म्यानपावर र दलालबाट कामदार लाँदैनाैं : जापान

City of japan
लाेकपाटी न्यूज

काठमाडौं, ११ चैत । जापानले नेपालबाट आफ्नो देशमा रोजगारीका लागि कामदार लाने प्रक्रियाको अन्तिम चरण पुगेका बेला कामदार ल्याउने प्रक्रियामा म्यानपावर र दलाल सहभागी हुनु नहुने बताएको छ ।

श्रमिकको छनोट प्रक्रिया आउँदो अप्रिल महिनाबाट शुरु हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । जापानले त्यसखालका श्रमिक नेपाल समेत म्यान्मार, थाइल्याण्ड लगायतका देशबाट पनि लैजाने बताएको छ । भाषाको ज्ञान तथा सम्बद्ध क्षेत्रको अनुभवका आधारमा उनीहरुले तोकिएको काम पाउन सक्ने बताइएको छ।

यसअघि विभिन्न कन्सल्टेन्सी र म्यानपावर कम्पनीबाट जापान जानको लागि २० लाख रूपैयाँसम्म सर्वसाधारणले खर्च गर्ने गरेका थिए। तर, रोजगारीको ग्यारेन्टी नहुने र कतिपय त फर्काइएका घटनासमेत सार्वजनिक हुँदै आएका थिए। कतिपय भने शरणार्थीको रुपमा समेत बस्दै आएका थिए। तर, पछिल्लो सम्झौतापछि अब जापानमा जानेले त्यसरी अप्ठेरो महसुस गर्नु नपर्ने बताइएको छ।

जापानमा श्रमिकहरुको अभाव रहेकोले दक्ष र अर्धदक्ष दुवै खालका श्रमिकहरु त्यता लगिने सम्भावना रहेको बताइएको छ।

दिउँसो १२ बजे काठमाडौंको एक होटलमा हुने सम्झौतामा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल र जापानका तर्फबाट नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्