काठमाडौं, १२ चैत । पोर्चुगल तथा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो करिअर एक महत्त्वपूर्ण र नयाँ कोशेढुङ्गातर्फ अघि बढेको छ ।
३४ वर्षीय रोनाल्डो राष्ट्रिय टिम पोर्चुगलका लागि १०० गोलको कोशेढुङ्गातर्फ अघि बढेका हुन् । सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टिममा मैत्रीपूर्ण खेलका लागि सिनियर टोलीमा डेब्यु गरेका रोनाल्डोले हालसम्म देशका लागि कूल ८५ गोल गरेका छन् । उनी अब १०० गोलको कोशेढुङ्गाबाट मात्रै १५ गोलले टाढा छन् ।
पछिल्लो पटक रोनाल्डोले २०१८ को रसिया विश्वकपमा ४ गोल गरेका थिए । सो टुर्नामेन्टमा उनले स्पेनविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेका थिए । त्यसयता राष्ट्रिय टोलीबाहिर रहँदै आएका रोनाल्डो हालसालै टोलीमा फर्किएका छन् । उनी सन् २०२० मा हुने युरो कपका लागि छनौट खेल खेल्न ९ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका हुन् ।
हाल इटालियन क्लब युभेन्टसबाट खेलिरहेका रोनाल्डोले निकट भविष्यमै १०० गोलको आँकडा पूरा गर्दैछन् । उनले उच्च लय समातेको खण्डमा युरो कप छनौट खेल दौरान थप गोल गरेर १०० गोलको आसपास पुग्ने अनुमान गर्न सकिन्छ ।
रोनाल्डोले हालसम्म देशका लागि १०८ खेल खेलेका छन् । त्यसक्रममा उनले कूल ८५ गोल गरेका छन् । उनले पोर्चुगलका लागि ६ ह्याट्रिक गरेका छन् । उनले सबैभन्दा बढी सन् २०१६ मा १३ गोल गरेका थिए ।



लाेकपाटी न्यूज

