन् बलियो बनाएको छ। भेटवार्ताबाट नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बलियो बनाउने आशा लिएको छ। चीनसँगको सम्बन्धमा नयाँपन आउने विश्वास पनि उत्तिकै छ। पुरानो सम्बन्धलाई नवयुगसँगै नवीकरण गरिने धारणा परराष्ट्रमन्त्री ज्ञवालीको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको यो राजकीय भ्रमणको मूख्य उद्देश्य द्विपक्षीय वार्ताका साथै बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता र सम्बोधन पनि हो। सम्मेलनको समापनसँगै ३८ बुँदे संयुक्त वक्तव्य जारी गरिएको थियो। वक्तव्यको एनेक्सको २३ औं बुँदामा नेपालसँग सहकार्य हुने उल्लेख छ।

बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भइसकेको छ। नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव चीनले स्वीकार गर्दै परियोजनामा सूचीबद्ध गरेको हो। ‘यो नेपालका लागि ठूलो उपलब्धि पनि हो। हिमालय वारपार र रेल सञ्जालसम्बन्धी नेपालको प्रस्ताव बीआरआईले स्वीकार गरेपछि नै यो भ्रमण सफलताको मानक मान्न सकिन्छ’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘द्विपक्षीय औपचारिक वार्ताले नेपाल(चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास गर्ने ठाउँ दिएको छ।’

गोलमेच सम्मेलनका क्रममै चिनियाँ राष्ट्राध्यक्ष सीले नेपालले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली अभियान’ चीनको सदैव साथ रहने र विकासको सहयात्रामा चीन साथ दिन तयार रहेको समेत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्