काठमाडौं, ८ वैशाख । मोरङको जहदा गाउँपालिका–१ बस्ने २८ वर्षीय दिनेश राजभरलाई अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले सोही गाउँपालिकास्थित धुनिमोड चोकमा उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित नेपाल भारत सिमाना दशगजा नजिकबाट अवैध रुपमा बिक्री वितरणको लागि लैजाँदै गरेको करिव ८ लाख रुपैयाँ मूल्य बराबरको मरिचसहित सुनसरी छिटाहाका २८ बर्षीय सुन्दर सुतिहारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सखडा, सप्तरीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको को.१ च ९०३९ नम्वरको पिकअप भ्यानलाई जाँच गर्दा भ्यानभित्र २५ किलोको १ सय बोरा मरिच फेला पारी सवारी साधनसहित चालक सुन्दरलाई पक्राउ गरेको हो ।
पक्राउ सुन्दरसहित बरामद गरिएको उक्त परिमाणको मरिच र मरिच बोक्न प्रयोग गरिएको सवारी साधनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सप्तरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यस्तै मोरङमा छिमेकीलाई कुटपिट गरेको अभियोगमा कटहरी गाउँपालिका–१ बस्ने ४० वर्षीय मनोज भुजेल र ४० वर्षीय प्रकाश भुजेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिकास्थित सिंघिया पुल नजिक सामान्य विवादको कारण उनीहरुले सोही स्थान बस्ने ६० वर्षीय भुपाल कार्की र ३० वर्षीय रामबहादुर तामाङलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका दुवैजनालाई उपचारको लागि स्थानीय मेडिकल लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

