काठमाडौं। नेपाल आयल निगमले पछिल्लो पटकको मूल्य वृद्धिपछि पनि पाक्षिक (१५ दिनको) नोक्सानी ३ अर्ब ३५ करोड रहने जनाएको छ। विज्ञप्तिमार्फत निगमले हालको खपतअनुसार सबै इन्धनमा समायोजनपश्चात पाक्षिक ३ अर्ब ३५ करोड (मासिक ६ अर्ब ७० करोड) नोक्सानी रहने अनुमान गरेको हो।
निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा र डिजेलमा २६ रुपैयाँ ८२ पैसा नोक्सानी छ। त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ८७९ रुपैयाँ ७५ पैसा नोक्सानी छ। मट्टितेलमा भने प्रतिलिटर २२ रुपैयाँ ११ पैसा, हवाई इन्धन (आन्तरिक)मा १३ रुपैयाँ ९८ पैसा र वाह्य हवाई इन्धनमा ५९ रुपैयाँ ८१ पैसा नाफा रहेको निगमले प्रष्ट पारेको छ। यस हिसावले डिजेलमा सबैभन्दा धेरै पाक्षिक १ अर्ब ६९ करोड र ग्यासमा १ अर्ब ४६ करोड नोक्सानी रहने निगमको अनुमान छ।
विदेशी मुद्रा खर्च गरी महँगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत् लगायत स्वदेशी ऊर्जाको खपत बढाउनुपर्ने आवश्यकता निगमले औंल्याएको छ। निगमले आगामी दिनमा लागत मूल्यमै इन्धन बिक्री गर्ने संकेत समेत गरेको छ। विज्ञप्तिमा निगमले भनेको छ ‘आपूर्ति तथा बिक्री सहज बनाइराख्न लागत मूल्यकै आधारमा पेट्रोल, डिजेल तथा एलपी ग्यास बिक्री गर्नुपर्ने बाध्यता रहेकाले मूल्य समायोजनपश्चात उपभोक्तामा पर्न जाने असुविधाप्रति निगम क्षमाप्रार्थी छ।’
यसअघि आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २०० बढाएको थियो। अब पेट्रोल प्रतिलिटर १८०, डिजेल तथा मट्टितेल १६३ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८०० कायम भएको छ।



लोकपाटी न्यूज