नेपाल यूएईसँग एक रनले पराजित

cricket news
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, ३० चैत । आइसिसी विश्वकप छनोटको दोस्रो खेलमा नेपाल यूएईसँग एक रनले पराजित भएको छ।

नेपालले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको यूएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोड्दा वर्षाले खेल रोकिएको थियो। वर्षा नरोकिएपछि डीएल म्याथडका आधारमा खेलको निर्णय लिदा नेपाल एक रनले पराजित बन्न पुग्यो ।

खेलपछि नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ। दुई खेलमा एकमा हार र एकमा जितसहित नेपालको २ अंक छ । दुई खेलमा कुवेत लगातार दुई जितसहित ४ अंकका साथ शीर्षमा छ भने समान ४ अंक भएपनि रनरेटमा पछि पर्दै यूएई दोस्रो स्थानमा छ।

६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि योग्य हुनेछ। पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।लक्ष्य पछ्याउने क्रममा यूएईका भित्रिया अरविन्दले ४७ तथा अंश टन्डनले ५४ रन जोडेका थिए। नेपालका कमलसिंह ऐेरी र सागर ढकालले १-१ विकेट लिएका थिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४७ रन बनायो। नेपालका लागि हरिबहादुर चौहानले ६७ तथा भीम सार्कीले ५३ रनको अर्धशतकीय पारी खेले। ७४ बलको सामना गरेका हरिले ७ चौका प्रहार गरे भने ५४ बल खेलेका भीमले ४ चौका र २ छक्का प्रहार गरे।