काठमाडाैं, २३ फागुन । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी फागुन २८ गतेदेखि विराटनगरमा हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेकोे बताएको छ ।
एन्फाका अध्यक्ष आङ्छिरिङ शेर्पाले बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी पूर्वाधार निर्माणको काममा ढुक्क भएको बताए । उनले नेपाल र नेपालीको इज्जत बढाउने भएको कारण साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताका लागि आउँदो २६ गतेदेखि २८ गतेसम्ममा विराटनगरमा खेलाडी र अन्य गरेर करिब ३ सय विदेशी विराटनगरमा आउने जानकारी पनि दिए ।
विराटनगरमै प्रतियोगिता गर्नुको मुख्य उद्देश्य नेपालले जीत निकाल्नु भएको भन्दै अध्यक्ष शेर्पाले यस पटक इतिहास रच्नु आवश्यक भएको पनि बताए । साफ गेम हुँदै गरेको विराटनगरको रंगशाला अन्तराष्ट्रिय स्तरको बनाएको उनको दाबी छ ।
अध्यक्ष शेर्पाले यसपटक बारकोट सिस्टममा टिकट वितरण हुने बताउँदै यसो गर्दा नक्कली टिकट बनाएर हुनसक्ने अवैध कार्य रोकिने बताए । प्रतियोगिताको सुरक्षाका लागि खेल मैदानमा स्वयंसेवक रहने, दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी खटाइने छन् । अन्य विविध कार्यक्रममा जस्तो सुरक्षा थ्रेट हुने फुटबल प्रतियोगितामा नहुने भन्दै अध्यक्ष शेर्पाले सबैलाई ढुक्क हुन आग्रह पनि गरे ।
एन्फाले काठमाडौंबाट विराटनगर आउने खेलाडीका लागि प्लेन टिकटको व्यवस्था भने आफैले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो । सार्कका ६ राष्ट्र सम्मिलित साफ च्याम्पियनसिपमा नेपालको मुख्य प्रतिद्वन्द्वीको रुपमा भारत रहेको छ । नेपालको तर्फबाट टिम क्याप्टेन अनु लामाको नेतृत्वमा खेलाडी रहनेछन् । पहिलो पटक नेपालले आयोजना गर्न लागेको साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नेपाललाई यसपटक दोहोरो मौका छ । नेपालले पहिलो खेल भूटानविरूद्ध खेल्नेछ ।



लाेकपाटी न्यूज

