फिफा विश्वकपमा प्रयोग हुने बल सार्वजनिक

लोकपाटी न्यूज

एजेन्सी। एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ।

यसपटकको विश्वकपमा खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी एडिडासले उत्पादन गरेको ‘अल रिल्हा’ नामक बलको प्रयोग हुने भएको हो। बलमा प्रयोग गरिएको ‘अल रिल्हा’को अरबीमा ‘दि जर्नी’ र यसको अर्थ कतारको संस्कृति, वास्तुकला, प्रतिष्ठित डुंगा र झन्डाबाट प्रेरित रहेको बताइएको छ।

फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो। यसपटकको विश्वकप इतिहासमै पहिलोपटक विन्टर सिजन (नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म) कतारमा हुँदै छ। यसअघिका विश्वकप समर सिजनमा हुँदै आएको थियो।

यसपटकको विश्वकपमा हालसम्म आयोजक कतारसहित २७ राष्ट्रहरू छनोट भइसकेका भएका छन्।