जापान कामदार पठाउन सरकार अनलाइन छलफल गर्दै

japan
लाेकपाटी न्यूज

काठमाडौं, २५ चैत्र। नेपाली कामदार जापान पठाउने सम्बन्धमा नेपालले जापानका ४ मन्त्रालयसँग अनलाइन छलफल (भिडियो कन्फरेन्स) गर्ने तयारी गरेको छ।

अन्तिम निर्णयका लागि नेपाली श्रमिक जापान पठाउने सम्बन्धमा दुई देशबीच सहयोग समझदारी (एमओसी) लाई कार्यान्वयनको चरणमा लैजान छलफल हुन लागेको हो। छलफलको मिति तय नभए पनि नेपाल र जापानका प्राविधिक टोलीबीच यो हप्ताभित्रै छलफल गर्ने गरी यसका विषयवस्तु तयार गरिएको छ।

नेपाली श्रमिक लिने सम्बन्धमा कामदारसँग सरोकार राख्ने जापानका श्रम रोजगार मामला तथा परराष्ट्रलगायतका मन्त्रालयसँग छलफल गर्ने गरी प्रश्नसहितको मस्यौदा तयार गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

सो छलफलमा जापान जाने नेपाली कामदारको सेवा सुविधा, लागत, पाठ्यक्रम, काम गर्ने क्षेत्रको प्राथमिकता र कानुनी हैसियतका बारेमा प्रश्नोत्तरसहित छलफल हुने मन्त्रालयले जनाएको छ। छलफलमा नेपालको तर्फबाट श्रम मन्त्रालय र जापानको श्रम रोजगार मामिला र परराष्ट्र मन्त्रालय लगायतका ४ वटा मन्त्रालयसँग प्राविधिक बिषयमा छलफल अगाडी बढाउने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्